Logo बैशाख ३०, २०७८ बिहीबार


नेपाल–भारत संयुक्त बैठक : सीमा र ईपीजीबारे आएन भारतको ठोस जवाफ

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सीमा विवाद र लामो समयदेखि थाती रहेको प्रबुद्ध समूह (ईपीजी) का सम्बन्ध कुनै निष्कर्ष ननिकाली समापन भएको छ । नयाँदिल्लीमा भएको आयोगको बैठकमा सीमासम्बन्धी मामिला नेपालले उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पुर्‍याउनुपर्ने विषय’ भन्दै पन्छाएपछि बिना निश्कर्ष टुंगिएको हो ।

नयाँदिल्लीको हैदराबाद हाउसमा शुक्रबार भएको बैठकलगत्तै नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा भने सीमाको मुद्दामा छलफल भएको र टुंगोमा पुग्न बाँकी कामलाई छिट्टै निष्कर्षमा पुर्‍याउने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएको उल्लेख छ । त्यस्तै, सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायतका द्विपक्षीय सम्बन्धका सबैजसो पक्षको समीक्षा गर्दै सुझाव दिन गठित ईपीजीले संयुक्त प्रतिवेदन तयार गरेको साढे दुई वर्ष नाघिसक्दा पनि भारतीय पक्षले यो पटक पनि खासै चासो देखाएन ।

बैठकमा भारतीय पक्षले कोरोना खोपको आपूर्ति भने जतिसक्दो छिटो र सहजै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका थिए । बैठकको सुरुमा भारतीय विदेशमन्त्री जयशंकरले सम्बोधन गरेका थिए ।

विदेशमन्त्री जयशंकरले दुई देशबीचको सम्बन्ध संस्कृति, धर्म र भाषामा आधारित युगौं पुरानो सभ्यता भएको उल्लेख गर्दै यस किसिमको सम्बन्धलाई थप सुदृढ र बलियो बनाउँदै जानु बैठकको प्रमुख उद्देश्य रहेको उल्लेख गरे । त्यसपछि परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको सम्बन्धका सबै पक्षमा छलफल गर्ने ‘म्यान्डेट’ बैठकको भएको उल्लेख गर्नुभयो । नियमित सम्पर्क र संवाद दुई देशबीचको सम्बन्धको विशेषता रहिआएको समेत उहाँको भनाइ थियो । ज्ञवालीले दुई देशका प्रधानमन्त्रीको नियमित भ्रमण र संवादले मात्रै आपसी सम्बन्धमा गतिशीलताको नयाँ आयाम थपेको उल्लेख गर्नुभएको थियो ।

आयोगको बैठकलगत्तै भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पनि सीमा विवादभन्दा पनि व्यवस्थापनको विषयमा बढी छलफल भएको उल्लेख छ । ‘संयुक्त बैठकले दुई देशबीचको बृहत् साझेदारीको समीक्षा गर्‍यो । दुई देशबीचको परम्परागत तथा मित्रवत् सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल भयो,’ विज्ञप्तिमा भनिएको छ । कनेक्टिभिटी, आर्थिक र व्यापार, ऊर्जा, तेल तथा ग्यास, जलस्रोत, राजनीतिक तथा सुरक्षाका मुद्दा, सीमा व्यवस्थापन, विकास, पर्यटन, संस्कृति, शिक्षा र क्षमता अभिवृद्धि जस्ता दुई पक्षबीच साझेदारीका विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पेट्रोलियम पाइप लाइनलाई मोतिहारी–अमलेखगन्ज हुँदै चितवनसम्म विस्तार गर्ने र सिलिगुडीदेखि झापासम्म अर्को नयाँ पेट्रोलियम पाइप लाइन विस्तार गर्ने, बुटवल–गोरखपुर प्रसारण लाइन, सीमा क्षेत्रको डुबान समस्या समाधान गर्ने, सीमामा आम नागरिक र वस्तुको आउजाउलाई सहज बनाउने, भैरहवाको आईसीपीको काम सुरु गर्ने र अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय साझेदारीका विषयमा छलफल भएको पनि उल्लेख छ ।

विज्ञप्तिमा नेपालले भारतलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को विस्तारित संरचनामा स्थायी सदस्य बन्न समर्थन गर्ने र भारतले अनुदानसहित पशुपतिनाथ क्षेत्रको वाग्मती नदीपट्टिको सम्पदा क्षेत्रको विकास र पाटन दरबार क्षेत्रको भण्डारखाल बगैंचाको पुनर्निर्माणको जिम्मा लिने चाहना राखेको पनि उल्लेख छ ।

भारतीय समकक्षी जयशंकरसँगको भेटमा मन्त्री ज्ञवालीले ईपीजीको प्रतिवेदनको विषय पनि उठाएउनु भएको बताइन्छ । त्यसलाई भारतीय पक्षले सकारात्मक रूपमा लिए पनि ठोस जवाफ भने नदिएको नेपाली पक्षको भनाइ छ । मन्त्री ज्ञवालीले आयोगको बैठकलगत्तै भएको एक कार्यक्रममा ईपीजी प्रतिवेदन बुझ्न भारतीय पक्षले गरेको ढिलाइप्रति भने असन्तुष्टि पोख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…