अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई बीच गोप्य भेटवार्ता भएको छ । लैनचौरस्थित आज एक व्यक्तिको घरमा दाहाल र भट्टराईबीच भेटवार्ता भएको हो ।
उहाँहरुबीच प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलन र पार्टी एकीकरणको विषयमा छलफल भएको बताइएको छ । हाल अध्यक्ष दाहाल कम्युनिष्टलाई एक गर्ने अभियानमा लाग्नुभएको छ । यसैक्रममा आज उहाँले भट्टराईलाई भेट्नुभएको हो ।
आजको छलफल सकारात्मक भएको र यसबारे आ-आफ्नो पार्टीमा पनि छलफल गरिने बताइएको छ । उहाँहरुबीच वार्ता जारी रहने समेत बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उहाँहरु दुवैको पार्टी विरोधमा उत्रिएको छ । नेकपा र जसपा दुवै पार्टी संसद विघटनविरुद्ध आ–आफ्नै तरिकाले आन्दोलन गरिरहेका छन् ।