Logo फाल्गुन १८, २०७७ मंगलबार


दुनियाँमा भूत साँच्चिकै छ कि मान्छेको मनमा मात्र ?

–अम्बिका खड्का

आजको समयमा पनि साँझ पर्न थालेपछि हामीलाई भूतको डर लाग्न थाल्छ । बोली नफुट्दै, कुरा बुझ्न नथाल्दै, खुट्टाले आफ्नै ज्यान थाम्ने नहुँदै हामीलाई डर देखाउनु पर्दा ‘भूत आयो भूत’ भन्ने गरियो । त्यहि बेलादेखि भूत भन्ने कुनै डरलाग्दो मान्छे, जनावर वा कुनै चिज होला भन्ने छाप हाम्रो दिमागमा हाम्रौ घर परिवारबाट छापिदियो । परिणाम फिल्ममा, टेलिभिजनमा, तस्बिरमा बाहेक वास्तविक जीवनमा कहल्यिै नदेखेको भूतसँग हामीलाई सँधै डर लागिरह्यो ।

आफै ढोका बन्द हुनु, कुर्सि हल्लिनु, केही देखे जस्तो लाग्नु तर नहुनु, कोही बोले जस्तो रोए जस्तो लाग्नु तर कोही नहुनु, आफ्नो पछाडि केही हिँडे जस्तो लाग्नु, मृत्यु भइसकेको मान्छे देखे जस्तो लाग्नु, ऊ कतै हाम्रौ वरिपरि छ कि भन्ने भान हुनु आदि भूतसम्बन्धी हाम्रा विश्वास हुन् । अधिकांश भूतका कथा,फिल्म र नाटकमा यस्तै दृश्य देखाइन्छन् । यस्तै केही डरलाग्दा, केही रहस्यमय, असाधारण र अविश्वसनीय घटना भयो भने ‘भूतले तर्साएको’ मानिन्छ ।

ढुंगे युगबाट आज हामी विज्ञान र प्रविधिको युगमा आइपुग्दा समेत हामीलाई भूतले तर्साउन छोडेको छैन । हामी पढेलेखेका भयौँ, संसार बुझ्ने भयौँ, हाम्रो हातमा क्षणभरमा विश्वका खबर पत्ता लगाउन सक्ने साधन र प्रविधि छन् । केही बेरमै विश्वको एउटा कुनाबाट अर्को कुनामा पुग्न सक्ने क्षमता छ तर मनको एउटा कुनामा भने भूतको डर सँधै रहिरहेको छ ।

किन विश्वास गर्छन मानिस भूतप्रेतमा ?

भूतप्रेतमा विश्वास गर्ने धेरै कारणहरु छन् । भूतमा विश्वास गर्ने हामी र हाम्रो देश मात्र होइन । विश्वभरका अधिकांश देशका प्राय मानिस भूतप्रेत र आत्मामा विश्वास गर्छन् । सन् २०१३ मा हेरिस पोलले अमेरिकाका ४३ प्रतिशत मानिस भूतप्रेत र आत्ममा विश्वास गर्ने तथ्य पत्ता लगाएका थिए ।

हाम्रो परम्परा, संस्कार, भूगोल, मूल्यमान्यता र डर नै भूतप्रेत माथि विश्वास गर्ने मुख्य कारण हुन् । बच्चा अवस्थामा नै घरपरिवारबाट भूत भनेर डर देखाउने प्रचलन प्राय समाजमा छ । यसले मनोवैज्ञानिक रुपमा मानिस ठूलो भएर बुढो भइसक्दा पनि भूत भनेपछि डर पैदा हुन्छ । समाजको मूल्यमान्यताले पनि भूतप्रेत र आत्मामा विश्वास गर्छन् । प्राय मानिसलाई मान्छेको भौतिक शरीर मरेर गएपनि आत्मा भने जिवित हुन्छ भन्ने विश्वास छ । मृत मानिसको आत्मा कुनै न कुनै रुपमा यहि वरिपरी रहिरन्छ भन्ने मान्यता छ । त्यसैले मान्छे भन्ने पनि गर्छन् कि सहज रुपमा मरेको मानिसको आत्माले शान्ति पाउँछ र उसले मानिसलाई केही असर गर्दैन । तर जो असहज र असमायिक रुपमा मरेको छ उसको आत्म सँधै भौतारिरहने र भूतप्रेत भएर दुख दिने विश्वास पनि गरिन्छ । त्यसैगरी केही वैज्ञानिक कारणबाट हुने भ्रमलाई पनि मानिसले भूत सम्झने अन्धविश्वासका कारण पनि भूतप्रतिको विश्वास घट्न सकेको छैन ।

भूतका विषयमा वैज्ञानिहरुले हालसम्म कुनै भौतिक ठोस प्रमाण भने जुटाउन सकेका छैनन् । त्यसको फाइदा लिएर मानिसले भूतप्रतिको विश्वास अझ गाढा बनाइरहेका छन् । भूत सम्बन्धि चलचित्र, टेलिश्रृंखला, नाटक, पुस्तक लगायत निर्माण गरी बिक्री वितरण गरिन्छ । यसले मानिसमा भूतप्रतिको विश्वासलाई अझ मजबुत गराईरहेको छ । स्वभाविक रुपमा हुने कतिपय क्रियाकलापलाई भूत भनेर भ्रममा पर्न यस्तो चलचित्र तथा पुस्तकहरुले थप सहयोग पुर्याइरहेका छन् ।

विज्ञानले के भन्छ ?

भूतका विषयमा युगौंदेखि अनुसन्धान भइरहेका छन् । भूत हुन्छ भन्ने कुनै भौतिक ठोस प्रभाण भने अहिलेसम्म कसैले पत्ता लगाएको पाइएको छैन । बरु भूतका विषयमा मान्छेले भन्ने गरेका अनेक कहानीमा विज्ञानले भ्रम मात्र हो भनेर धेरै कुरा पत्ता लगाएको र प्रमाणित गरेको छ ।

जस्तै मानिसले राति खोलाको छेउमा भूतले आगो बालेर हिँडेको र माथिसम्म उडेको देख्नेहरु बताउँछन् । त्यसलाई राँके भूत भन्ने चलन पछि छ । राँके भूत आउँछ भनेर मानिस रातिको समयमा खोलातिर हिँड्न डराउने पनि गर्छन् । तर यो तथ्यलाई विज्ञानले गलत सावित गरिदिएको छ । नेपाल लगायतका केही देशमा खोलाको छेउमा मान्छे जलाउने वा गाड्ने परम्परा छ । मानिसको गिदि र मांसपेसी सड्दै गएपछि त्यसबाट फस्फोरस निस्कन्छ जुन फोस्मिन नामक ग्यासमा मिसिएर जमिन बाहिरको अक्सिजनमा मिसिन पुग्दा त्यहाँ आगो उत्पन्न हुन्छ । त्यो हावाका कारण विस्तारै चारैतिर फैलने अर्थात उड्ने हुन्छ । दिउँसोको समयमा उज्यालो हुने हुँदा यस्तो नदेखिने र जति राति भयो अँध्यारोका कारण यस्तो आगो जस्तो उडेको देखिने हुन्छ । मान्छेहरु यसलाई नै राँके भूत भनेर विश्वास गर्छन् ।

यो तथ्य जस्तै मान्छेले भूत भनेर विश्वास गर्ने गरेको धेरै तथ्यलाई विज्ञानले भ्रम भनेर सावित गरिदिएको छ । विज्ञानले भूत पत्ता लगाउन गरेका प्रयासबाट नै यस्ता तथ्यहरु पत्ता लाग्दै गएको हो ।

वैज्ञानिकहरुले न्यूरोसाइन्सको पनि मदद लिइरहेका छन् । । असामान्य परिस्थितिमा कतिपटक हाम्रो आँखाले फरक ढंगबाट व्यवहार गरिदिन्छ । कम उज्यालोमा आँखाको रेटीनल रड कोशिकाहरु सक्रिय हुन्छन् । यस्तोमा अलिकति परिवर्तित दृश्य देखिन्छ । विशेषज्ञहरुका अनुसार “आँखाको नानीलाई निकै छड्के पारेर हामीले कुनै चलायमान दृश्यलाई हेर्यौं भने दृश्य सफा हुँदैन । त्यस्तोमा कालो र सेतो रंग मात्र देखिन्छ । यसको मतलव के हो भने रड कोशिकाहरुले रंग देख्न सक्दैनन् । यस्तो अवस्थामा हाम्रो मस्तिष्कले भने सूचनाको अभावलाई पूर्ति गर्ने कोशिस गर्छ । त्यसैले दिमागले उक्त सूचनालाई कुनै तार्किक जानकारीमा बदल्ने कोशिस गर्छ । त्यस्तो बेला हामीलाई कुनै विचित्र दृश्य देखेको भ्रम पैदा हुन्छ । र, कतिपय अवस्थामा हामी त्यसैलाई भूत भनेर भन्ने गर्छौं ।”

यस्तो दृश्य देखेपछि व्यक्तिको मनभित्र केही समयका लागि हलचल शुरु हुन्छ । सास छिटो छिटो चल्न थाल्छ र धड्कन बढ्न थाल्छ । शरीर निर्वल भएको महसुस बन्न थाल्छ । केही व्यक्तिलाई अत्याधिक डर लाग्ने पनि हुन्छ । यो सबै मस्तिष्कमा हुने न्यूरोट्रान्समीटर जिम्मेवार रहेको वैज्ञानिकहरुको तर्क छ ।

भूत खोज्न ‘घोस्ट क्लब’

क्याम्ब्रिज र अक्सफोर्ड लगायत प्रतिष्ठित विश्वविद्यालयमा भुतप्रेत सम्बन्धी प्रमाण खोज्नका लागि एक पटक एउटा ‘घोस्ट क्लब’ स्थापना भएको थियो । क्लबमा इलेनोर सिड्गविक नामकी अनुसन्धानकर्ता महिला थिइन् । उनीहरुले धेरै अनुसन्धान गरे । तर उनीहरुको भूतसम्बन्धी प्रमाण जुटाउने सबै प्रयास असफल भयो । अर्थात उनीहरुले भूतप्रेतबारे कुनै पनि भौतिक प्रमाण फेला पार्न सकेनन् ।

त्यसैगरी अमेरिकामा १८०० को उत्तरार्धमा धेरै मानिसले आफू मृत आत्मासँग कुरा गर्ने गरेको दाबी गर्थे । तर पछि हेरी हौडिनी जस्ता अनुसन्धानकर्ताहरुले उनीहरुलाई झुटा सावित गरे । समाजवादी डेनिस र मिशेल वास्कुलले सन् २०१६ मा आफ्नो पुस्तक ‘घोस्टली इन्काउन्टर, द हन्टिङ अफ एभ्रीडे लाइफ’ का लागि भूतअनुभवकर्तासँग अन्तर्वार्ता लिएका थिए । त्यस अन्तर्वार्तामा अधिकांश सहभागीले भूतलाई प्रत्यक्ष रुपमा देखेको भने पक्का नभएको बताएका थिए । उनीहरुलाई भ्रम भएको थियो भन्ने कुरा अन्तर्वार्ताबाट पत्ता लागेको थियो ।

विज्ञानले मानिसको व्यक्तिगत अनुभवलाई ठूलो कुरा मान्दैन । विज्ञानले मानिसको अनुभवलाई ठूलो कुरा मान्दैन । उसले त तथ्य र प्रमाण खोज्छ । अर्कोकुरा अहिलेसम्म विज्ञानले जति कुरा पत्ता लगायो मानिसको भूतप्रतिको विश्वासमा अधिकांश भ्रम छन् । अहिलेसम्म भूतप्रेत छ वा छैन भन्ने कुरामा विज्ञानले कुनै ठोस भौतिक प्रमाण जुटाउन नसकेकै कारण मानिसले त्यसको फाइदा उठाइरहेका छन् । भूतको नाममा मानिसले मानिसकै डरलाई व्यापार बनाइरहेको मात्रै हो कि भन्ने आशंका व्याप्त छ । तर पनि भूतको डरले मानिसको मनमा यसरी जरा गाडेको छ कि भूत छैन भन्ने लाग्दा लाग्दै पनि डर लागिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नरेश न्यौपाने/टिप्पणी काठमाडौं । हुन त राजनीतिलाई विचित्रको खेल त्यसै कहाँ भनिएको हो र ? बेला बेला राजनीतिकर्मीहरुले गर्ने व्यक्तिगत…

हाल प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ।

खानपिनमा खर्च हुनेछ। पूरानो धन जम्मा हुनेछ। बाेलीले साथ दिनेछ।

मन्त्री गुरुङले प्रधानमन्त्री ओली नैतिकताको हिसाबले पनि राजीनामा गरेर भाग्न नपाउने तर्क गर्नुभयो ।

मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको छ ।

आफू हरेक परिस्थितिको सामना गर्न पूर्ण रुपमा तयार रहेको तथा आफ्नो स्वभाव, आचरण पूर्ण लोकतान्त्रिक भएको उहाँकाे दाबी छ।