नेकपा शक्ति प्रदर्शनमा ओलीको ‘सफ्ट’ आलोचना : कसले के भने ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध वृहत शक्ति प्रदर्शन गरेको छ । राजधानीमा भएको शक्ति प्रदर्शनमा सम्बोधन गर्ने अधिकाशं नेताले केपी ओलीको आलोचनामा समय खर्चिएका छन् । तर यस अघिका अन्य कार्यक्रमकाे तुलनामा नेताहरू केही नरम भएकाे देखिएकाे छ ।
प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयाे । उहाँले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी भएको भन्दै ओली नसच्चिएसम्म निरन्तर संघर्ष गरिरहेने बताउनुभयो । नेता खनालले सर्वोच्च अदालत र निर्वाचन आयोग दुवै हुकुमी शासनबाट आएको नभएर जनताले बनाएको संविधानद्वारा निर्मित भएकोले संसद पुन:स्थापना हुने र आधिकारिक नेकपा आफूहरुकै हुने बताउनुभयो ।
त्यसैगरी, नेकपालका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई भष्माशुरको संज्ञा दिँदै नझुक्ने बताउनुभयो। अध्यक्ष नेपालले केपी ओलीको वास्तविक नाम खड्ग भएको बताउँदै ओलीले संविधान र लोकतन्त्रमाथि खड्गनै प्रहार गरेको आरोप लगाउनुभयो । नेपालले पार्टीमा बराबरीको हैसियत दिइएको अध्यक्ष प्रचण्डलाई ओलीले कहिल्यै अध्यक्ष मान्न तयार नभएको बताउनुभयो । ओलीले दोस्रो अध्यक्षलाई उपाध्यक्षसरह व्यवहार गरेको नेपालको भनाइ छ । ओलीकै कारण देशको राजनीति आजको अवस्थामा आइपुगेको नेपालको भनाइ छ । करिब २२ मिनेट बोल्नुभएका नेपालले अधिकांश समय ओलीको आलोचनामा नै खर्च गर्नुभयो ।
त्यसैगरी, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीले संविधानलाई कोमामा पुर्याएर मान्छे हँसाउँदै हिँडेको बताउनुभयो। प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओलीको प्रवृत्ति रहेको दाहालको भनाइ छ । अध्यक्ष दाहालले ओलीलाई आफूहरुले तह लगाउन नसकेको र यसमा आफूहरुको पनि कमजोरी रहेको बताउनुभयो ।