Logo माघ ६, २०७७ मंगलबार


माघी पर्व सम्झाउने सिग्नेचर गीत : हर साल आउँछ माघी

–सिर्जना गुरागाइँ 
भक्तपुर बालकोटकी कामना निरौलालाई कुन चाड कहिले पर्छ खासै हेक्का हुँदैन । त्यसो त बहुजातीय र बहुभाषिक अनि बहुसांस्कृतिक देश नेपालमा चाड पर्वहरु पनि धेरै छन् । त्यसैले कुन चाडपर्व कहिले पर्छ ? भन्नेबारे सम्झन चाहेर पनि सम्भव छैन । यस्तोमा रेडियो र चाडपर्व सम्बन्धित गीत संगीतले सहयोग गर्ने गरेको एक निजी बैंकमा कार्यरत कामनाको अनुभव छ । उनी भन्छिन्–सम्बन्धित चाड पर्वको आसपासमा रेडियोहरुले त्यही चाडपर्वका गीत संगीत प्रसारण गरिदिन्छन् । त्यहीबाट ए फलानो चाडपर्व आइसकेछ है भन्ने लाग्छ ।

चाडपर्व अनि गीतसंगीत यी दुबै नेपाली संस्कार र संकृतिको पहिचानसँग जोडिएका कुराहरु हुन् । हरेक चाडपर्व हामीबीचमा आत्मीयताका साथै एक आपसमा सम्बन्ध प्रगाढ बनाउने माध्यमहरु हुन् । त्यसमा पनि गीतसंगीतले खेल्ने भूमिका छुट्टै छ । गीत संगीतले हाम्रा पर्वहरुमा थप रौनकता थप्ने गर्छन् । पर्व लक्षित गरी सिर्जना गरिएका गीत संगीतले पर्वको रौनकता अझ बढाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ ।
नेपालमा जति धेरै चाड पर्व छन्, त्यस सम्बन्धी गीत भने थोरै संख्यामा आएका छन् । तर पर्व सम्बन्धी गीतै नबनेका चाहिं होइनन् । कामना निरौलाले भने जस्तै कुनै–कुनै गीत जब गुञ्जिन थाल्छन् तब मात्र पर्वको आगमन भएको हामीलाई आभास हुन्छ ।

माघ १ गते नेपालका आदिवासी जनजाति थारु समुदायको ठूलो पर्व माघी पर्दछ । दशैं र तिहारभन्दा पनि ठूलो महत्व छ माघीको थारु समुदायमा । त्यसैले उनीहरु माघीलाई धुमधामसँग मनाउछन् । पछिल्लो समय अन्तर सांस्कृतिक अन्तरघुलनको प्रचलन बढ्दो छ । यसकारण माघी अहिले थारु समुदायमा मात्र सीमित छैनन् । के पहाड,के हिमाल, के तराई सबै भूगोलका सबै जाति र समुदायले माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउदछन् ।

देशभित्र मात्र होइन विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको साझा पर्व माघीको झल्को गराउने र यो पर्वको रौनकता बढाइदिने थोरै गीतहरुमा चलचित्र कुरुक्षेत्रको गीत हर साल आउँछ माघी झण्डै दुई दशकदेखि माघीको सिग्नेचर गीतको रुपमा रहँदै आएको छ ।
वि.सं २०६० सालमा रेकर्ड भएको माघी पर्वसम्बन्धी यो गीत हरेक माघीमा बज्दै आएको छ । कामना जस्ता धेरै जना छन् रेडियोमा यो गीत बज्न थालेपछि माघी पर्व आएछ भन्ने थाहा पाउने ।

“हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुसीयाली छ दाङमा, खुसीयाली कञ्चनपुरमा”

कुरुक्षेत्र चलचित्रका लागि तयार पारिएको हो यो गीत । चलचित्रको कथावस्तुअनुसार थारु बस्तीको परिवेशमा माघी पर्व मनाइरहँदाको क्षणलाई समेट्न यो गीतको रचना गरिएको हो । कमैया मुक्ति आन्दोलनको भाव साहित्यकार महेशविक्रम शाहले रचना गर्नुभएको यो गीतमा संगीत सुरेश अधिकारीको र स्वर रामा मण्डलको रहेको छ ।

कुरुक्षेत्र चलचित्रका लागि निर्माण गरिएको यो गीत हरेक सालको माघी पर्वमा बज्दै आएको छ । संगीतकार सुरेश अधिकारी भन्नुहुन्छ “वर्षभरी दुः ख गर्ने थारु जाती विषेशगरी माघी पर्वमा रमाउँछौं भन्ने भाव गीतले बोकेको छ । यसले सांस्कृतिक महत्वलाई पनि दर्शाएको छ । चलचित्रको कथा वस्तुमा मात्रै नभएर नेपालको माघी संस्कृतिको प्रतिनिधि गीतको रुपमा अहिले चलचित्र क्षेत्रमा यसले नेतृत्व गरेको छ ।”

चलचित्रको लागि रचना भएको यस गीतमा थारु भाषाको एउटा आलाप आवश्यक देखेर यसको आलाप बनाएको संगीतकार अधिकारी बताउनुहुन्छ “गीतमा संगीत भर्ने क्रममा एउटा थारु भाषाको प्रतिनिधित्व गर्ने आलापको आश्यकता देखेर एकजना चौधरी साथीलाई कुरा गरेको थिएँ तर साथीले हुन्छ हुन्छ भनेर टारिदिनुभयो । पछि स्टुडियोमै कार्यरत थारु समुदायका एकजना कर्मचारीको सहयोगमा आलापको उल्था गरें । उक्त आलाप आफैले गाएको छु, यसले थारु भाषालाई पनि राम्रो प्रोमोट गरेकोे छ ।”

माया नमार र बन्धकीका गीतहरुले राम्रो चर्चा पाएपछि चलचित्र कुरुक्षेत्रको संगीत सिर्जनाको जिम्मा आफूमा आएको संगीतकार अधिकारी सम्झनुहुन्छ । “ त्यसबेलासम्म चलचित्र संगीतमा म नयाँ–नयाँ नै थिएँ । त्यसैले यस चलचित्रका गीत संगीतमा निकै मिहिनेत गरेको छु । हुनत, सबै चलचित्रका गीतहरु मनपराए श्रोता दर्शकले । त्यसमध्येमा पनि विशेष यो माघी गीत सबैले मनपराइदिनुभयो ।

संगीतकार अधिकारी यस गीतको सिर्जनाको विशेष श्रेय निर्देशक ज्ञानेन्द्र देउजा र निर्माता शेखर कोइरालालाई दिनुहुन्छ । चलचित्र कुरुक्षेत्रको शुरुवात नै यही गीत “हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमाबाट हुन्छ । जसमा कलाकारहरु राजेश हमाल, सुभद्रा अधिकारी,जल शाह, ऋद्दिचरण श्रेष्ठ र सिरु विष्ट लगायतको अभिनय रहेको छ ।

पूरा गीत

रचना : महेशविक्रम शाह
संगीत : सुरेश अधिकारी
स्वर : रामा मण्डल र अन्य

हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङमा, खुसीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा ।

हलो फाली थन्काएको फुर्सदिलो बेला
के बुढा के तन्नेरी सब एकै ठाउँ भेला
वर्ष दिनको पसिनालाई आज सुकाएर
मिठो खाने राम्रो लाउने, रहर फुकाएर ।
नाङ्लो भरी ढिकरी छ, कटुलीमा माड
पतरीमा मासु अनि बटुकीमा जाँड
बल्ल आयो वर्षदिनमा यति राम्रो चाड
आफू पनि खाइदे साथी अरुलाई नि बाँड ।
आज छैन कहीं चिसो चूलो, धुवाँ उड्यो धुर धुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा ।

गोरी गोरी बठानिया कम्मर भाँच
गाउँघरके संघारिया–सखिया रे नाच

ए सखी हो माघी त्योहारके धुरीधुरी जाँड

हाम्रो माघी तिहारमा केको डर लाज ?
हिजो बिर्सौ, भोलि विर्सौं, बाँचौं हामी आज
माघी तिहारमा पारिलो घाम
नयाँ रंग नयाँ ढंग कस्तो भयो राम
जानु छैन खेतबारी, गर्नु छैन काम

अनि ?

घैला घरको रित्याएर खुट्टा भयो जाम ।
आज आफ्नै मनमर्जी चल्छ, गाउँमै र मजदुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङमा, खुसीयाली कञ्चनपुरमा ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।