सातै प्रदेशमा पुर्याइँदै कोराेना खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातै प्रदेशमा पुर्याइने भएको छ । सबै प्रदेशका भण्डारण केन्द्रमा आवश्यकताका आधारमा खोप वितरण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार खोप प्रदेश राजधानीबाट हरेक जिल्ला अस्पतालमा लगिँदै छ । त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । आगामी बुधबारदेखि नै खोप लगाउन सुरु गरिने मन्त्रालयको तयारी छ ।
पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने योजना छ । ७ प्रदेश र ७७ जिल्लामा गरी करीब ३ सय अस्पतालबाट पहिलो चरणको खोप लगाइनेछ । काठमाडौं उपत्यकामा १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिने मन्त्रालयले तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पहिलो खोप लगाएको १ महिना वा ४ हप्तापछि दोस्रो मात्रा दिइने जानकारी दिनुभयो । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने उहाँले बताउनुभयो ।
भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप देशैभरिका अस्पताललाई वितरण गर्न लागिएको हो । भारतले यही माघ ८ गते नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । ‘कोभिशिल्ड’ खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।