एक दशकपछि पारित भयो पञ्चाङ्ग निर्णायक समिति गठन आदेश

काठमाडाैं । पञ्चाङ्ग निर्णायक समिति गठन आदेश मस्यौदा गरी पठाएको एक दशकपछि मन्त्रिपरिषदबाट पारित भएको छ । मन्त्रिपरिषद्को गत पुस २० गतेको बैठकले समितिको गठन आदेश पारित गरेको मन्त्रालयका संस्कृति शाखाप्रमुख दुर्गाप्रसाद पोखरेलले जानकारी दिनुभएकाे हाे ।
विधेयक समितिले गठन आदेश पारित गर्न पुस २ गते मन्त्रिपरिषदमा दर्ता गरेको थियो । समितिले आर्थिक वर्ष २०६७/६८ मा गठन आदेश मस्यौदा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा पेश गरेको थियो ।
अर्थ, कानूनलगायत मन्त्रालयको रायसुझाव लिई गठन आदेश पारितका लागि मन्त्रिपरिषदमा पेश भएको थियो । समितिका पूर्व अध्यक्ष प्राडा माधव भट्टराई सरकारले गठन गरेको समिति कसरी सञ्चालन गर्ने भन्ने नियम केही नभएकाले धर्म, संस्कृतिका क्षेत्रमा कार्यरत विज्ञसँग छलफल गरी त्यसैबेला मस्यौदा पठाएको बताउनुभयो । संस्कृतिसम्बन्धी विषय सरकारको प्राथमिकतामा नपर्ने गरेकाले पारित हुन समय लागेको उहाँले बताउनुभयो ।
गठन आदेश नभएकै कारण विसं २०७० मा बनेको गौतम नेतृत्वको समितिले नै काम गर्दै आएको डा रामचन्द्र गौतमले बताउनुभयो । समितिको गठन आदेश पारित भएसँगै केही प्रक्रिया पूरा गरी नेपाल राजपत्रमा प्रकाशन गरिने जनाइएको छ ।