नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा उहाँले धेरै पैरवी गर्ने गरेकाे जबजका नै सबै पक्षकाे खिल्ली उडाएकाे बताउनुभएकाे छ । नेकपा चितवनले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहनुभएका भट्टराईले ओलीले संसद् विघटन गर्दा जबजको कुन पक्षलाई बोक्नुभयो ? भन्ने प्रश्न गर्नुभयाे ।विधिको शासनको कुरा गर्नेहरूले दनादन संसद् नभएको बेला संवैधानिक नियुक्तिमा अध्यादेश ल्याएकाे र संसद्लाई बाइपास गरेकाले जबजले भनेकाे विधिको शासन उलंघन गरिएकाे उहाँकाे भनाइ छ । प्रस्तुत छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेलालाई नेता योगेश भट्टराईले गर्नुभएको सम्बोधनको अंश :हामी बहुदलीय जनवादी एक हौं। म कमरेडहरूलाई भन्न चाहन्छु। म पनि बहुदलीय जनवादी हुँ। म नेकपा एमालेको पाँचौँ महाधिवेशनको प्रतिनिधि पनि हो। जहाँ मैले मदन भण्डारीको विचारलाई भोट हालेको हुँ। त्यो बहुदलीय जनवादका केही पक्ष म तपाईँहरूलाई सम्झाउन चाहन्छु।मदन भण्डारीले बहुदलीय जनवादका १४ विशेषता लेख्नुभयो। के - के लेख्नुभयो भने, संविधानको सर्वोच्चता, कानूनी राज्य, विधिको शासन, शक्ति पृथकीकरण, बहुमतको शासन, अल्पमतको विपक्ष। यी कुराहरू उहाँले लेख्नुभयो । आज हाम्रो प्रश्न छ। केपी ओलीले संसद् विघटन गरिरहँदा बहुदलीय जनवादको कुन पक्षलाई बोक्नुभयो ? र कसरी आज बहुदलीय जनवादी एक हौं भनिरहनु भएको छ ? उहाँले संविधानको सर्वोच्चतालाई बोक्नुभयो ? उहाँले त संविधान च्यात्नु भयो। विधिको शासनको कुरा गर्नुहुन्छ भने, दनादन संसद् नभएको बेला अध्यादेश ल्याउनु भयो। पार्टी फुटाउने अध्यादेश, संवैधानिक नियुक्तिमा अध्यादेश र संसद्लाई बाइपास। कसरी यो विधिको शासन हुन्छ ?
पूर्व एमालेका साथीहरू कतिपयलाई उहाँले यही भ्रम दिनुभएको छ। आउनुहोस् न बहस गरौं ल, के हो बहुदलीय जनवाद ?
तेस्रो पक्ष शक्तिपृथकीकरण। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यी स्वतन्त्र छन्। र एक अर्काको बीचमा नियन्त्रण र सन्तुलनको सिद्धान्तबाट चल्छन्। एकले अर्काको काममाथि हस्तक्षेप गर्न पाइँदैन। शक्ति पृथकीकरणको सिद्धान्त त्यही हो। तर आज कार्यपालिकाले दिन दहाडै व्यवस्थापिकामाथि आक्रमण गरेको छ। कसरी शक्तिपृथकीकरण भयो ? कसरी उहाँ बहुदलीय जनवादी हुनु भयो ?बहुदलीय जनवादको अर्को पक्ष हो बहुमतको सरकार, अल्पमत विपक्षमा। आज पार्टीमा उहाँ हरेक मञ्चमा अल्पमतमा पर्दै जानुभयो। अनि संसद् विघटन तिर लाग्नुभयो ? र भन्नु भयो कि मलाई पार्टीले सहयोग गरेन। यदि उहाँ बहुदलीय जनवादी भएको भए, उहाँ त पार्टीमा बहुमत बनाउन तिर लाग्नु पर्थ्यो नि ! बहुमतमाथि शासन गर्न कहाँ पाइन्छ बहुदलीय जनवादमा ?
आज घरी-घरी सपनामा सम्झना आयो होइन बहुदलीय जनवाद ?आज पार्टीमा बहुमत को सँग छ ? हामीसँग छ। सचिवालयमा, स्थायी कमिटीमा, केन्द्रीय कमिटीमा, संसदीय दलमा, प्रतिनिधि सभामा। सबै ठाउँमा बहुमत को सँग छ ? हामीसँग छ। यदि उहाँ बहुदलीय जनवादी भएको भए पार्टी स्थायी कमिटीमा बहुमत बनाउन जानुपर्थ्यो । केन्द्रीय कमिटीमा बहुमत बनाउने कोसिस गर्नुपर्थ्यो । संसदीय दलमा बहुमत बनाउने कोसिस गर्नुपर्थ्यो नि त ? उहाँ त्यो कोही पनि बाटोमा जानु भएन। उहाँ कता जानु भयो भने अल्पमतले बहुमतमाथि तानासाही लाद्न जानुभयो। अनि कसरी उहाँ बहुदलीय जनवादी हुनुभयो ? पूर्व एमालेका साथीहरू कतिपयलाई उहाँले यही भ्रम दिनुभएको छ। आउनुहोस् न बहस गरौं ल, के हो बहुदलीय जनवाद ?आज बहुदलीय जनवाद भनेर झण्डा बोकेर हिंड्ने साथीहरू सायद हिजो बहुदलीय जनवादको सबै भन्दा ठूलो बहस हुँदा जन्मेका पनि थिएनन् होला। आज ती साथीहरू बहस गर्दैछन्। न पढेका छन् । न लेखेका छन् । के छन् त भन्दा 'आइ एम विथ केपी ओली'। त्यति जानेका छन्। पढ्नु पर्यो नि ! कुन चाहिँ बहुदलीय जनवाद स्कुलमा पढ्नु भयो ? कुन चाहिँ बहुदालिय जनवादको विश्व विद्यालयको सर्टिफिकेट छ ? देखाउनुहोस् त ? कहीँ छैन। १० वटा विषयमा फेल भएको छ। अनि बहुदलीय जनवादी ? त्यस कारण म कमरेडहरूलाई भन्न चाहन्छु बहुदलीय जनवाद कसले छोड्यो ? यही विषयमा बहस गरौं न ।म पार्टी एकताका बेलाको एउटा दस्तावेज मात्र तपाईंलाई सुनाउन चाहन्छु। २०७५ साल जेठ २ गते कमरेड केपी ओली र प्रचण्डले सही गरेको डकुमेन्ट हो। पाँच बुँदे डकुमेन्ट छ। यसको साँच्चि बसेका छन्, विष्णु पौडेल र जनार्दन शर्मा। यसको पहिलो बुँदामा लेखिएको छ, जनताको बहुदलीय जनवाद, २१ औँ शताब्दीमा जनवाद र माओवाद सम्बन्धित राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जित गरी समाजवाद उन्मुख जनताको जनवादका रूपमा अगाडि बढाउने, आगामी एकता महाधिवेशनमा वैचारिक राजनीतिक विषय एवं नेतृत्व निर्माण र संगठन सम्बन्धी विषयमा अल्पमत र बहुमतका आधारमा नभई सहमति र समझदारीको आधारमा टुंगो लगाउने, के भनेको हो यो ? यहाँ चारै जनाको सही छ। यो सही केपी ओलीको हो कि होइन ? कसले छोड्यो बहुदलीय जनवाद ? आज घरी-घरी सपनामा सम्झना आयो होइन बहुदलीय जनवाद ? बहुदलीय जनवादले सपनामा लखेट्यो तपाईंलाई ? नीद आएन, चैन भएन, अनि आज बहुदलीय जनवादको झझल्को आयो ? बहुदलीय जनवादको अब कविता लेख्नुहोस्। तपाईंले आज बहुदलीय जनवादको घाँटि रेटीसक्नु भयो। बहस यो हो।
'एमाले-एमाले एक हौं' भन्नेले जेठ ३ गते पार्टी एकता गर्दाकाे राजनीतिक प्रतिवेदन हेरे हुन्छ।'एमाले-एमाले एक हौं' भन्नेले २०७५ साल जेठ ३ गते पार्टी एकता गर्दा दुवै अध्यक्षले हस्ताक्षर गरेर बुझाएको राजनीतिक प्रतिवेदन हेरे हुन्छ। जसको पेज ११ मा भनिएको छ। अबको हाम्रो कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद हो। त्यो कुरा अघि मैले भनिहाले। विधानको प्रस्तावनामा भनिएको छ, जुन अध्यक्ष केपी ओली र प्रचण्डले सही गरेर बुझाउनु भएको छ।त्यो विधानको प्रस्तावनामा के भन्नुहुन्छ भने, आजका मितिबाट हामी नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी अथवा एमाले र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादी केन्द्रलाई विधिवत् रूपमा विघटन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाउन सहमत भएका छौं। विधानमा लेखेको प्रस्तावनामा त्यो छ। अनि नेकपा विघटन कसले गर्यो ? आफै गर्नु भएको होइन एमाले विघटन ? एमाले विघटनको हस्ताक्षरमा आफै सही गर्ने, '
बहुदलीय जनवाद छोडेको सहमतिमा आफै सही गर्ने र आज उत्पात बहुदलीय जनवादी, उत्पात एमाले भएर निस्कने ?' कि भन्नुहोस् हिजो एकतामा हस्ताक्षर गरेर गल्ती गरेँ, म पश्चात्ताप गर्छु। एक पटक काशीमा गएर नुहाएर आउनुहोस्। हाम्रो ब्राह्मणमा छ नि काशीमा गएर आएपछि जति सुकै बदमासी गरे पनि माफी हुन्छ। कि एक पटक काशीमा गएर नुहाएर आउनुहोस्। काशीमा गएर आउने हो भने ठिक छ। जाने आउने व्यवस्था हामी मिलाउँला। काशीमा गएर नुहाउनुहोस्। अनि शुद्ध भएर आउनुहोस्।त्यसकारण यस्ता भ्रममा नपर्नका निम्ति र यस्ता बकम्फुसे बहसमा नअल्झिनका निम्ति म कमरेडहरूलाई भन्न चाहन्छु, आज हामीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा देशका सम्पूर्ण क्रान्तिकारी समूह र व्यक्तिहरूलाई एकताबद्ध बनाउँदै यो देशमा विशाल कम्युनिस्ट आन्दोलन निर्माण गर्न हिँडेका हौं। कमरेड केपी ओलीको कदमले नेपाली जनताको आशा र त्यो विश्वासमाथि गम्भीर घात भएको छ। यो प्रतिक्रान्ति हो। यो प्रतिगमन हो। यो अलोकतान्त्रिक छ। असंवैधानिक छ। त्यसकारण आज हामी यहाँ उत्रेका छौं।
निर्वाचन आयोग ओलीको पकेटको हो ?पार्टीका आधिकारिकताको सन्दर्भमा म धेरै भन्न चाहन्न। यो देशमा कानूनी राज्य छ भने यो दल सम्बन्धी ऐनको दफा ४४ को ६ ले स्पष्ट गर्छ। हो, कहिलेकाहिँ पार्टीहरू फुट्न सक्छन्। पार्टीमा विभाजन आउन सक्छ। विगतमा पार्टी धेरै फुटे, धेरै विभाजित भए। त्यसकारण २०७२ सालको संविधानकाे दल सम्बन्धी ऐनले के भन्छ भने अब पार्टी आधिकारिक ढंगले विभाजन हुने हो भने संसदीय दलमा ४० प्रतिशत, पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत ल्याएर जाँदा मात्र आधिकारिक दलको मान्यता हुन्छ।तीन महिना अगाडि उहाँले दल सम्बन्धी विधेयक ल्याउनु भयो। थाहा छ नि ? त्यो दल सम्बन्धी विधेयक नेकपा फुटाउनको निम्ति ल्याएको थियो। किनभने उहाँलाई केन्द्रीय समितिमा र संसदीय दलमा ४० प्रतिशत पुगेन। त्यसपछि उहाँले २० प्रतिशत भए पनि पार्टी फुटाउन पाइन्छ भनेर अध्यादेश ल्याउनु भयो। २० प्रतिशत त पुर्याउनु हुन्छ उहाँले, केन्द्रीय समिति र संसदीय दलमा।त्यसकारण आज पार्टी कसले फोड्यो भन्दा दायाँ बायाँ दिमाग डुलाउनु पर्दैन। ५०/१०० वर्षपछि हाम्रा स्कुलमा विद्यार्थीलाई हाजिर जवाफमा सोधिने छ। हुँदा खादाको पार्टी कसले फुटायो ? सारा विद्यार्थीले एउटै जवाफ दिन्छन् ‘केपी ओली’ले। किन कि उहाँ तीन महिना अघिदेखि पार्टी विभाजनको तयारीमा हुनुहुन्थ्यो। आज उहाँ आधिकारिकताका निम्ति बोल्दै हुनुहुन्छ। निर्वाचन आयोगले हामीलाई नै दिन्छ। त्यो निर्वाचन आयोग उहाँको पकेटको हो ? उहाँको शाखा कमिटी हो निर्वाचन आयोग ? उहाँको शाखा कमिटी हो सर्वोच्च अदालत ? होइन यी संवैधानिक निकाय हुन्। तिनीहरूले संविधानको शपथ खाएका छन्। त्यो संविधान कसले बनाएको ? नेपाली जनताका जनप्रतिनिधिले बनाएको हो। त्यसकारण जनप्रतिनिधि र नेपाली जनताले पनि शपथ खाएका छन्। तिनीहरूले दायाँ - बायाँ गर्दैनन्। गर्न पाइँदैन।दलसम्बन्धी उपधारा ६ ले विवाद भएको बखत उक्त पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यमध्ये जुन पक्षसँग त्यो समितिका पदाधिकारी र समितिको बहुमत रहेको हुन्छ, त्यही पक्षलाई विवाद उत्पन्न हुनु अगाडिको हैसियत प्राप्त हुन्छ र त्यही पार्टीलाई चुनाव चिन्ह र झण्डा पनि प्राप्त हुन्छ भनेकाे छ । सबैले बुझ्ने भाषामा यहाँ लेखिएको छ। मान्छेहरुले यहाँ भन्छन्, केपी ओलीको निर्देशनमा, डिजाइन भएको छ, 'सेटिङ' गरेको छ, के हो 'सेटिङ' ? नेपाली राजनीतिमा 'सेटिङ/फेटिङ' चल्दैन। सेटिङ फेटिङले संविधान कुल्चन पाइँदैन। को सँग सेटिङ गर्ने ? प्रचण्ड र माधव नेपालसँग 'सेटिङ' गर्दा नर्क गएजस्तो ठान्ने। अनि प्रतिक्रियावादी सँग सेटिङ गर्न जाने ? तपाइका मित्र को हुन् ? तपाइको कम्युनिस्ट आन्दोलनताका साथी को हुन् ? तिनीसँग तपाइ मिल्न नसक्ने ? अनि तपाइ बाहिर बाहिर 'सेटिङ' गरिरहनु हुन्छ ? तिनीहरूले तपाइको पार्टी बचाइदिन्छन् ? तिनीहरूले बनाएको हो यो पार्टी ? अदालतले बनाएको हो पाटी ? निर्वाचन आयोगले बनाएको हो पार्टी ? यो पार्टी त सदस्यहरूले बनाएको हो। जब बहुमत सदस्यहरू यो पार्टीका पक्षमा छन् भने सूर्य चिन्ह र झन्डा नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम केपी ओली गुटले पाउँदैन। यो हाम्रो हो। स्पष्ट छ।
को सँग सेटिङ गर्ने ? प्रचण्ड र माधव नेपालसँग 'सेटिङ' गर्दा नर्क गएजस्तो ठान्ने। अनि प्रतिक्रियावादी सँग सेटिङ गर्न जाने ? तपाइका मित्र को हुन् ? तपाइको कम्युनिस्ट आन्दोलनताका साथी को हुन् ? तिनीसँग तपाइ मिल्न नसक्ने ? अनि तपाइ बाहिर बाहिर 'सेटिङ' गरिरहनु हुन्छ ? तिनीहरूले तपाइको पार्टी बचाइदिन्छन् ? तिनीहरूले बनाएको हो यो पार्टी ? अदालतले बनाएको हो पाटी ? निर्वाचन आयोगले बनाएको हो पार्टी ? यो पार्टी त सदस्यहरूले बनाएको हो।