गृहजिल्ला प्रवेशमा खेलकुद मन्त्रीको बाटो छेकिएपछि…

काठमाडौं । गृहजिल्ला सिन्धुपाल्चोक हिँड्नु भएका खेलकुदमन्त्री दावा तामाङलाई मेलम्चीबाट प्रवेश गर्न रोकिएको छ । कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला हिँड्नुभएका मन्त्री तामाङलाई इन्द्रावती गाउँपालिका-४ टाकुरेमा स्थानीयले रोकेका हुन् ।
बीच बाटोमै रूख ढालेर स्थानीयले गाडी प्रवेश गर्ने बाटो नदिएपछि मन्त्री तामाङ चार घण्टादेखि मेलम्ची बजारमा रोकिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल–माधव नेपाल समूहको पकड रहेको इन्द्रावतीमा केपी ओली समूहमा लाग्नुभएका गृहमन्त्री रामबहादुर थापा निकट मन्त्री तामाङलाई स्थानीयले दुख दिएका हुन् ।
उहाँ इन्द्रावती गाउँपालिका–५ स्थित ऐँसेलुखर्कमा कार्यकर्ता भेलालाई सम्बोधन गर्न हिँड्नुभएको थियो ।