जनता समाचारमा आइतवार प्रकाशित समाचार सार जनता समाचार प्रकाशित मिति : माघ ४, २०७७ आइतबार जनतासमाचार डट्कममा आज (आइतवार) प्रकाशित समाचारका मुख्य अंशहरू : १.संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले प्रतिनिधिसभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने दाबी गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइमा बहस गर्दै उहाँहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्नुभएको हो । प्रतिनिधिसभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने उहाँहरुले जिकिर गर्नुभएको छ । २.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र र मण्डले पथ अवलम्बन गरेको बताउनुभएको छ । अनेरास्ववियुले आइतबार काठमाडौंमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले संविधानको मर्म विपरित प्रतिनिधिसभा विघटन गरेर पूर्वराजा ज्ञानेन्द्र र मण्डलेले लिएको बाटो समातेको टिप्पणी गर्नुभएको हो । ओलीको कदमका कारण मुलुक अन्धकारतर्फ उन्मुख भएको उहाँको भनाइ थियो । ३.गृहमन्त्री रामबहादुर थापाले संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताउनु भएको छ । नेकपाले आज धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब निर्वाचनका लागि सबै तयार हुनुपर्ने बताउनु भएको हो । ४.अधिवक्ता सन्ताेष भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएकाे बताउनुभएकाे छ । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आइतवार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताउनुभएको हाे । ५.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान र देशको तनाव भइरहँदा आफू हाँस्न नसक्ने बताउनुभएको छ । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय कमिटीको दाेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताउनुभएको हो । ६.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीकै कारण पार्टीमा विग्रह आएको र सडकमा आउनु परेको बताउनुभएको छ । जिल्ला भेलालाई सम्बोधन गर्न बाँके आइपुग्नुभएका नेता नेपालले आम कार्यकर्ता र नेताहरुलाई ओलीको प्रगिमनकाविरुद्ध सडकमा आउनु परेको खण्डमा तयार रहन आव्हान गर्नुभएको हो । ७.निर्वाचन आयोगले सर्वदलीय छलफलका लागि सबै दलको प्रतिनिधि आयोगमा बोलाएको छ । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचनका बारेमा छलफल गर्न सबै दलका दुई दुई जना प्रतिनिधि पठाइदिन आयोगले सबै दलमा पत्राचार गरेको छ । ८.नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नम्वर २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन आइतवार आयोजित श्रद्धाञ्जलिसभामा उहाँले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने स्पष्ट गर्नुभयो। ९.प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु हुनेछ । १०.यतिबेला २०७६ को साउन ४ गते धुलिखेलको एक कार्यक्रममा संसद विघटनबारे संवैधानिक व्यवस्था नरहेको बताएका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेको छ । भिडियो ‘भाइरल’ नबनोस् पनि कसरी ? उतिबेला संसद विघटनबारे संविधानमा व्यवस्था नै नभएको बताएका नेम्वाङ आज आफ्नै भनाइको खण्डन हुने गरी संसद विघटनका कडा पक्षपाती बनेर निस्किएका छन् । ११.काठमाडाैं उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पठनपाठन सुरु हुने भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् । १२.नेपालको आरोहण टोलीले विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेका छन् । ८ हजार ६ सय ११ फिट उचाइ रहेको छोगोरी समेत भनिने केटु पर्वत पाकिस्तान र चीनको सीमामा अवस्थित छ । नेपालका छाङदावा शेर्पा नेतृत्वको आरोही टोली पहिलोपटक केटु पर्वत आरोहण गरेर कीर्तिमान राख्न सफल भएको हो । टोलीमा १० सदस्य रहेका थिए । शेर्पाको टोली शनिवार स्थानीय समय अनुसार साँझ ५ बजे केटु पर्वतको शिखरमा पुग्न सफल भएको थियो । १३.भारतमा कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु भएको छ । शनिबार पहिलो दिन नै करिब दुई लाख जनाले खोप लगाएका छन् । त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीले खोप लगाएको जनाएको छ । पहिलो दिन खोप लगाउन तीन हजार ३५१ शिविर चलाइएको थियो । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का सफाइ कर्मचारी मनीष कुमारलाई पहिलो खोप दिइएको थियो । १४.परापूर्वकालदेखि नै मानिसहरुले दैनिक जीवनमा काठको उपयोग गर्दै आएका छन् । पुराना मठमन्दिर र त्यसमा कलात्मक ढंगबाट कुँदिएकासुन्दर काष्ठ कलाहरु त्यसका बलिया उदाहरण हुन् । घरमा प्रयोग हुने अधिकांश वस्तु जस्तै झ्याल ढोका, चौकोस आदि काठकै बनाइन्छ । १५. प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा पुन: सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो । १६.कोभिड १९ को कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका काठमाडौंं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । कोभिड १९ संक्रमणको कारण गत चैत्र ११ गतेदेखि लकडाउन भएपछि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै उपस्थित भई विद्यालय सञ्चालन भएका हुन् । १७.काेराेनाविरूद्धकाे खाेप लगाएका ५२ जना भारतीयकाे स्वास्थ्यमा समस्या देखिएकाे छ । शनिवारबाट शुरू गरिएकाे काेराेनाविरूद्धकाे खाेप लगाएका ५२ जनाकाे स्वास्थ्यमा समस्या देखिएकाे हाे । समस्या देखिएका मध्ये एक जनाकाे अवस्था गम्भीर रहेकाे भारतीय समाचार माध्यमहरूले जनाएका छन् । १८.कैलाली टीकापुरकी रुपा ओलीका दुई सन्तान छन् । रुपाका छोरा १६ र छोरी १४ वर्षका छन् । उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको शहर दुबइमा रहेका छन् । निजी विद्यालयकी शिक्षिका रुपाले छोराछोरी दुवैलाई घरमा गर्नुपर्ने काममा समान व्यवहार गरिरहेकी छिन् । १९.आजको समयमा पनि साँझ पर्न थालेपछि हामीलाई भूतको डर लाग्न थाल्छ । बोली नफुट्दै, कुरा बुझ्न नथाल्दै, खुट्टाले आफ्नै ज्यान थाम्ने नहुँदै हामीलाई डर देखाउनु पर्दा ‘भूत आयो भूत’ भन्ने गरियो । त्यहि बेलादेखि भूत भन्ने कुनै डरलाग्दो मान्छे, जनावर वा कुनै चिज होला भन्ने छाप हाम्रो दिमागमा हाम्रौ घर परिवारबाट छापिदियो । परिणाम फिल्ममा, टेलिभिजनमा, तस्बिरमा बाहेक वास्तविक जीवनमा कहल्यिै नदेखेको भूतसँग हामीलाई सँधै डर लागिरह्यो । २०.सरकारले पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । सरकारले मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी दुगडलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार (अवैतनिक) पदमा नियुक्त गरेको हो । २१.राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । २२. नेपाल राष्ट्र बैंकले नाडेप लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्षसहित ६ जना र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । लाखौं रुपैयाँको आर्थिक अनियमितता गरेको र व्यवस्थापन चुस्त दुरुस्त पार्न नसकेको भन्दै संस्थाका संचालक एवं व्यवस्थापन समूहका पदाधिकारी कारबाहीमा परेका हुन् । २३. इलाम नगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गरिरहेको छ । महिनावारी भएको समयमा पनि विद्यालयमा छात्राहरु विद्यालय जानबाट बञ्चित नहुन भनेर नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको हो । २४.जीपको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–१, बलभद्रबस्ती सुकुम्बासी शिविर बस्ने दिलु सार्कीको १३ वर्षीया छोरी सुस्मिता सार्कीलाई जीपले ठक्कर दिँदा उनकाे मृत्यु भएको हो। धनगढीदेखि बेलौरी जान लागेको को १ च ८२७८ नम्बरको बोलेरो जीपले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । २५. विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओले नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमणले सन् २०२१ झन् कष्टकर हुने चेतावनी दिएको छ । कोरोनाभाइरसको नयाँ प्रकार पहिलोभन्दा धेरै संक्रामक रहेको र छिटो फैलिरहेकाले यसले विश्वमा सन् २०२० भन्दा कठिन अवस्था ल्याउन सक्ने डब्ल्युएचओले चेतावनी दिएको हो । पहिलोपटक बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ । जनतासमाचार सार