नाडेप लघुवित्तका सञ्चालक समितिका अध्यक्षसहित ७ जना कारबाहीमा

हरिशरण न्यौपाने
काठमाडाैं । नेपाल राष्ट्र बैंकले नाडेप लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षसहित ६ जना र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । लाखौं रुपैयाँको आर्थिक अनियमितता गरेको र व्यवस्थापन चुस्त दुरुस्त पार्न नसकेको भन्दै संस्थाका संचालक एवं व्यवस्थापन समूहका पदाधिकारी कारबाहीमा परेका हुन् ।
नेपाल राष्ट्र बैंकले धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको ‘घ’ वर्गको इजाजत प्राप्त नाडेप लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बरप्रसाद आचार्यसहित ६ जना र प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई कारबाही गरेको छ । राष्ट्र बैंकले सञ्चालक समितिका सदस्यहरु वेदप्रसाद सिवाकोटी, हरिकृष्ण सुवेदी, विनोदकुमार शर्मा, सोफिया आचार्य(नेपाल), विवेक कँडेल र सीइओ उपेन्द्रबहादुर कार्कीलाई कारबाही गरेको हो ।
आर्थिक अनियमितता गरेको, केन्द्रीय कार्यालयमा उपस्थित नभई हाजिर जनाएको लगायतका कैफियतका कारण सञ्चालक समितिका अध्यक्ष एवं सदस्यहरु र उच्च व्यवस्थापन समूहका जिम्मेवार व्यक्तिहरुलाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले आर्थिक अनियमितता गरेको रकम असुलउपर गरी कारबाही गरेको हो । कारबाहीअनुसार प्रमुख कार्यकारी अधिकृत कार्कीले केन्द्रीय कार्यालयमा उपस्थित नभइ काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरी कार्य गरेको, संस्थाको व्यवस्थापन चुस्त दुरुस्त राख्न नसकेको, कर्मचारीलाई पक्षपातपूर्ण व्यवहार गरेको, संस्थाका सदस्य शेयरधनी लगायत सम्बद्ध पक्षको अहित हुने काम गरेको लगायतका कमीकमजोरी गरेको पाइएको छ ।
यसैगरी व्यवस्थापकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले दिएको निर्देशन कार्यान्वयन नगरेको, अदालतको आदेशको अवहेलना गरेको पनि उल्लेख गरिएको छ । सीइओ कार्कीले नाडेपका कर्मचारीलाई आस्थाका आधारमा बर्खास्त गरेको विगत १६ महिनादेखि तलब, सुबिधा नदिएको, श्रम कार्यालय हेटौंडाले रोकिएको तलब सुबिधा दिन र अनावश्यक सरुवा बदर गर्न एवं द्विपक्षीय सम्झौता कार्यान्वयन गर्न दिएको निर्देशनको पनि पालना नगरी अटेर गरेको पनि भेटिएको छ ।
राष्ट्र बैंकले पुस २२ को पत्र काटेर राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम कारबाही गरेको हो । यता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति अर्थात् एक्विजिशन गर्नको लागि पुस १५ गते सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । डिप्रोक्सले नाडेपलाई प्राप्ति गर्ने भएपछि नाडेपको शेयर कारोबार रोक्का भएको छ ।