सर्वदलीय छलफलका लागि निर्वाचन आयोगले बोलायो सबै दलका प्रतिनिधि

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय छलफलका लागि सबै दलको प्रतिनिधि आयोगमा बोलाएको छ । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको छ ।
आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा (माले), नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएर निर्वाचन हेर्ने दुई–दुई जना प्रतिनिधि पठाइदिन पत्राचार गरेको छ ।