भारतमा काेराेना खाेप लगाएका ५२ जनाकाे स्वास्थ्यमा समस्या, एककाे अवस्था गम्भीर

काठमाडौं । काेराेनाविरूद्धकाे खाेप लगाएका ५२ जना भारतीयकाे स्वास्थ्यमा समस्या देखिएकाे छ । शनिवारबाट शुरू गरिएकाे काेराेनाविरूद्धकाे खाेप लगाएका ५२ जनाकाे स्वास्थ्यमा समस्या देखिएकाे हाे । समस्या देखिएका मध्ये एक जनाकाे अवस्था गम्भीर रहेकाे भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।
पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना खोप दिइएको थियो । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको बताइएकाे छ । राजधानी नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । तीमध्ये ४ हजार ३ सय १९ जना कर्मचारी थिए । तिनै कर्मचारी मध्ये ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हाे ।
पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको जनाईएको छ । भारतीय स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७ सय ७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको अवस्था गम्भीर देखिएकाे बताइएकाे छ । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ – कोभिसिल्ड र कोभ्याक्सिन । अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपको भारतीय संस्करण कोभिसिल्ड हो । यो खोप भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । कोभ्याक्सिन भारत बायोटेकले विकास गरेको कोरोना खोप हो ।