कसरी आयो देउवाको ‘ट्युनिङ’ मा बदलाव ?

- नरेश न्यौपाने
काठमाडौं । नेपाली कांग्रेसका अधिकांंश नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचित प्रतिनिधिसभा विघटन गरिदिएपछि आपत्ति जनाउँदै पुन:स्थापनाका लागि सशक्त आन्दोलन गर्नुपर्ने बताइरहेका बेला सभापति शेरबहादुर देउवा भने ओलीले नै घोषणा गरेको मध्यावधि निर्वाचनमा होमिनुपर्ने बताइरहेका थिए । असंवैधानिक र अलोकतान्त्रिक रुपमा भएको संसद विघटनको विरोध गर्नुपर्ने र त्यसका लागि सिंगो पार्टीलाई संघर्षमा होम्नुपर्ने बेलामा देउवाले प्रधानमन्त्रीकै कदमलाई राहत मिल्ने गरी अभिव्यक्ति दिएपछि उनकै पार्टी पंक्ति र बाहिरबाट समेत उनको आलोचना भइरहेको थियो ।
तर केही दिनअघि पार्टीले आयोजना गरेको एक कार्यक्रमका लागि पर्वत पुग्नुभएका सभापति देउवाले आफ्नै पूर्व अभिव्यक्ति विपरीत प्रधानमन्त्रीको कदम र त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेल्नुभएको भूमिकाबारे कडा शब्दमा विरोध जनाएका छन् । प्रतिनिधिसभा विघटनको रिट अदालतमा विचाराधिन रहेको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले अदालतलाई निर्देशन दिन थालेको भन्दै देउवा ओलीमाथि खनिन थालेका हुन् । त्यसअघि भने प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको बताए पनि उनले ओलीले घोषणा गरेको निर्वाचनकै पक्षमा बोलिरहेका थिए ।
उसो त देउवाले पछिल्लो पटक प्रधानमन्त्रीको कदमबारे आक्रामक बोल्न थालेका मात्रै छैनन्, पार्टीले शनिवार (आज) देशभरका पालिकाहरुमा गर्न लागेको विरोधसभामा व्यापक उपस्थितिका लागि पार्टी कार्यकर्ता र अन्य लोकतन्त्रवादीहरुलाई अपील पनि गरेका छन् । विज्ञप्ती नै निकालेर आजको कार्यक्रममा सहभागिता जनाइदिन देउवाको आग्रह पनि छ ।
देउवाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ , ‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ र पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु ।’
कसरी आयो देउवाको ‘ट्युनिङ’ मा बदलाव
संसद विघटनको विषय अदालतले टुंग्याउनुपर्ने, अदालतलाई कसैले अनुचित दबाब दिन नहुने र प्रधानमन्त्री ओलीले घोषणा गरेको निर्वाचनमा कांग्रेसले सहभागिता जनाउने आशयका अभिव्यक्ति दिने गरेका देउवाको ‘ट्युनिङ’ मा कसरी अचानक बदलाव आयो ? आश्चर्यको विषय बनेको छ ।
आफ्नै पार्टीभित्र र बाहिरसमेत प्रधानमन्त्रीसँग साँठगाँठ रहेको हुनसक्ने अनुमान जारी रहेकै बेला देउवा अकस्मात कसरी आक्रामक बनेर आए ? यसमा मुख्यतया: दुई कारण छन् । दुइमध्ये पहिलो हो, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहसँगको बैठक र त्यहाँ नेकपाका तर्फबाट आएका प्रस्ताब । देउवा नेकपा विभाजन भएमा पार्टीले बहुमत ल्याउने र आफूलाई पाचौं पटक प्रधानमन्त्री बन्ने मौका मिल्ने आँकलन गरिरहेका छन् ।
स्रोतका अनुसार देउवाको मनशाय राम्ररी बुझेका दाहाल-नेपालले ‘नेकपा विभाजन भयो भने केवल तपाइँकै भूमिकाका कारण हुने बताएपछि देउवा झस्केको बताइन्छ । साथै संसद पुन:स्थापनाका लागि साथ दिने हो भने देउवालाई आफूहरुले सहयोग गर्नसक्ने नेकपाका नेताहरुले विश्वास दिलाएपछि देउवाको ‘मुड’ परिवर्तन भएको देखिन्छ ।
त्यस्तै देउवाले कार्यकर्तालाई संसद विघटनविरुद्द संघर्षमा जुट्न सबैलाई आह्वान गर्नुको अर्को कारण हो, पार्टीको असहयोग, केन्द्रिय कार्यसमितिको संघर्षमा जाने निर्णय र प्रधानमन्त्रीसँग समेत साठगाँठ गरेको आरोप । प्रधानमन्त्रीले गरेका केही राजनीतिक नियुक्तिमा पार्टी सभापतिको संलग्नता रहेको हुनसक्ने भन्दै केही नेताहरुले उनको आलोचना गरिरहेका छन् ।
उता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पार्टीका प्रभावशाली युवा नेताहरु संसद विघटनविरुद्द कडा रुपमा प्रस्तुत हुन थालेपछि पनि देउवालाई ओलीलाई साथ दिन धर्मसंकट परेको देखिन्छ । नेपाली कांग्रेसका एक केन्द्रिय सदस्य भन्छन्, ‘ पछिल्लो समय सिंगो पार्टीलाई संसद विघटनको विरुद्दमा उभ्याउनै पर्ने बाध्यता र आगामी दिनमा मिलेर गए सहयोग गर्ने नेकपाको दाहाल-नेपाल समूहको आश्वासनका कारण देउवा ओली कदमको विपक्षमा खरो उत्रिन लागेका हुन सक्छन् ।