झारफुकको निहुमा झाँक्रिले पनिउ डाम्दा बिरामीको मृत्यु

हुमाकान्त पोखरेल
गुल्मी । रेसुङ्गा नगरपालिकामा झारफुकको नाममा झाँक्रिले पनिउले डाम्दा एक बिरामीको मृत्यु भएको छ । रेसुङ्गा–१ का ३८ वर्षीय राम प्रसाद श्रेष्ठले तातो पनिउ डाम्दा इस्मा गाउँपालिका–३ दर्लामचौरका ६३ वर्षीय राम बहादुर मुखियाको ज्यान गएको हो ।
मुखिया ढाड दुखेकाले झारफुक गर्न भन्दै दुई छोराहरुको साथमा धामिकै घर गएका थिए । चार दिनसम्म पनि खान नदिई तातो फलामे डन्डी, स्टिलको झाँझर तताएर तथा प्लास्टिक पाइपले हानेका कारण बुबाको मृत्यु भएको मृतकका छोरा हुम बहादुरले बताए । बुधबारबाट मुखिया अचेत भएपछि झाँक्रि श्रेष्ठले आफ्नो घरमा केही अपरिचित व्यक्ति आई हल्ला मच्चाएको भनि प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उनको उजुरीपछि प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वमा उनकै घर पुगेको प्रहरीको समूहले झाँक्रिले हानेर मुखियाको मृत्यु भएको रहस्य पत्ता लगाएको हो ।
मृतक मुखियाको शरीरकाे सबैजसो भागमा डाम भेटिएको प्रहरीले जनाएको छ । मृतक मुखियाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
आफूलाई धामि भन्ने श्रेष्ठले रेसुङ्गा नगरपालिका–५ भुवनपानीकी ४० वर्षीय टोपला दमाईलाई पौष २४ गते आफ्नै घरमा बोलाएर तातो पनिउले हानि घाइते बनाएका थिए। अहिले उनकाे जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।
घटनामा संलग्न झाँक्रि श्रेष्ठ र उनकी श्रीमती ३६ वर्षीय शान्तिला श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।