ओलीको कदम संघीयता, लोकतन्त्र र धर्मनिरपेक्षताविरुद्ध : नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन असंवैधानिक कदमका साथै संघीयता, लोकतन्त्र र धर्मनिरपेक्षताविरुद्ध भएको बताउनुभएको छ ।
विहीवार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष नेपालले ओली पहिलेबाटै गणतन्त्रविरोधी भएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओेली लोकतान्त्रिक आचरण नै नभएको अहंकारी व्यक्ति भएको उहाँको भनाइ थियो । उहाँले ओली सुध्रन्छन् भन्ने विश्वास नै गर्न नसकिने बताउनुभयो ।
पञ्चायतविरोधी आन्दोलनदेखि नै पुष्पकमल दाहालसँगै सहकार्य गरेको बताउदै अध्यक्ष नेपालले ओलीको तुलनामा दाहाल धेरै राम्रो भएको जिकिर गर्नुभयो । उहाँले दाहालबारे आशंका नगर्न पनि आग्रह गर्नुभयो ।