इजलासले खोजेपछि राजपत्रमा सूचना

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै बीचमा महान्यायाधिवक्ता अचानक किन हराए ?, पूर्व मन्त्री पुनद्वारा राष्ट्रिय दलित संग्रहालयको शिलान्यास, ग्लोबल बैंक नख्खुमा क्यूआरमार्फत नगदरहित कारोबार र सर्वोच्चले संसद पुन: स्थापना गर्छ– नेता खनाल लगायतका समाचार प्रकाशित गरिए ।
शनिवार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन् । पत्रिकाहरूमा संसद् पुन: स्थापनाको पक्षमा राजधानीमा प्रदर्शन, अब केपी शर्मा ओलीको सेटिङले देश चल्दैन: भुसाल, खोपको सहज पहुँच कहिले ? र इजलासले खोजेपछि राजपत्रमा सूचना लगायतका शीर्षकमा प्रमुख समाचार प्रकाशित गरिएका छन् ।
आजको नागरिक दैनिक मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति कार्यालयबाट पुस ५ मा स्वीकृत भएको सूचना जारी गरिए पनि राजपत्रमा सूचना प्रकाशित नगरिएको समाचारलाई प्राथमिकता दिइएको छ । इजलासले माग गरेपछि पुस ५ कै मिति राखेर माघ ९ को बिहान १० बजेर २९ मिनेटमा अनलाइन राजपत्रमा सूचना प्रकाशित गरिएको पत्रिकामा उल्लेख छ ।
बहसका क्रममा प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयबाट जारी सूचनाको विषयमा प्रश्न उठेपछि राजपत्रमा प्रकाशित गरी इजलासमा बुझाइएको छ । प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना इजलासबाट बिहीबार माग भएपछि सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो । सूचना महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबारको सुनुवाइमा इजलासमा बुझाएका छन् ।
समाचारमा लेखिए अनुसार सुनुवाइका क्रममा बिहीबार अधिवक्ता ओमप्रकाश अर्यालले विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित नहुनु अनधिकृत भएको टिप्पणी गर्नुभएको थियो । सूचना नै अनधिकृत भएकाले राष्ट्रप्रमुखले फिर्ता लिनसक्ने उहाँको दाबी थियो । त्यसपछि न्यायाधीश अनिलकुमार सिन्हाले सूचना प्रकाशित भएको राजपत्र महान्यायाधिवक्ताको कार्यालयमार्फत उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । सर्वोच्चमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शुक्रबार ९ जना कानुन व्यवसायीले बहस गरेको पनि समाचारमा लेखिएको छ ।
कान्तिपुर दैनिक ले खोपको सहज पहुँच कहिले ? शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारमा भारतले कोभिड–१९ को प्रतिरोधात्मक खोप उपलब्ध गराएसँगै ‘प्रारम्भिक खुसी’ सञ्चार भए पनि आम सर्वसाधारणको ध्यान ‘आफूले खोप कहिले लगाउन पाइएला ?’ भन्नेमा केन्द्रित भएको विश्लेषण गरिएको छ । सबैको सहज पहुँचका लागि केवल दुई विकल्प देखिएको र सरकारले नै आवश्यक मात्रामा खरिद गर्ने वा निजी क्षेत्रलाई पनि खोप आयात र बिक्री गर्न दिनेबारे शीघ्र निर्णय लिनुपर्ने समाचारको आशय छ ।
पत्रिकामा नेकपाको शुक्रवारको शक्ति प्रदर्शनमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्याउन नसकिएको बताएको समाचारलाई विषेश महत्वका साथ छापिएको छ ।
आजको नयाँ पत्रिका दैनिकले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएको समाचारलाई महत्वका साथ सम्प्रेषण गरेको छ । राजधानीमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले शुक्रवारको प्रदर्शन कास्टिङ मात्र भएको र फिल्म सुरु हुन बाँकी रहेको बताउनुभएको हो
वरिष्ठ नेता नेपालले प्रधानमन्त्री केपी ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र र पार्टीमाथि खड्ग प्रहार गरेको जिकिरगर्नुभएको पनि पत्रिकामा उल्लेख छ ।