बस्नेतले ओली समूहको केन्द्रीय सदस्य किन अस्वीकार गरे ?

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखाका नेता यादव बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली समूहले बनाएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधि सभा भंग गरेको भन्दै बस्नेतले केन्द्रीय सदस्य पदमा बस्न अस्वीकार गरेको बताउनुभयो । आइतबार गोरखामा पत्रकार सम्मेलन आयोजना गर्दै बस्नेतले आफू केन्द्रीय सदस्यमा नबस्ने प्रष्ट पार्नुभएको हो । उहाँले भन्नुभयो, ‘म नेकपाको केन्द्रीय सदस्य होइन। जिल्ला सदस्य र कार्यालय सदस्य पदमा मात्रै छु ।’
पार्टीका उपाध्यक्षसमेत रहनुभएका सचिवालय सदस्य वामदेव गौतम निकट मानिने बस्नेतले गौतमले थालनी गरेको पार्टी एकता अभियानमा आफू सक्रिय रहने बताउनुभयो । नेकपा मिलाउन आफू पनि संगठन नै बनाएर काममा लाग्ने बस्नेतको भनाइ छ ।
नेकपाको ओली समूहले गत पुस ७ गते केन्द्रीय समिति विस्तार गरी एक हजार एक सय ९९ सदस्यीय बनाउँदा बस्नेतलाई पनि केन्द्रीय सदस्य बनाएको थियो ।