भारतमा एकैदिन एक लाख ९१ हजार बढीले कोरोना खोप लगाए

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु भएको छ ।
शनिबार पहिलो दिन नै करिब दुई लाख जनाले खोप लगाएका छन् । त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीले खोप लगाएको जनाएको छ । पहिलो दिन खोप लगाउन तीन हजार ३५१ शिविर चलाइएको थियो । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का सफाइ कर्मचारी मनीष कुमारलाई पहिलो खोप दिइएको थियो ।
भारतले दुई वटा खोप कोविशिल्ड र कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
भारतले आफ्नो खोप अभियान संसारकै सबैभन्दा ठूलो र वृहत भएको दाबी गरेको छ । पहिलो दिन सबैभन्दा बढी उत्तर प्रदेशमा मात्र २१ हजारभन्दा बढीले खोप लगाएका छन् । त्यस्तै मध्यप्रदेशमा पनि १८ हजारभन्दा बढीले खोप लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
राजधानी दिल्लीमा भने ८१ जनालाई मात्र यो खोप दिइएको छ । यस्तै चन्डीगढमा चार, गोआमा सात र दाद्रामा एक जनालाई खोप दिइएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयले यो खोप लगाएका कोही पनि व्यक्तिलाई अस्पताल भर्ना गर्न नपर्ने दाबी गरेको छ । तर, दिल्लीमा खोप लगाउने केही व्यक्तिलाई एलर्जीको लक्षण देखिएको बिबिसीले जनाएको छ ।