नेकपा इटहरीद्वारा राँके जुलुस

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगरपालिकाले इटहरीमा राँके जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटनका विरुद्धमा नेकपाले साेमबार साँझ ५ बजे राँके जुलुस निकालेको हो ।
संसद विघटनको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रम गरिरहेको नेकपाले इटहरी पार्टी कार्यालयदेखि इटहरी चोक सम्म जुलुस निकालेको हो । सरकार विरोधी नारासहित नेकपाले निकालेको राँके जुलुसमा इटहरी उपमहानगरपालिका भित्रका पार्टीमा आबद्ध नेकपाका नेता तथा कार्यकर्ताको ठूलो सहभागीता रहेको थियो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको थियो । यही प्रतिगमनकारी कदमका विरुद्धमा नेकपाले देशभर विभिन्न आन्दोलनका कार्यक्रमहरु गरिरहेको छ ।
नेकपाको अहिले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु जारी छन् । प्रधानमन्त्रीले गल्ती सच्याएर संसद पुन: स्थापना नभएसम्म दबाब दिन निरन्तर आन्दोलन गरिरहने उनीहरूले चेतावनी समेत दिएका छन् ।