नयाँ चलचित्र लागेसँगै सिनेमा हल ‘हाउसफुल’

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण लामो समय बन्द भएका सिनेमा हल पुन: तंग्रिन थालेका छन् । पुस १० गतेबाट सञ्चालनमा आएका सिनेमा हलमा विस्तारै दर्शकहरुको उपस्थित बढ्दै गएको हाे ।
हल सञ्चालनमा आएसँगै पुरानै चलचित्र देखाएका हलले आजदेखि नयाँ चलचित्र लगाएका छन् । नयाँ चलचित्र लागेसँगै सिनेमा हल हाउसफुल छन् । दर्शकको उपस्थिति क्रमस बढ्दै जाँदा आज हाउसफुल भएको ‘बिग मुभिज’ का सञ्चालकले बताए । कमलपोखरीको बिग मुभिज, मध्य बानेश्वरको वान सिनेमा लगायतका हल आज हाउसफुल थिए ।
कोरोना संक्रमणबाट बच्न सरकारले लगाएका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्दै हल सञ्चालन भइरहेको सञ्चालकहरुले बताएका छन् । दर्शकका लागि अनलाईन टिकट प्रणाली, मास्क, स्यानिटाइजर र फेस सिल्डकाे व्यवस्था गरिएको बताइएको छ । अधिकांश हलले एउटा सिट छोडेर दर्शकलाई बसाएको छ ।
कोरोना भाइरस महामारीको त्रासका कारण लामो समय घरभित्र थुनिएका मानिसहरु बिस्तारै मनोरञ्जन खोज्दै छन् । शुरु शुरुमा कोरोनाको त्रासले बाहिर ननिस्किएका मानिस पनि बिस्तारै बाहिर निस्कँदै गर्दा क्रमश सिनेमा हलमा पनि दर्शकको भिड बढ्न थालेको देखिएको छ । यसले लामो समय आयास्रोत ठप्प भएका सिनेमाकर्मीलाई राहत मिल्दै गएको छ ।
नेपालमा विहीवारदेखि हिन्दी फिल्म मास्टर’ र नेपाली फिल्म एउटा यस्तो प्रेम कहानी रिलिज भएको छ ।
भारतसँगै विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको फिल्म ‘मास्टर’ तमिल सुपरस्टार विजय र विजय सेतुपती स्टारर फिल्म हो । यो फिल्मले कोरोनाका कारण धरासायी अवस्थामा पुगेको तमिल फिल्म इन्डस्ट्रीलाई आफ्नो लयमा फर्काउने अपेक्षा गरिएको छ ।
यस्तै विहीवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म एउटा यस्तो प्रेम कहानी पूराना अभिनेता शिव श्रेष्ठको लगानीमा निर्माण भएको हो । यही फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता र अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले अभिनयमा डेब्यू गरेका छन् ।
१ घण्टा ३५ मिनेट लम्बाईको फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्का, ध्रुव कोइरालालगायतको पनि अभिनय रहेको छ ।