Logo माघ ६, २०७७ मंगलबार


विज्ञान कथा : मेरो कथा नलेखिदिनु !

-इन्दिरा प्रसाई

‘आन्टी !’

घर अघिल्तिरको गल्लीको पसलमा हरियो खुर्सानी किन्दै थिएँ । त्यसैबेला पछिल्तिरबाट मलाई कसैले ग्वाम्लाङ्ङ अँगालो हालेको थियो । तत्क्षण त्यस शारीरिक श्पर्षपछि भएको प्रिय अनुभूति र प्राप्त परिचित गन्ध र आवाजले समेत मेरो मुखबाट ‘सुनिती’ निस्केको थियो । साँच्चै, मेरा अघिल्तिर सुनिती उभिएकी थिई ।

‘सुनिती’ मेरो छोराकी वाल सखी ! सुनितीलाई अचानक आफ्ना सामुन्ने देख्ता विदेशिएको छोरो अक्षतको आकृति मेरा आँखाभरी टाँसियो । हामी मानिस किन यति स्वार्थी हुन्छौँ कुन्नी ? कुनै पनि व्यक्ति वा बस्तुलाई सोही रुप वा अवस्थिति भन्दा पनि अरु कसैसँग गाँसेर सम्झनामा राख्छौँ । अनि त्यसै सम्झनाको झझल्कोमा कहिले रुन्छौँ त कहिले हाँस्छौँ । त्यसैले त्यसबेला पनि मेरा लागि सुनिती, सुनितीमात्र नभएर मेरो एकमात्र छोरो अक्षतकी वालसखी भएकीले प्यारी समेत भएकी थिई ।

वस्तुवादी अर्थशास्त्रको प्रभाव अथवा भौतिकताको नसामा परेका विकाशोन्मुख मुलुकका अहिलेका अधिकांश हामी प्रौढहरु सन्तानको उर्जावान समय विदेशीलाई बेचिरहेका छौँ । मेरा पति र म पनि तिनै प्रौढकै समूहमा छौँ । त्यसैले उमेरदार छोरोको उपस्थितिको साटो उसको कमाईको एउटा अंश भोगेर छोराको सशरीर उपस्थितिको तिर्सनामा बाँचिरहेका छौँ । त्यतिबेला सुनिती झट्टै मेरा सामु परिदिँदा त्यसैले मेरो अक्षत नै मेरा सामुन्ने आए झैँ भएको थियो मलाई ।

सुनितीको अपर्झटको उपस्थितिले ममा परेको प्रभावको प्रतिक्रिया स्वरुप मैले उसलाई मोहित भएर हेरिरहँदा सुनिती पनि अचम्म भएर मैतिर हेरिरहेकी थिई । एक महिनाजति अघिमात्र छुट्टिएकी सुनितीको तिर्सना पनि अचम्मले मौलाएछ मभित्र । मलाई आफैँसँगै पनि अलि अनौठो लागेको थियो ।

उसका आँखासँग मेरा आँखा जुद्धामात्र मलाई यथास्थितिको वोध भएर लज्जाको समेत मैले अनुभूत गरेकी थिएँ ।

मीठो सपना देखेर विउँझिँएसरी म झल्याँस्स भएकी थिएँ । विगतमा झैँ केहीबेर मसँग अँगालोमा गाँसिएर त्यसबेलासम्म सुनिती अलग्गिइसकेकी थिई ।

‘कहिले आयौ नानू ?’ लामो सास फालेर सामान्य हुन खोज्दै सुनितीका कोमल हात सुम्सुम्याउँदै मैले सोधेकी थिएँ ।

‘एक हप्ता भयो आन्टी ’ उसले सहज जवाफ फर्काएकी थिई ।

पसलबाट सुनितीसँगै म पनि घरतिर लागेकी थिएँ । यसै गल्लीको माझमा पहिले मेरो घर र त्यसपछिको एकघर पर्तिर उसको घर अथवा अब उसको माइत थियो ।

‘चिया खाएर जाऊ न है ?’ मैले उसको हात नछोडेकै अवस्थामा उसँग आग्रह गरेकी थिएँ । मलाई अझै अक्षतको न्यास्रो मेटिएकै थिएन । त्यसैले पनि हुनुपर्छ मैले आफ्नो घरको मूलढोकामा पुगेपछि सुनितीलाई आफूसँगै तानेकी थिएँ । त्यसबेला उसले पुलुक्क आफ्ना घरको कौशीतिर हेरेकी थिई । मेरो घर अगाडिको सडकबाट उसको चारतले घरको कौशी मज्जाले नै देखिन्थ्यो । त्यसबेला त्यस कौशीमा कोही थिएन ।

‘हिँड न, म पनि तिमीसँगै चिया पिउने नि आज !’ फेरि दोहो¥याएर मैले आग्रह गर्दै उसलाई आफूसँगै भित्र पु¥याएकी थिएँ । ‘हो र आन्टी….. ऐले….।’ सुनिती केही अकमकाएर बोलेकी थिई ।

त्यसपछि हामी दुई पहिले पहिलेजस्तै सरासर तेस्रो तलामा रहेको हाम्रो भान्सा कोठैमा पुग्यौँ । भान्सा अघिल्तिरको डाइनिङ रुममा बसेका मेरा पति अखबारमै मस्त थिए । हाम्रो पदचाप सुनेर उनले टाउको उठाएर हामीतिर हेरेका थिए ।

‘दर्शन, अंकल’ सुनितीले उनका अघिल्तिर पुगेर शिर निहु¥याएकी थिई ।

‘ओहो सुनिती बेटा, तिमी कहिले आयौ ? झन् राम्री पो भइछौ ! लण्डनको हावा पानी फापेछ नि ! अनि ज्वाईँ साहेब पनि सँगै हो ?

वाल्यकालदेखि काखमा खेलेर हुर्केकी सुनितीलाई देखेपछि मेरा पति पनि जुरुक्क उठेका थिए र पहिले पहिलेजस्तै उनले सुनितीलाई आफ्नो छातीमै टाँसेर माया जनाएका थिए । साथसाथै उनले आफ्नो वकालत पेसा सम्बद्ध प्रश्न प्रतिप्रश्न पनि सुनितीका सामू वर्षाइरहेका थिए ।

‘एक हप्ता भयो अंकल, म एक्लै आएकी ।’ सुनितीले सन्तुलित भएर जवाफ फर्काएकी थिई ।

‘अस्तिसम्म सानी सुनिती बिहे हुने वित्तिकै कत्ति ठूली भएकी है !’ उनले सुनितीलाई गाढेर हेर्दै मतिर लक्षित भएर भनेका थिए । सुनिती लजाएकी थिई । त्यसपछि मैले सुनितीलाई तानेर आफैँसँग भान्सामा पु¥याएकी थिएँ ।

‘तिम्रो अंकल त्यस्तै हुन क्या सुनिती, कठघरामा मान्छे राखेर दिनरात प्रश्न सोध्ने बानी भएको वकिल त हो नि !’ मैले ठट्यौली पाराले बूढाको मजाक उडाएकी थिएँ ।

‘कथाकार महोदय, यो वकिलको घाँटी रसाउने उपाय गर्नु प¥यो ।’ उनको वकिल चेतमा पतिपारा मिसिएर मेरो लेखनप्रतिको रुचितिर लक्षित गर्दै मेरा पतिद्वारा तेस्रो कप कालो कफीको माग आएको थियो ।

मैले पनि उनको सहज माग तुरुन्तै पुरा गरेर सुनिती र मेरा लागि दूध र चिया मसला हालेर नेपाली चिया बनाएकी थिएँ । सुनितीलाई मैले बनाएको यस्तो चिया खुबै मन पथ्र्यो ।

‘उस्तै, एकदम उस्तै स्वाद छ आन्टी ! हजुरजस्तै, छ यो चिया पनि ! मैले लण्डनमा पनि हजुरको यो चिया सम्झेर बनाउन खोजेकी थिएँ । अहँ ? बन्दै बनेन् । हजुरको हातमा त जादू छ आन्टी जादू !’

हामी दुवै भान्सा कै सानो टेबलमा चिया राखेर त्यहीँको कुर्सीमा बसेर चिया पिउन लागेका थियौँ । सधैँ झैँ सुनिती बढो स्वाद लिएर चिया पिउँदै थिई । म पनि चिया पिउँदै, सुनितीले आफ्नो प्रशंसामा खर्चेका मीठा शब्दहरुमा रमाउँदै थिएँ । सन्तानको बहिर्गमनले निरस जीवन विताउन वाध्य मेरो समय त्यसबेला केहीवेरकै लागि नै भए पनि रसिलो हुन खोज्दै थियो । सुनितीका सामु बसेकी मैले यसबेला सुनितीको अनुहारमा पूर्वअवस्थाका तुलनामा निकै फरक चीज देखेकी थिएँ । किन होला उसका आँखा पनि सँधै झैँ चञ्चल र तेजिलो देखिइरहेको थिएन । ‘भरखरैमात्र गरिएको लामो हवाईजहाजको यात्राको कारण हुनुपर्छ ।’ मेरो आफ्नै मनले निक्र्यौल निकालेको थियो ।

सुनितीले चिया सिध्याउनै लागेकी थिई, उसँग बिताउन पाएको समयको मोहमा परेर म भने समय लम्ब्याउने उपक्रमले पनि चिया सुस्त गतिमा पिइरहेकी थिएँ । सुनिती लामो समयसम्म बसोस् भन्ने मेरो आन्तरिक आग्रहलाई चिया ढिला गतिमा पिइनुले अभिव्यक्त गरिरहेको थियो ।

चिया सिध्याएकी सुनितीले भित्ते घडीमा आँखा पु¥याएर कुर्सीबाट उठने उपक्रम गरेकी थिई ।

‘अनि तिमी अलिदिन बस्छ्यौ नि ?’ अब शब्दजालमै भए पनि सुनितीलाई केहीबेर अल्मल्याउने मेरो अभिष्ट हुनुपर्छ । मेरो प्रश्नको उत्तर सुनितीले सहजै दिइन । केहीबेरसम्म ऊ केही बोलिन पनि ।

‘आन्टी, अरुसँग बेग्लै कुरा हो तर हजुरसँग म झुठ बोल्न सक्तिन,… तर म अब लण्डन नजाने गरी आएकी छु ।’

सुनितीले गहिरो आवाजमा मलाई जवाफ दिएकी थिई ।

‘के भनेकी नानू तिमीले यस्तो कुरा ?’ सुनितीबाट आएको यो अप्रत्यासित जवाफले म आत्तिएकी थिएँ ।

यस वीच सुनितीका आँखा भरिएर ढिक्का आँसुका दाना पनि वरर्र उसका सुकोमल र सुन्दर गालाको बाटो भएर जमिन तिर पलायन हुँदै थिए ।

एक महिना अघिमात्र त्यस्तो भव्य विहे भएकी सुनितीले मेरो काल्पनिकतामा पनि उब्जिन नसक्ने त्यस्तो जवाफ दिएकी थिई । र उसको अवस्था देखेर त्यसबेला मलाई नै भाउन्न होलाजस्तो भएको थियो । म आफ्नो कुर्सीबाट जुरुक्क उठेर उसको अगाडी पुगिसकेकी थिएँ । उ अघि नै उसको कुर्सीबाट उठिसकेकी थिई । मैले सुनितीलाई अँगालोमा बेरेकी थिएँ । मेरो छातीमा टाउको राखेर सुनिती घुँक्क घुँक्क गर्दै रोएकी थिई । म चुपचाप उसको टाउकोमात्र मुसारीरहेकी थिएँ । मभित्रको आईमाई मनको कमलो बाँध पनि भत्किसकेको थियो । कारणै थाहा नपाउँदाको उसको रोदनले पनि मलाई भिजाइसकेको थियो ।

‘तिमी त ज्ञानी केटी, यसरी पिर गर्नु हुन्न सुनिती बेटा, के भयो ? नयाँनयाँहुँदा कहिले काहीँ पतिपत्नी वीच मीस अण्डरस्ट्याण्डिङ पनि हुन जान्छ । सम्हाल्नु पर्छ, कुरा बुझ्नु पर्छ । आवेशमा निर्णय गर्नु हुन्न नानू ! ज्वाईँ साहेब त निकै भलादमी देखिनु हुन्थ्यो । त्यत्रो सम्पन्न परिवारको एउटामात्र छोरो !’

मैले उसको ढाड सुम्सुम्याउँदै भनेकी थिएँ ।

‘होइन आन्टी, यो नमिल्ने कुरा हो । मिल्नै सक्तैन । मैले ठूलो धोका पाएँ आन्टी !’ हजुरको फुर्सत् भएको बेला पारेर आउँछु । त्यतिबेला सबै कुरा भन्ने छु । अहिले जान्छु ल ?’
भन्दा नभन्दै मेरो अँगालोबाट फुत्किएर उसले टिस्युपेपरले आँसु र सिँगान पुछेकी थिई । मेरा मनमा आफ्नो सिँगो कथाको बिऊ रोपेर सुनितीले मसँग विदा मागेकी थिई । मैले चाहेर पनि उसलाई यसबेला रोक्न सक्तिनथेँ । किनभने मेरो विहानको घरधन्धा पनि असरल्ल परेर हाँस्दै मलाई गिज्याइरहेको थियो ।

सुनिती त हिँडी, तर मेरो मनमा उसका बारेको आँधी तुफानको शुरुवात गराइदिएर ऊ गएकी थिई । ऊ हिँडेपछि शरीरले त मैले गृहस्थीका यावत दैनिक कार्यहरु गरिरहेँ तर मेरो मानसले भने एकैपल पनि सुनितीलाई आफूबाट बाहिर निकाल्न मानेको थिएन ।

अक्षतभन्दा सुनिती एकवर्ष ठूली हो । त्यसबेलाकोघट्टेकुलोमा बस्ती नै कति थियो र ? सिंहदरबारको पूर्वी पर्खालछेउको सडक भनेको खेतको आली नै थियो । त्यसबेला अनामनगरको नामनामेसी नै थिएन । धोबीखोलामा पनि सफा पानी बग्थ्यो । छेउछाउमा बाक्लै झाडी थियो । कहिलेकाँही त दिउँसै श्याल कराउँथ्यो ।

हामीले घर बनाइसक्ता नसक्तै मालपोत कार्यालयका नापीका अमीनले पनि घर बनाउन थालेका थिए । हामी पुराना र उनीहरु नयाँ । त्यसैले त्यसबेला हामीले हाम्रा नयाँ छिमेकी हुन आएका सुनितीका बुवाआमालाई सकेको सहयोग गरेका थियौँ । हाम्रो घडेरी आठआना, उनीहरुको चारआना ।

‘अमीन साहेब, पछि किन्छु भन्दा पनि पाइँदैन, जमीन त अलिकति थप्नुहोस’ मेरा पतिले सुनितीका पितालाई सुझाएका थिए ।

‘वकिलसाहेब, अहिले यसभन्दा धेरको औकात मसँग भएन हजुर !’ फिस्स हाँसेर उनले जवाफ फर्काएका थिए । तर त्यसको पाँचवर्षभित्रमा उनले ओरिपरिवाट जमीन थपेर उनको घडेरी एक रोपनी बढी पु¥याएका थिए । हाम्रो भने आठआना मास्तिरको औकात कहिल्यै भएन ।

सुनितीकी आमाको भनाई अनुरुप उनकै माइतीले दिएको दाइजोस्वरुप काठमाडौँका अरु दुईचार ठाउँमा पनि उनीहरुले बिस्तारै घडेरी किन्दै गएका थिए ।
सुनितीपछि सुनितीकी आमाले लगालग दुई छोरा जन्माइन् । हाम्रो अक्षतमात्र सन्तान भयो ।

टुकुटुकु हिँड्न थालेपछि नै सुनितीले हाम्रा घरमै धेरजसो समय बिताउने गर्थी । सुनितीकी आमाले अरु सन्तान जन्माउँदै गएपछि म नै सुनितीकी अघोषित आमा झैँ भएकी थिएँ ।

अक्षत पनि सुनिती भएपछि धुमधामै रमाउँथ्यो । खानाखान होस वा खेल्न होस अक्षतलाई सुनिती नै चाहिन्थ्यो । सुनिती त्यसबेला अक्षतका लागि हिँडडुल गर्ने खेलौना झैँ थिई । छोराका खुशीका लागि म पनि दुई सन्तान सरह नै सुनितीलाई रुचाउँथेँ । त्यसबेला सुनिती नआएको बेला हाम्रो घर अनौठो र चकमन्नजस्तै हुनेगथ्र्यो ।

‘छोरा, तँ कोसँग बिहे गर्छस् ?’ एकदिन मेरा पतिले सुनितीसँग खेलिरहेको छोरोसँग रमाइलो गर्न सोधेका थिए ।

‘म त तुनितीसँग बिहे दर्ने हो ।’ तोते बोलीमा अक्षतले भनेको थियो ।

‘ सुनिती ! तँ कोसँग बिहे गर्छेस् ?’ मेरा पतिले भुकुल्ल परेकी डल्ली सुनितीलाई काखमा बोकेर सोधेका थिए । सुनितीले अक्षत पट्टि औँलाले देखाएर मेरा पतिको छातीमा टाउको लुकाएकी थिई ।

शिशु खेलमा रमेका बेला हामी दुवै पतिपत्नी खुब मज्जाले हाँसेका थियौँ ।

‘के केटाकेटीसँग यस्तो मजाक ग¥या होला ।’ लिनु आनन्द लिइसकेपछि मैले पनि बुढालाई नियन्त्रण गर्ने हिसाबले भनेकी थिएँ ।

‘मजाक होइन, म त अमीन साहेबसँग कुरा चलाएर यिनीहरुको बिहे नै गर्दिने सोचमा पो छु त । तिमीले के ठानेको ?’ मेरा पति फुर्किँदै बोलेका थिए ।

‘हेर हेर, ‘बालविवाह’, आफैँ कानूनी मानिस भएर कानून उलंघनको कुरा कसरी गर्न सक्या होला ।’ मैले होच्याएरै भनेकी थिएँ ।

‘ ए लाटी मान्छे, कानूनको उलंघन गर्ने भनेकै कानूनी मान्छेले नै हो । हा..हा..हा..’ उनी पनि स्वादलिएरै हाँसेका थिए ।

समय बित्दै गयो । वर्षदिन पछिको पुस महिनाको एकदिन, जाडोको विदाका कारण गाउँभरिका केटाकेटी यताउति दौडिने खेल्ने गरिरहेथे । बाहिर न्यानो घाम लागेको थियो ।

‘मम्मी ! मम्मी !…’ अक्षत चिच्याउँदै आएको थियो । घाम तापेर स्वेटर बुनिरहेकी म छोराको आवाजले झस्केकी थिएँ ।

‘के भो छोरा ?’ दौडेर मतिर आएको अक्षतलाई च्याप्प समातेर मैले सोधेकी थिएँ । मेरो काखमा टाँसिएको ऊ रुन थाल्यो ।

‘तुनितीले मसँग बिहे गल्दिन ले ।’ उसले रुँदै भनेको थियो । मलाई उसको कुरा सुनेर हाँस उठे पनि ऊ रोएको बेला म हाँस्न सकिन । हाँसो राक्दै उसको आँसु पुछि दिएँ ।

‘बाबुले सुनितीलाई पिट्यो ?’ मैले सोधेकी थिएँ । उसले रुँदै टाउको हल्लायो र पिटेको छैन भन्ने जनायो । धेरै अघि उसले सुनितिबारे भनेको कुरा मैले झन्नै विर्सिसकेकै रहिछु । विगत सम्झिँदै, मनमनमा हाँस उठे पनि गम्भिर भएरै अलि पर्तिर खेलिरहेकी सुनितीलाई मैले त्यहीँबाट डाकेकी थिएँ ।

‘हजुर आन्टी’ सुनिती म नजिकै आएर मैसँग टाँसिएकी थिई । अक्षत भन्दा एकवर्षमात्रै ठूली भए पनि सुनिती अक्षत भन्दानिकै ठूलीजस्ती देखिन्थी र बाठी पनि थिई ।

अक्षत पनि मेरो काखमा बसेर छातीमै टाँसिँदै भरखरै आँसु ओबाएका आँखालेसुनितीको अनुहारमा हेर्दैे थियो ।

‘तिमीले अक्षुसँग बिहे गर्दिन भनेको रे हो ?’ मैले छोरो फकाउने उपक्रम गरेकी थिएँ । कताकता मलाई पनि कुतुहल भने नभएको होइन ।

‘ हो नि, आन्टी, अनि के.. त.. मम्मीले भनिस्सेको कि, अक्षतसँग मैले बिहे गर्न हुँदैन रे । बिहे भनेको त धनी मानिससँग गर्नु पर्छ रे, धेरै मोटर, ठूलो घर, सुन चाँदी, हीरामोती केक्के हो केक्के हुने मानिससँग बिहे गर्नु पर्छ रे । अक्षुसँग त केही छैन । ‘म त तिमीसँग बिहे नगर्ने’ मैले भनेको थिएँ अनि ऊ त मसँग नखेलेर रोएको पो त । आऊ हामी खेल्न जाने । ’ सुनितीले मच्चिँदै मच्चिँदै मेरो प्रश्नले खोजेभन्दा धेरै उत्तर दिएपछि अक्षतलाई आफूसँग लैजान खोजेकी थिई । तर अक्षत सुनितीसँग ठुस्किएर अझै मसँगै टाँस्सिदै थियो ।

‘ल,ल, सुनिती, तिमी अक्षतसँग बिहे नगर्ने तर साथी हुने है ?’ मैले सुनितीलाई अक्षतका लागि फकाइदिएकी थिएँ ।

‘ साथी भनेको के हो आन्टी ?’ सुनितीले सोधेकी थिई ।

‘तिमी र अक्षत खेल्ने भनेको क्या …’ मैले हतारिएर अथ्र्याइदिएकी थिएँ ।

‘हस् आन्टी, आऊ अक्षु मैले खेल्ने त भनेको नि, अक्षु नै नमानेर आएको त हो नि !’ सुनितीले मसँग अझै टाँस्सिरहेको अक्षतलाई तानेरै लगेकी थिई ।

त्यसपछिनिर्दोष र निष्छल वालापनमा भएका उनीहरु त सरक्कै खेल्न गएका थिए । तर त्यसबेला उनीहरु गएपछिको रिक्त समयमाट्वाल्ल पर्ने पालो भने मेरो थियो । सुनितीलाई

वाल्यकाल मै त्यस्तो कुरा सिकाउने उसकी आमाका विचारले मेरो मानसमा घन ठोकिरहेको थियो । त्यसपछि बुनिरहेको सुइटर बुन्न पनि मैले सकेकी थिइन् ।

‘सुख प्राप्तिका लागि के पैसा नै सबैभन्दा ठूलो साधन हो ?’ कैयौँ दिनसम्म यसै प्रश्नले मभित्र उथलपुथल मच्चाएको थियो ।

त्यसपछिको समयमा भने मैले सुनितीकी मम्मीका गतिविधिमा पनि ध्यान पुर्याएकी थिएँ । एउटा सामान्य कर्मचारीको परिवारका रुपमा चिनिएका उनीहरु रातारात नवधनाढ्यमा परिवर्तित भइसकेका रहेछन् । सुनितीकी मम्मीको पहिरन, फेसन र सङ्गत अर्कै किसिमको भइसकेको रहेछ ।

यति हुँदाहुँदै पनि सुनिती भने स्कूल पढुञ्जेल हरेक लामो विदामा अक्षतसँग खेल्ने निउँमा अथवा यसै पनि मेरा सम्पर्कमा आइ रही ।

अक्षत प्लस टु पछि बाहिरै पढ्न जान्छु भनेर विदेश तिरै उड्यो । सुनितीले यतै पढी । तर पनि फेसबुकका माध्यमले अक्षत र सुनिती पनि साथी नै थिए ।

‘छोरा, अब त जागीर पनि खान थालिस, बिहे गर्नु पर्छ । तेरी केटी छ कि खोजौँ ?’ वाट्ससफमा कुरा गरिरहेको एकदिन मैले अक्षतसँग सोधेकी थिएँ ।

‘छैन हौ मम, खोज न त’, उसले हाँसेर जवाफ दिएको थियो

‘खोई अब कता खोज्ने हो । तैले रोजेकी सुनिती…’ मैले पुरानो कुरा उप्काएर एकैछिन रमाउन खोजेकी थिएँ ।

‘त्यसबेला ‘सुनितीले मसँग बिहे गर्दिन भनी’ भनेर म रोएको थिएँ रे हैन ? तर मम अब म उसँग बिहे गर्दिन नि !’ उसले मेरो कुरा वीचैमा काटेर भनेको थियो ।

‘किन र अक्षु ? सुनिती त राम्री पनि छे , पढेकी छे, तेरी वाल सखी पनि हो ।’ मैले सुनितीप्रतिको उसको नकारात्मकता बुझ्न खोजेकी थिएँ ।

‘वाफ रे मम, तिमी त छक्कै पर्छौ । त्यो सुनितीको त कतिजना व्वाइफ्रेण्ड छन् कतिजना ? मेरा नै दुइटा साथीसँग सुनिती डेटिङ गएको मलाई थाहा छ । अहिले एउटा अर्कै केटोसँग सुनितीको एकदम डीपलभ छ भनेर त सुनितीले नै मलाई भनेकी हो । उसको फेसबुकमा गएर हेर न, उनीहरुको फोटो पनि छ, सुनिती इज जस्ट ओन्ली फ्रेण्ड मम, नेभर वाइफ !’
अक्षतले एकै सासमा सुनिती बारेका कुरा सुनाउँदा म त अचम्मै परेकी थिएँ ।

सुनितीका बारेमा अरुले यस्ता कुरा भनेको भए त म पत्याउने पनि थिइन होला । किन भने मैले जाने बुझेकी सुनिती त एकदमै सुशील, मायालु, राम्री र बुहारी बनाउनका लागिलोभलाग्दी नै थिई । तर अक्षुले भनेको कुरा नपत्याउन पनि म सक्तिन, किनभने उसले कहिल्यै कसैका बारेमा वाहियात कुरा गर्दैगर्दैन र अरुले फाल्टु कुरा गरेको पनि उसले मन पराउँदैन । तुलनात्मक रुपमा बरु अक्षतका बुवाले कहिलेकाँही उडन्ते वा तथ्यहीन कुरा पनि गरिदिन्छन् ।

‘आफ्ना कुरालाई पुष्टि गर्न वकिल धर्म निर्वाह गर्छन्’ भनेर हामी आमाछोरा बुढाका कति कुरा पत्याउँदैन पनि थियौँ । तर हामी आमाछोरा भने एकअर्काका लागि अत्यन्त विश्वसनीय थियौँ ।

त्यसैले मैले अक्षुले सुनितीका बारेमा दिएको जानकारीलाई पनि सहजै पत्याएकी थिएँ ।

क्रमश :

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।