‘भिजन एक्सलेन्स अवार्ड’द्वारा तीन जना नेत्र विशेषज्ञ सम्मानित

काठमाडाैं । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइत लगायतका दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाकाे विकास गरी अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेको कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्राडा रामप्रसाद पोख्रेल र डा गोपालप्रसाद पोख्रेल हनुहुन्छ । नेपाल नेत्रज्योति संघ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गर्नुभयो । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्राडा चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उहाँहरुको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताउनुभयो ।
सम्मानित डा सन्दुक रुइत तिलगंगा इन्ष्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुनुहुन्छ भने प्राडा रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति संघका संस्थापक मध्येका एक हुनुहुन्छ । त्यसैगरी डा गोपालप्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति संघका कार्यकारी सदस्य हुनुहुन्छ । उहाँहरु आँखा स्वास्थ्य क्षेत्रका मार्गदर्शक एवम् अगुवा हुनुहुन्छ।