Logo माघ ६, २०७७ मंगलबार


निर्वाचनको प्रमुख चुनौती ‘नेकपा न टुट्नु न मिल्नु’

काठमाडौं । काम चलाउको उपमा दिन थालिएको वर्तमान सरकारले गरेको मध्यावधि निर्वाचनको घोषणाले न्यायालयबाट वैधता पाउन बाँकी नै छ । तर अदालतले यसबारे निर्णय गर्दै रहँदा पनि प्रस्तावित निर्वाचनको मुख्य चुनौतीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछिको विवाद बन्ने देखिएको छ ।

नेकपा पहिलेजस्तो एकजुट नहुनु र विभाजित भइसक्दा समेत दुई अलग-अलग पार्टी बन्न नसक्नु नै निर्वाचनका लागि चुनौती बनेको निर्वाचन आयोगको निश्कर्ष छ । आयोगले चुनाव लक्षित कार्यक्रम निर्धारित समयमै पूरा गर्न नेकपा कि एक हुनपर्र्छ कि त औपचारिक विभाजनको टुंगो लाग्नुपर्छ । अहिलेकै जस्तो एक पनि नहुने र विभाजित पनि नहुने अवस्था लम्बिइरहने हो भने त्यसले चुनावलाई प्रभावित गर्ने आयोगको बुझाइ छ ।

हुन त निर्वाचन हुने वा नहुने विषय सर्वोच्च अदालतको आदेशमा पनि निर्भर हुनेछ । तर नेकपाको विवादले चुनावको तयारी गर्नमै आयोगलाई द्विविधाग्रस्त बनाइदिएको छ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले चुनाव हुनै नसक्ने दाबी गर्दै चुनावको तयारी रोक्न आयोगलाई दबाब दिएको छ । तर त्यसको ठिक विपरीत प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीको समूहले चुनावी तयारीको आह्वान गरिरहेको छ ।

कानुनी रुपमा मात्रै विभाजन हुन बाँकी रहे पनि आयोगमा एउटै नेकपा छ तर आयोगलाई एउटै पार्टीको ‘लेटरहेड’ बाट अलग–अलग पत्राचार भइरहेको अवस्था छ । आयोग स्रोतका अनुसार नेकपा फुटिसकेको भएपनि दुवै समूहले फुटेको स्वीकार नगरेकोले समस्या हुने देखिएको हो । यसैको ठूलो असर दुई सातापछि आयोगमा देखिने र समग्र निर्वाचन कार्यक्रम प्रभावित हुने सम्भावना बढेको आयोगले जनाएको छ ।

निर्वाचन हुने/नहुने अन्यौलताकै बाबजुद आयोगले भने वैशाखको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी त्यसमा भाग लिन इच्छुक दलका लागि माघ १५ गतेबाट दल दर्ताको समय दिने तयारी अघि बढाएको छ । संविधानमा हरेक निर्वाचनपूर्व दल दर्ता गरिनुपर्ने व्यवस्था अनुरुप आयोगले यस्तो तयारी गरेको हो ।

नेकपा विवाद छिनोफानो नभएको अवस्थामा दल दर्ता गराउन दाहाल–नेपाल तथा ओली दुवै पक्ष आयोगमा पुग्ने र तर दुवैले नेकपा र सूर्य चिह्नमै दाबी गर्ने निश्चित जस्तै छ । तर एकै नामबाट दुई दल दर्ता गर्न मिल्दैन । विवादको निरूपण नभई कुनै एक समूहलाई मात्र आयोगले दर्ता गर्न पनि मिल्दैन । यसर्थ मध्यावधि निर्वाचनको शुरुवात नहुँदै नेकपा विवाद निर्वाचन आयोगका लागि ‘पहिलो गासमै ढुंगा’ साबित बनेको छ ।

नेकपा विवादलाई समाधान नगरे दल दर्ताकै समयमा झगडा हुने भएकाले यो पार्टी कि टुटेर आउनुपर्ने वा मिलेर आउनुपर्ने अन्यथा चुनाव नै प्रभावित हुने पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको भनाइ छ । त्यस्तै, झन्डै दुई तिहाइ मत ल्याएको नेकपालाई विवादकै कारण बाहिर राखेर चुनावमा होमिने क्षमता आयोगसँग नहुने र त्यसो गरिहाल्दा पनि अवस्था झन् प्रत्युत्पादक हुने आयोगकै विश्लेषणले पनि वैशाखको चुनाव सम्भव नहुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको पाटन अस्पताल पूरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ ।

पहिलो चरणमा एड मार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा २०० युवाहरुको सहभागीता रहेका थियो ।

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।