आर्थिक विकासका लागि प्राथमिक क्षेत्र ताेक्नुपर्छ : नेपाल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै उर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको आर्थिक विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । विभिन्न क्षेत्रलाई प्राथमिकिकरण गर्दै अघि बढेपनि आर्थिक विकासकाे निम्ति मानव संसाधन पनि महत्वपूर्ण हुने भन्दै उहाँले शिक्षित र दक्ष नागरिक आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले देश कस्तो बनाउने भन्ने कुरा सरकारले चाहेर मात्रै नहुने भन्दै सिंगो प्रणाली नै परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । प्रणाली बनाउने कुरामा सरकारको भूमिका हुने भएपनि सरकार गम्भीर नभएको उहाँको भनाइ छ । देशको समस्या पहिचान गर्न सकिएन भने समस्या समाधान गर्न नसकिने भन्दै उहाँले देशमा देखा परेको समस्या पत्ता लगाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालमा उत्पादन हुने वस्तुहरु विदेशबाट आयात रोक्नुपर्ने बताउनुभयो । आयात प्रतिस्थापन गर्ने बस्तुहरुलाई विशेष प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । विदेशबाट फर्किएका मानिसहरुको सिप, अनुभव, ज्ञान तथा पूँजी नेपालमै प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।