आइचर दुर्घटनामा ३ को मृत्यु

साेलुखुम्बु । दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते हेटौंडाका २३ वर्षीय रमेश मगरलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।
दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।