छोराको हत्याको न्याय माग्दै नौ वर्षदेखि अनसनरत आमाको व्यथा–न्याय नपाई मर्छु कि !

-ऋषि खतिवडा
काठमाडौं । छोराको हत्यामा न्याय माग्दै एउटी आमा विगत ९ वर्षदेखि अनसनरत छिन् । छोरो कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै गोरखाकी गंगा माया अधिकारीले अनसन बस्न थालेको ९ वर्ष पूरा भएको छ । यसबीचमा गंगा मायाले अनसनकै क्रममा पति नन्दप्रसाद अधिकारीलाई गुमाईन् । अहिले उनको अवस्था पनि दयानीय बन्दै गएको छ । तर उनको माग सुनुवाइ हुने र उनले न्याय पाउने छाँट भने देखिएको छैन ।
छोरा कृष्णप्रसादको हत्यारालाई कानूनी कठघरामा उभ्याउन माग गर्दै आमा गंगामाया अधिकारी अनसन बसेको यो १२ औं पटक हो । गंगामायाले पति शिवप्रसाद अधिकारीलाई अनसनकै क्रममा गुमाउनु भयो । १२ औं अनससनको २३ औं दिन पूरा हुँदा अब उहाँलाई न न्याय पाइन्छ भन्ने लागेको छ न त आफू बाँच्छु भन्ने नै । अहिले गंगामाया राम्ररी बोल्न सक्नुहुन्न, खाना त परै जाओस् पानी पनि पिउनु भएको छैन । सलाईन पानी पनि नशाले लिन सकेको छैन ।
वि.स. २०६१ जेठ २४ मा अपहरणपछि चितवनको रत्ननगरमा कृष्णप्रसादको हत्या भएको थियो । हत्या हुँदा उनी भर्खर १६ वर्षका थिए । आफ्नो छोराको हत्या भएपछि नन्दप्रसाद र गंगामायाले १३ जना उपर किटानी जाहेरी समेत दिएका थिए । उनीहरुमाथि अनुसन्धान भई २०७० चैत ३० गते चितवन जिल्ला अदालतमा मुद्दा समेत दायर भएको थियो । तर हत्याराले कहिल्यै अदालत समेत धाउनु परेन । बरु ३ सय ३४ दिन अनसन बसेपछि नन्दप्रसाद आफैले ज्यान गुमाउनु प¥यो । उनको शव अझै त्रिभुवन शिक्षण अस्पतलमा छ । तर राजनीतिक संरक्षणमा आरोपी खुलेआम हिडिरहेका छन् । अहिले त गगांमायालाई चासो दिने निकाय नै नभएको मानवअधिकार कर्मी इन्द्र अर्याल बताउछन् ।
कृष्णप्रसादको हत्याको जिम्मा तत्कालीन नेकपा (माओवादी)ले लिएको थियो । यो घटनालाई द्वन्द्वकालीन मुद्दाका रुपमा लिएर सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुंग्याउनुपर्ने आवाज पनि उठिरहन्छ । तर कृष्णप्रसाद अधिकारी द्वन्द्वसँग सरोकार राख्ने व्यक्ति नभएको र व्यक्तिगत रिसीबी साद्न हत्या गरिएको भन्दै गंगामाया अन्तिम सास रहुन्जेल अनसन बस्ने प्रणमा छिन् ।