निर्वाचन आयोगको निर्णयलाई प्रभावित पार्ने ओलीको कोशिस, आयोगलाई पठाए ११ पृष्ठको पत्र (पत्रसहित)

काठमाडौँ । प्रतिनिधिसभा विघटन गरेर सबैतिरबाट आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको निर्णयलाई प्रभावित पार्ने कोशिस गर्नुभएको छ ।
नेकपा (ओली समूह) को अध्यक्ष ओलीले निर्वाचन आयोगलाई असम्बन्धित व्यक्ति वा पार्टीबाट पठाएको निवेदन अभिलेखीकरण नगर्न पत्राचार गर्नुभएको छ । आयोगले पुस २३ मा पठाएको पत्रको जवाफमा नेकपा अध्यक्ष ओलीले आफूले पठाएको विवरणमात्र सूचीकरण गर्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ ।
११ पृष्ठ लामो पत्र लेख्दै ओलीले नेकपाको आफू प्रथम अध्यक्ष रहेको बताउदै त्यही प्रमुख पदाधिकारीको हैसियतमा आफूले पठाएको विवरणमात्र सूचीकरण गर्न आयोगलाई सुझाव दिनुभएको हो । यसको वैधानिक अधिकार आफूमा रहेको समेत उहाँले दाबी गर्नुभएको छ । नेकपाको आधिकारिक निर्णयमा हस्ताक्षर गर्ने अधिकार आफ्नो मात्र रहेको उल्लेख गर्दै उहाँले अन्यको हस्ताक्षर अनधिकृत भएको जिकिर गर्नुभएको छ ।
ओलीले आफू नेतृत्व पार्टीले कुनै गैरसंवैधानिक काम नगरेको जिकिर गर्नुभएको छ । ‘मैले पार्टी प्रमुखको हैसियतमा गरेको कार्य र पार्टीबाट भएका निर्णयहरू कानुनसम्मत् विधानको व्यवस्था अनुरुप तथा नेपालको संविधान अनुरुप भएको हुँदा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफ ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ बमोजिम अभिलेखीकरण गरिदिनु हुन अनुरोध छ,’ ओलीले पत्रमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले पार्टी विभाजन नभएको भन्दै आयोगलाई ध्यान आग्रह गर्नुभएको छ ।