बागमती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने

काठमाडौं । बागमती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल प्रारम्भ हुनेछ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बागमती प्रदेशका मुख्यमन्त्री पौडेल तथा नेकपा संसदीय दलका नेताहरुसँग गए राति गर्नुभएको छलफल पछि बैठक तय गरिएको हो । आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
प्रदेशसभाको कार्य परामर्श समितिको बैठकले बिहीवार बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेतासँग सहमति गर्न अनुरोध गरेको थियो । समितिको आग्रहअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गर्नुभएको सचिवालयका सचिव खड्काको भनाइ छ ।
प्रदेशसभाको सातौँ अधिवेशन बैठक गत माघ ७ गते दिउँसो सञ्चालन भई विभिन्न दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरिसकेपछि सभामुख श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।