Logo माघ ६, २०७७ मंगलबार


माघी : थारु समुदायको नयाँ आर्थिक वर्ष शुभारम्भ

-मुना चौधरी

माघी नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने थारु समुदायले मनाउने पर्वहरुमध्येको एक पर्व हो । अनादिकालदेखि तराई र भित्री तराईमा बसोबास गर्दै आएका थारुहरुले माघी मनाउँछन् । यसको सुरुवात कहिलेदेखि भएको हो भन्ने यकिन नभए पनि थारु समुदाय अस्तित्वमा आएदेखि सुरु भएको विश्वास गरिन्छ । प्रत्येक वर्ष माघ १ गते माघी पर्व धुमधामका साथ मनाउने चलन रहिआएको छ । यो माघ महिनामा मनाउने भएकाले यसलाई माघी, तिला संक्रान्ति, मकर संक्रान्ति, माघे संक्रान्ति, खिचरी, माघ र लाइ पर्वका नामले पनि चिन्ने गरिन्छ ।

सूर्य मकर रेखाबाट कर्कट रेखामा जाने भएकाले मकर संक्रान्ति भनिएको हो भने यो पर्वमा प्रकृतिको उपहार तिलको महत्वपूर्ण स्थान रहेकोले तिला संक्रान्ति भनिएको हो । यसै दिनबाट दिन लामो र रात क्रमशः छोटो हुने जनविश्सास समेत रहेको छ । यसै अवसरमा वर्षभरिको हरहिसाब, फछ्र्यौट गरी आउने सालको लागि योजना बनाउने कार्य गर्ने भएकाले थारु समुदायले यस दिनलाई नयाँ आर्थिक वर्षको रुपमा पनि लिने गदर्छन् ।

कतिपय लेखकहरुले यसलाई नयाँ वर्ष र थारु संवत्को रुपमा पनि आफ्नो धारणा राख्ने गरेका छन् तर सुक्ष्म रुपमा विश्लेषण गर्ने हो भने थारुहरुले विक्रम सम्वतको पहिलो महिना अर्थात् वैशाख १ गतेलाई नै नयाँ वर्ष मानेको देखिन्छ ।

मङ्सिरमा सबैको घरमा धान भित्र्याएको हुन्छ । त्यसैले यस समयमा प्रत्येक थारुहरुको घरमा भकारी धानले टम्म भरिएको हुन्छ । टौवा बारीमा परालका छ, सातओटा टौवा हुन्छन् । घरमा धानको भकारी र बारीमा टौवाले घरको शोभा बढाइएको हुन्छ । थारु समुदायको प्रत्येक गाउँमा तीन, चारओटा पोखरी हुन्छ । ती पोखरीहरुमा थारुहरु मिलेर माछा पालेका हुन्छन् । माघीको एक दिन अगाडि बेलुकी प्रत्येक थारु गाउँमा पोखरीको माछा मार्छन् । माछा मारेर सबैजना बराबरी भागमा बाँड्छन् । प्रत्येकको भागमा ५ देखि १० किलो माछा पर्छ ।

खानपिनको कुनै बन्देज नभएको यस पर्वमा खासगरी पुस महिनाको अन्तिम दिन थारु महिलाहरु बेलुकी चुलोमा आगो बाल्छन् । कराइमा बालुवा तताउँछन् । तातो बालुवामा चामलको मुरही भुट्छन् । मुरही भुटेर चिउरा पनि भुट्छन् । जसको जति ठुलो परिवार छ, त्यही अनुसार मुरही र चिउरा भुट्छन् । गुडको चास्नी बनाउँछन् । चास्नी धेरै गाढा बनाउँछन् । त्यही गाढा चास्नीमा मुरही राखेर मोल्छन् र पालैपालो डल्लो बनाउँछन् । पालैपालो चास्नीमा भुटेको चिउरा, भुजा र तिलको डल्लो बनाइन्छ । जसलाई लाइ बनाउनु भनिन्छ । चिउरा र भुजाको डल्लोलाई लाइ भनिन्छ भने तिलको डल्लोलाई तिलुवा लड्डु भनिन्छ । लाइ बनाएर माछा, तरुवा र थरिथरिको परिकार पकाउँछन् । पुसमा पकाएको परिकार भोलिपल्ट बिहान माघ १ गते खाइन्छ ।

माघ १ गते थारु महिलाहरु बिहानै उठेर घर आँगन गोबर, माटोले लिपपोत गर्छन् । घरको काम सकाएर नजिकैको तलाउ वा पोखरी, इनारमा नुवाइधुवाइ गरेर घरको देउतालाई जल चढाई ठुलाबडाको आशीर्वाद लिई मात्र खानेकुराहरु खान्छन् । बेलुकी आफ्नो घरको साथै गाउँ नजिक रहेको डिहवारको थानमा दीयो र धूप बाल्ने चलन छ ।

पुरुषहरुले यसै दिन कामदारहरु राख्ने गर्छन् । कपाल काट्नको लागि ठाकुर, हलो जोत्नको लागि हली र अन्य काम गर्नका लागि कामदारहरु यसै दिन राख्ने गर्छन् । यस दिनबाट दिन लामो हुने भएकाले यस दिन कामदारहरु राखे लामो समयसम्म कामदार टिक्छन् भन्ने धारणा छ । कामदारलाई दिने वर्ष भरिको दरमाहा (तलब) समेत तोक्ने गरिन्छ । सोही अवसरमा समुदायमा माइन्जन, जेवार, मुली, बरघर चुन्ने परम्परा पनि रहेको छ । जसले गाउँघरमा हुने सानोतिनो झगडा, असहमति तथा विवाद सजिलैसँग समाधान गर्दछन् । यो चलन अहिले पनि थारु समुदायमा कायम छ । चौकीदार र गोराइत राख्ने, नराख्ने वा नयाँ राख्ने पनि यसै समयमा निधो गर्ने चलन रहिआएको छ ।

प्रत्येक थारु गाउँमा चार, पाँचओटा खसी र बङ्गुर काटिएको हुन्छ । माछासँगै खसी, बङ्गुरको मासु, घोङ्ही, सितुवा, परेवा, हाँस, कुखुराको मासुको परिकार पकाइन्छ । चामल र तिल एकै ठाउँमा हालेर खिचडी पकाइन्छ । गुड र चामल एकै ठाउँमा मिसाएर गुड खिचरी पकाइन्छ भने तिल र चामल एकै ठाउँमा मिसाएर तिल खिचरी पकाइन्छ । यस पर्वमा खिचडी पनि खाने भएकाले यस पर्वलाई खिचरी पर्व पनि भन्ने चलन छ । थरि थरिका परिकार पाकेर गाउँमा हरर मिठो वास्ना आइरहेको हुन्छ ।

यो दिन सबैजना खानपिनमा व्यस्त हुन्छन् । माघीमा बनाएको लाइ, मुरही कोसेली छोरीको घर पठाउने चलन छ । यस दिन वा भोलिपल्टबाट चिउरा, मुरही, लाइ, तिलको लड्डु विवाहीत चेलीहरुको घर कोसेली दिन दाजु, भाइ, बहिनी वा भाउजू जाने गर्छन् । ढाकीभरि लाइ मुरही कोसेली विवाहित छोरीहरुलाई पठाउने गर्छन् । कोसेली पठाउने क्रम माघबाट चैतसम्म चल्छ । आफ्नो आर्थिक क्षमताअनुसार छोरीहरुलाई लाइ, मुरही कोसेली पठाउने गर्छन् । माघी नमनाउने गाउँका थारु बाहेक अन्य जातिका छिमेकीहरुलाई यस दिन थारुहरु खाना खान बोलाउँछन् । कसै कसैले भोज पनि खुवाउछन् । भोज खुवाएर लाइ, मुरही कोसेली दिएर छिमेकीहरुलाई घर पठाउँछन् ।

माघीलाई उत्सवको रुपमा मनाउँदै थारु कला, संस्कृति झल्किने पहिरन, भेषभूषा, झाँकी, थारुहरुको खानाको परिकार रहेका हुन्छन् भने थारु परम्परा झल्किने नृत्य र गीत, सङ्गीतहरु यस दिन प्रस्तुत गर्ने गर्दछन् ।

अरु पर्व जस्तै यो पर्वमा पनि नजिकैको धार्मिक स्थलमा मेला लाग्ने गर्दछ । जहाँ थारु समुदायले सबै किसिमको दुःखलाई बिर्सेर मनोरञ्जन लिने गर्छन् । माघीको बेलुकी राति गाउँ गाउँमा थारुहरुको मौलिक धुमरा, सखिया, मान, सोरैठ नाच देखाउँछन् । तर आजभोलि यो नाचमा युवतीहरुले विशेष जोड दिने गरेको पाइन्छ । बढ्दो सांस्कृतिक अतिक्रमणका कारण यस्ता मौलिक चाड पर्वहरुको मौलिक विशेषता विस्थापित हुँदै जाने र कालान्तरमा लोप नै हुने खतरा बढ्न थालेको छ । त्यसैले यस्ता चाड पर्वलाई संरक्षण गर्नु सम्बन्धित समुदायको मात्र होइन सिंगो देशकै दायित्व हो ।

(लेखक चौधरी मुलतः साहित्यिक विधामा कलम चलाउछिन् । तर उनले सांस्कृतिक विषयमा पनि निरन्तर लेख्दै आएकी छिन् ।)

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।