करको मारमा विद्युतीय सवारीसाधन

काठमाडौं। कोरोना महामारीले व्यवसायमा असर पारिरहेका बेला सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महशुल दर बढाएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ।
चालु आर्थिक वर्षको ५ महिनामा विद्युतीय सवारीसाधन आयात गत आवको सोही अवधिमा भन्दा करिब ८८ प्रतिशतले घटेको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीसाधन खरिदमा क्षमताका आधारमा ३० देखि ८० प्रतिशतसम्म भन्सार महशुल र ४० प्रतिशतसम्म अन्तःशुल्क लगाउनुभएको थियो । त्यसअघि विद्युतीय निजी सवारीसाधन खरिदमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्थ्यो।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ३७ वटा चारपांग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्। गत आवको यही अवधिमा ३ सय १५ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए। चालु आवको पाँच महिनाको आयात गत वर्षको भन्दा ८८।२५ प्रतिशतले कमी हो। चालु आवको बजेट सार्वजनिक गरेका अर्थमन्त्री खतिवडाको सरकारबाट बर्हिगमनसँगै नयाँ अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधनको अन्तःशुल्क तथा भन्सार महशुल केही घटाउनुभएको छ । यसपछि छिटफुट रुपमा विद्युतीय सवारीसाधन आयात हुन थालेको छ।
अटोमोबाइल एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल सरकारले बजेट भाषणमार्फत विद्युतीय सवारीसाधनमा भारी कर लगाएसँगै यस्ता सवारीसाधनको आयात निकै घटेको बताउनुभयो । ‘चालु बजेटमा विद्युतीय सवारीसाधनमा कर बढाउने निर्णयकै कारण सवारीसाधनको आयातमा गिरावट आएको हो,’ उहाँले भन्नुभयो, ‘अघिल्ला वर्षहरूमा सस्तोमा खरिद गर्न पाएका ग्राहक अहिले महंगोमा विद्युतीय सवारीसाधन खरिद गर्न इच्छुक देखिएन।’
अध्यक्ष दुलालका अनुसार बजेटमा थपिएको करमध्ये मन्त्रिपरिषद् बैठकले गत असोज १५ मा विद्युतीय सवारीसाधनमा केही प्रतिशत कर हटाएको थियो। यसले पनि ग्राहक विद्युतीय सवारीसाधन खरिदप्रति उत्साहित भएनन्। ‘अघिल्ला वर्षको तुलनामा विद्युतीय सवारीसाधनको आयात अत्यन्तै न्यून छ,’ उहाँले भन्नुभयो, ‘अहिले आयात नगन्य जस्तै छ। सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा प्रोत्साहन गर्ने खालको नीति अवलम्बन नगरेसम्म आयात बढ्ने देखिँदैन।’ नागरिक दैनिकमा समाचार छ ।