कोरोना संक्रमणबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

एजेन्सी । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । जानकारी अनुसार बेलायतमा हिजो बुधवार भाइरसको संक्रमणबाट यति धेरै नागरिकको ज्यान गएको हाे ।
बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको संक्रमणबाट शुरु भएदेखि अहिलेसम्ममा यतिधेरै जनाको एकै दिनमा ज्यान गएको यो पहिलो पटक भएको पनि बुधबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएका छन् ।
यसैगरी, बेलायतका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबारसम्ममा ९३ हजार २ सय ९० जनाको कोरोना भाइरसबाट नै निधन भएको बताइएको छ । उनीहरुले पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पनि बताएका छन् । बेलायतबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।
विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार भाइरस यो सातामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको छ । यसैगरी बेलायतमा बुधबारमात्र पनि ३८ हजार ९०५ जना नागरिकमा यो संक्रमण देखिएको छ । एकै दिनमा यति धेरै संख्यामा संक्रमित पाइएको पनि केही दिन यताको यो ठूलो संख्या हो ।
यो समेत गरी बेलायतमा कोभिड १९ का संक्रमितको संख्या पनि निकै बढेको छ । समाचारअनुसार यही बुधबारसम्ममा ३५ लाखभन्दा बढी नागरिकमा काेराेना संक्रमण पुष्टि भएकाे छ । विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको छ । यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ संक्रमण पनि बढ्दो रुपमा विश्वमा बढ्दै गएको बताइएको छ ।
बुधबार मात्र विश्व स्थास्थ्य संगठनले दिएको जानकारीअनुसार गएको एक साताभित्रमा मात्र करिब ९३ हजार जनाको यो भाइरसका कारण ज्यान गएको छ । गएको सात दिनभित्रमा विश्वमा कोरोना भाइरसका थप ४७ लाख जति सङ्क्रमितहरु थपिएका छन् । पछिल्ला दिनहरुमा संक्रमितहरु थपिने क्रम बढ्दै गएको छ ।
पछिल्लो समयमा यूरोपमा भित्रिएको खोपका कारण धेरै नागरिकमा आशा पलाएको छ । यूरोपेली यूनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न यूरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने जनाएकाे छ ।