भारतमा कोरोना संक्रमितको संख्या एक करोड पाँच लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार नौ सय ४६ जना नयाँ संक्रमित भेटिएसँगै बिहीबारसम्म संक्रमितको संख्या एक करोड पाँच लाख १२ हजार ९३ पुगेको हो ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एक सय ९८ जनाको मृत्यु भएको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ४६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १३ हजार ६ सय तीन सक्रिय संक्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार तीन सय ५७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र ११ जनाको मृत्यु भएको छ ।
भारतीय सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिँदै आएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १८ करोड ४२ लाख ३२ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो बुधबार मात्र एकै दिनमा आठ लाख ४३ हजार एक सय ९१ जनाको कोभिड–१९ परीक्षण गरेको छ ।