ललितपुर फुटबल संघका अध्यक्षको निलम्बन फुकुवा

ललितपुर । अखिल नेपाल फुटबल संघका (एन्फा) ललितपुरले जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । १९औं साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो ।
अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो । थापाले बुझाउनुभएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उहाँलाई कारवाही गरेको जनाइएको छ ।
एन्फा पदाधिकारीलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै अध्यक्ष थापालाई कारवाही गर्ने निर्णय गरेको थियो । आफूमाथि गरिएको कारवाहीका विरुद्ध थापाले राष्ट्रिय खेलकूद परिषद् (राखेप), विश्व फुटबल महासंघ (फिफा) र एशियाली फुटबल महासंघ (एएफसी) मा समेत उजुरी दिनुभएको थियो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले साधारणसभासम्मका लागि मात्र थापालाई निलम्बन गरिएको जानकारी दिनुभयो।