हाम्रा उखानहरू पुर्खाहरूले हजारौं वर्षदेखि जीवनका विभिन्न क्षेत्रमा आर्जन गरेका ज्ञान र अनुभवका निचोड हुन् । विषयवस्तुको सार खिचेर सूत्रका रूपमा तिनको सिर्जना हुने गरेको छ र ती श्रुति (वेद) जस्तै पुस्तौं पुस्तादेखि भन्दै सुन्दै हामीसम्म आइपुगेका छन् ।समाजमा विभिन्न खाले दार्शनिक, धार्मिक सामाजिक, सांस्कृतिक, जातीय र वर्गीय दृष्टिकोण, आस्था, चालचलन, परम्परा र संस्कार हुने हुनाले उखानहरूले ती सबै कुराको संक्षिप्त इतिहास पनि बोकेका छन् । त्यसैले उखानहरूको गहन विश्लेषण गर्न सकेमा हाम्रो इतिहास र परम्परामा हराइसकेका धेरै कुरा प्रकाशमा आउन सक्नेछन् । म यस लेखमा हाम्रा उखानहरूमा परम्परादेखि व्यक्त हुँदै आएका विभिन्न दार्शनिक सोच र वर्गीय दृष्टिकोणहरूको बारेमा थोरै चर्चा गर्नचाहन्छु ।संसारका सबै मुलुकमा जस्तै हाम्रो देशमा पनि समाजको विकासक्रममा विभिन्न खाले दार्शनिक सोचहरूको विकास हुँदै आएको छ । आदिम समाजमा मानिसहरू प्रकृतिको धेरै नजिक रहेका हुनाले उनीहरूको जीवन प्रणाली र सोचाइहरूमा भौतिक जगत् कै प्रभाव व्यापक थियो । जब मानिसहरू पशुपालन, कृषि र व्यापारद्वारा व्यवस्थित सभ्य जीवनतिर अघि बढ्दै गए त्यहाँ अलौकिक भावना र धार्मिक आस्थाहरू पनि देखापर्दैआए र दासप्रथा र सामन्तवादी कालमा ती पराकाष्ठामा पुगे । समाजको आर्थिक विकास हुँदै जाँदा त्यहाँ शासक र शासित, धनी र गरीब, शोषक र शोषितको रूपमा वर्गहरूको विसमता देखा पर्न थाल्यो । त्यस विसमताले जब टक्कर र संघर्षको रूप लिंदै गयो, समाजमा दार्शनिक सोच र वर्गीय दृष्टिकोण पनि दुई विरोधी धारामा बाँडिंदै गए । समाजका ती फरक दृष्टिकोण र सोचहरू हाम्रा उखानहरूमा यस रूपमा प्रकट भएकाछन् ।भौतिकवादी दृष्टिकोण“खाई सार कि लाई सार मरेपछि लम्पसार”“बाँचुन्जेल चैन गर, मरिलानु के छ र ?”यी दुई उखानले मरेपछिको अवस्था वा कथित परलोक र पुनर्जन्मप्रति कुनै चासो देखाएका छैनन् । यिनमा यसै जीवनमा बाँचुन्जेल खाने, लाउने र आनन्द लिने कुरामा जोड दिइएको छ ।आदिम समाजमा मानव बनैयाँ फलफूल, सागपात र माछामासुको आहारमा निर्भर थियो । कवीलाहरूको परस्पर लडाँइ जंगली युगको विशेषता थियो । त्यसैले त्यसबेला हिंसा, हत्या र मासुको आहार जस्ता कुरा पाप–धर्मसँग जोडिएका थिएनन् । तर पनि त्यसबेला मानिस बिरामी पर्ने, अकालमा प्राकृतिक प्रकोपले मर्ने आदि जस्ता कारणले अलौकिक शक्तिहरूको कल्पना हुन थाल्यो र तिनीहरूप्रति आस्था, विश्वास, पूजा र प्रार्थनाको पनि विकास हुनथाल्यो । धामी–झाँक्रीहरूका तन्त्रमन्त्रमा शुरुमा मरेका पूर्खा वा भूतप्रेतहरूको सम्झना र परिकल्पना थियो । पछि क्रमशः त्यहाँ पनि अलौकिक दैवी भावनाको प्रवेश हुँदै गयो । धामी–झाँक्रीको उपचार पद्धति अवैज्ञानिक भएको अनुभवबाट मानिसहरूले उखान बनाए –“बाख्रो–कुखुरो धामीलाई व्यथा जति हामीलाई ।” भौतिकवाद शुरुमा स्वभावतः अपरिस्कृत खालकै थियो । पछि त्यसको चिन्तन र तर्क प्रणालीमा परिष्कार हुँदै आयो । अपरिस्कृत भद्दा भौतिकवादको उदाहरण चार्वाकको यस श्लोकमा छ –“आत्मा फर्कन सक्तैन देहै भस्म भएपछिबाँचुन्जेल घिऊ खानू रिनै काढी भए पनि ।“नेपालीमा त्यससँग मिल्दोजुल्दो उखान हो –“तैरिन तैरिन बुढी बाख्री किन ।”भौतिकवादले काल्पनिक कुरामा हैन, प्रत्यक्ष कुरामा विश्वास गर्छ । “देख्नेका आँखा फुटे सुन्नेका सही”, “ईश्वर बोल्दैन राजाले देख्दैन” जस्ता उखानले प्रत्यक्ष कुरामा जोड दिएका छन् ।भौतिकवाद भन्दा पछि जन्मेपनि अध्यात्मवादले समाजमा बढी प्रभाव जमाउँदैगयो । दासप्रथा र सामन्तवादी कालमा त त्यसको हैकम यति साह्रै बढ्यो कि भौतिकवादी विचारहरू माथि त्यसले तीव्र दमन गर्नथाल्यो ।अध्यात्मवादी भावनाका उखान यस प्रकार देखापरे –“अजिंगरको आहारा दैवले पुरयाउँछ ।”“भगवान्का भर, जे गर्ने गर ।”“चन्द्रमा दाहिने भए ताराको के लाग्छ ?”समाज विकासको क्रममा पशुपालन उन्नत स्तरमा पुगेपछि दासप्रथाको शुरुवात भयो । त्यसपछि समाजमा दुईथरी वर्ग देखा परे । एउटा सम्पत्ति र दासहरूको मालिक हैकमशाली वर्ग । अर्को मालिकको दासता स्वीकारेर बस्न बाध्य दासदासी वर्ग ।समयक्रममा मालिक र दास वर्गहरूको बीचमा विरोध चर्कदै गयो । मालिकवर्ग दासदासीहरूलाई निर्मम तरीकाले कजाउँथ्यो तर खान–लाउन दिने कुरामा भने निकै कँजूसी गथ्र्यो । त्यसरी अत्याचार बढ्दैगएपछि दासहरू र सबै गरीबहरूले यस्तो कुरा सोच्न थाले –“काम गर्ने कालु, मकै खाने भालु ।”“अचानाको पीर खुकुरीले जान्दैन ।”“गरीबको भान्सा खुर्सानीको मसला ।”“अघाएकोले भन्छ – डाँडा परि खाऊँभोकाएकोले भन्छ – डाँडा वरि खाऊँ ।”“कसैलाई मरीमरी, कसैलाई परी परी ।”“कसैलाई काखा, कसैलाई पाखा ।”“जो होँचो उसैका मुखमा घोंचो ।” आदि ।दास र गरीब वर्गका यस्ता तर्क सुन्न थालेपछि मालिक वर्ग संगठित भएर उनीहरूलाई झन् दबाउने र हतोत्साहित गर्ने काम गर्न थाल्यो । उसले भन्न थाल्यो –“कि खान्छ आँटले कि खान्छ ढाँटले ।”“आछयूँ खाएँ बछयूँ खाएँ झुसे बारुलो ।”“सुँगुरले स्वर्ग देख्न सक्तैन ।”दास र मालिकहरूको विरोध र संघर्ष बढ्दैगयो । मालिक वर्ग एकजुट भएर दमनमा उत्रेको देखेपछि दास वर्ग पनि संगठित हुन थाल्यो । सामन्ती समाज विकसित भएका ठाउँहरूमा जमिन्दार र मोहीहरूको बीचमा टक्कर र संघर्ष बढ्दै गयो । मालिक र जमिन्दारलाई राज्यले सघाउन थाल्यो । यसरी शोषित पक्षमाथि बढी दमन हुनथाले पछि उनीहरू झन् व्यापक रूपले एकताबद्ध भई मुक्ति र समानताको माग गर्न थाले । त्यस बेला शोषित पक्षलाई संगठित र संघर्षशील बनाउन प्रेरित गर्ने यस्ता उखान बने –“एक थुकी सुकी हजार थुकी नदी ।”“खरको एउटा धर्सा नङ्ले पनि चुँड्छ, लुठो बाटे हात्ती पनि बाँधिन्छ ।”“भाई फुटे गँवार लुटे ।”“सयको लाठी एकको बोझ ।” आदि ।यस्ता विचारहरू सहित दास या मोहीहरू जुटे र शोषक–मालिक वर्गको विरुद्ध संघर्ष गर्न थालेपछि मालिक वर्गले भन्न थाल्यो –“कस्ता कस्ता कहाँ गए मुसाका छोरा दरबार ।”“पाँच औंला पनि बराबर हुन्नन् ।”“कहाँ जालास् मछली मेरै ढडिया ।”“कुहिनाले हानेर पहरो भत्कन्न ।” आदि ।विरोधी वर्ग र तिनका विचारहरूको बीचमा यसरी संघर्ष बढ्दैगए पछि त्यस द्वन्द्वले भाग्यवादी र उद्योगवादी विचार र दर्शनहरू जन्माउन थाल्यो । शासक र धनीहरू शासित र गरीबलाई भाग्यवादको लठ्ठीले यसरी हिर्काउन थाले –“भाग्यमानीको भूतै कमारो ।”“लेखेको मात्रै पाइन्छ, देखेको पाइन्न ।”“भाग्यमा भए दैवले छानाबाट धन बर्षाउँछ ।”धनी वर्गको जाली तर्क यस्तो थियो –“तिमीहरू गरीब हुनको कारण हामीले गरेको शोषण नभई तिमीहरूले नै पूर्वजन्ममा गरेको पापको फल हो । हाम्रो भाग्यमा धनी हुन र तिमीहरूलाई कजाउँन लेखेको छ भने तिमीहरूको भाग्यमा गरीब भएर दुःख पाउन र हाम्रो चाकरी गर्न लेखेको छ ।”श्रमजीवी गरीब जनताले त्यस खाले भाग्यवादी विचार र दर्शनको खण्डन गरी उद्योगवादी विचार–दर्शन अघि बढाउनु आवश्यक पर्यो । ती कुरा उखानमा यसरी देखिए –“भाग्य छ भन्दैमा चाल्नामा दूध दुहेर अडिन्न ।”“आँटको अगाडि ढाँटको केही लाग्दैन ।”“उद्योगीले जोगी बन्नुपर्दैन ।”“अल्छीका आँखामा आँसु, इलमीका भागमा मासु ।”“जाँगर न साँगर खाने बेलामा आँ गर ।”यसरी विचारको क्षेत्रमा र आर्थिक क्षेत्रमा पनि संघर्ष बढ्दै गयो । दासहरू, मोही किसानहरू वा मजदूरहरू जति जति सचेत र संगठित हुँदै, संघर्षमा उत्रँदै गए, त्यस पक्षका विचारहरू यथार्थवादी र प्रगतिशील रूपमा यसरी देखापर्न थाले –“रोटी मिठो चिल्लो, कुरा मिठो खस्रो ।”“सूर्यलाई हत्केलाले छेक्न सकिन्न ।”“कि पढेर जानिन्छ कि परेर जानिन्छ ।”“झुटो तग्दैन साँचो डग्दैन ।”“ढाँटेको कुरा काटे मिल्दैन ।”यसरी संघर्ष बढ्दैगए पछि कतै दासहरू स्वतन्त्र भएर छुट्टै बस्ती बसाउन थाले । कतै मोहीहरूले जमिनदारहरूको जमिन कब्जा गर्न थाले । कतै मजदूरहरूले हडताल गरी पूँजीपतिहरूका कारखाना ठप्प पार्न थाले । त्यसपछि मालिक वर्गले बाध्य भएर भन्न थाले –“मूर्खदेखि दैव डरा ।”“बाघको छालामा स्यालको रजाइँ ।”“हर्रो नपाउँदो जाइफल धाउँदो ।”यसरी समाजमा बढ्दैगएको वर्ग संघर्षले परम्परागत एकपाखे जड विचार र दर्शनहरूलाई भत्काउन थाल्यो र त्यसको ठाउँमा पक्ष–विपक्षको विवेचन गर्ने द्वन्द्ववादी विचार–दर्शनको विकास हुन थाल्यो । त्यो कुरा हाम्रा उखानहरूमा यसरी आयो –“अगुल्टो पनि नठोंसी बल्दैन ।”“एक हातले ताली बज्दैन ।”“एकोहोरो रोटी पाक्दैन ।”“एक्लो वृहस्पति झुट्टा ।”“कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि ।”“गुरु सकरै रहे चेला चिनी बने ।”“फूलमा काँढा पनि हुन्छ ।”“मर्नुभन्दा बौलाउनु निको ।”यस प्रकार पहिले “टेक्ने हाँगो न समाउने डालो” भनेझैं जीवनको स्वतन्त्र आधार नभएका श्रमजीवी गरीबहरू आँखा मिचेर उठ्दै संघर्षका निम्ति निडर हुने आह्वान सहित श्रमजीवीहरूका बस्ती–बस्तीमा गएर भन्न थाले –“बिग्रेका मान्छेको भत्केको घर, भत्केका घरको के को डर ।” अनि उनीहरू “सबै जोगी मर मेरै तुम्बा भर” भन्दै अरूलाई मारेर खान पल्केकाहरूको विरोधमा “लुटको धन फुपूको श्राद्ध” भनेझैं ऐयासी र फजूल खर्ची जीवन बिताउनेहरूको विपक्षमा गर्जन थाले ।श्रमजीवी जनता त्यसरी उठ्न थालेपछि कुलिन, सम्पन्न, घरानियाँ धनाढ्यहरू मात्र हैन, ”मेरा पुर्खा घिउ खान्थे मेरो मुख सुङ् सुङ” भन्नेहरू र “हिंङ् नभए पनि हिंङ् बाधेको टालो छ” भन्नेहरू पनि एकातिर गठबाँध्न थाले । अर्कातिर पुर्पुरो, पूर्वजन्म, पुनर्जन्म, परलोकवादको भ्रममा परेर परस्पर मिल्न नसकेका गरीब, शोषित, श्रमजीवीहरू “बाख्राको बाख्रासँग सङ्, भेडाको भेडा सङ्” भन्दै जुट्नथाले । शोषक र दलालहरूको मनपरीले “भताभुंग देशको लथालिंग चाला” देखेर दिक्क भएका मध्यमवर्गीय, तटस्थ र संघर्ष एवं राजनीतिप्रति चासो नराख्नेहरू पनि “मौका आउछ पर्खदैन खोलो बग्छ फर्कदैन” भन्ने ठानेर श्रमजीवी मोर्चातिर लाग्न थाले ।“झिँजाले मुढा पोल्छ” भनेझैं आजसम्म मसिना झार–झिँजा ठानिएकाहरू सल्कँदै गए र जनता चुसेर अग्राख भएका मुढाहरू खरानी हुनथाले । “नपत्याउने खोलाले बगाउँछ” भनेझैं श्रमजीवी जनताको संघर्षमा उर्लापात बाढी आयो । “एक थुकी सुकी हजार थुकी नदी” भनेको के रहेछ भन्ने कुरा मानिसहरूले बुझ्न थाले । यसखाले दोहोरो वर्ग संघर्ष बढेपछि “साँढेको जुधाइ बाछाबाछीको मिच्याइ” भन्दै तथ्य कुरा नबुझ्नेहरू भाग्न थाले । त्यसपछि “जता मल्को उतै ढल्को” स्वभावका अवसरवादीहरू मौका हेरी एक एक पक्षतिर टाँसिनथाले । “काला अक्षर भैसीं बराबर भएका” अशिक्षित जनता पनि त्यसरी सचेत जागरुक भई संघर्षमा लम्केको देखेर परिस्थितिको गम्भीरता बुझेका, शासक पक्षका बुद्धिजीवीहरू “किन चाम्रिइस् मरिच, आÇनै रापले” भनेझैं केही पछाडी खुम्चिएर गम्नथाले । फेरिएको परिस्थितिको महत्व नबुझेर “साउनमा आँखा फुटेको गोरुले सदै हरियो देख्छ” भन्ने खालका शोषित श्रमजीवीहरू भने शोषकहरू तिरै लागेर आफ्नै वर्गबन्धुहरूको विरुद्ध चुक्ली लगाउन थाले । त्यसै खालका शासक–शोषकहरू दमन र हत्याबाटै विद्रोह समाप्त हुन्छ भनेर “आगोमा पुतलीझैं” होमिन थाले ।अर्कातिर “आइमाईको बुद्धि घुचुकमा हुन्छ”, “स्वास्नीमान्छेको विश्वास नगर्नु” भन्ने पितृ सत्तात्मक हैकमको दमनमा परेका नारीहरूको ठूलो हिस्सा पनि क्रान्ति पक्षतिर लाग्न थाल्यो । “शूद्रलाई विद्या दिए हाम्रै टाउको टेक्छ” भनेर वर्णवादीहरूद्वारा युगौंदेखि अशिक्षित राखिएका हेपिएका दलित–उत्पीडित समुदाय पनि संघर्षकै आँधितिर तानिए । त्यो देखेर “हुने हार दैव नटार” भन्दै जमिनदारहरूका हात हेर्नै ज्योतिषीहरूले उनीहरूलाई आश्वस्त पार्नथाले, जनसंघर्षले चरम रूप लिएपछि त्यसलाई कसरी दबाउने भन्ने सल्लाहा गर्न बसेका ठूलाठालूहरूमा विवाद र अन्योल बढ्दै गयो –“माझिहरूले सल्लाहा गर्दा गर्दै सात गाँउ डुबे” भनेझैं उनीहरूको सल्लाहले कुनै निचोड निकाल्न नपाउँदै जनताको संघर्ष विजयी हुँदै गयो । “बाह्र वर्षमा खोलो फर्कन्छ” भनेझैं युगौंदेखिका शोषित पीडित जनता लामो संघर्षपछि विजयी भए ।साना सूत्र जस्ता देखिने उखानहरूमा मानव जातिको इतिहास, अनुभव, विचार, दर्शन, वर्गीय दृष्टिकोण जस्ता थुप्रै कुरा कसरी समेटिएका हुन्छन् भन्ने सानो झलक माथिका उदाहरणहरूले दिन सके कि ?
प्रकाशित मिति: शनिबार, पुस २५, २०७७ ११:४५