नेपालमा संवैधानिक राजतन्त्र फर्काउन भारत लाग्नुपर्छ : भारतीय पूर्वसचिव

काठमाडौं । भारतका एक जना पूर्व सचिवले नेपालमा संवैधानिक राजतन्त्र फर्काउन भारतले तयारी गर्नुपर्ने बताउनुभएको छ । पूर्व अतिरिक्त सचिव एस रमेशले नेपालमा चीनको प्रभाव रोक्न २०४७ सालको संविधान र संवैधानिक राजतन्त्र पुनःस्थापना गर्नुपर्ने बताउनुभएको हो ।
पूर्व अतिरिक्त सचिव रमेशले नेपालमा चीनको प्रभावलाई कम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुभन्दा राजसंस्थासहितको नयाँ विकल्पमा जानुपर्ने बताउनुभएको हो । नेपलामा राजसंस्था फार्काउने सम्बन्धमा अफगानिस्तानका र कम्बोडियाका राजाको उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ ।
पछिल्लो समय राजतन्त्र पुन:स्थापना मागसहितको आन्दोलनहरु देखिन थालेको बताउँदै नेपाली जनताले उठाएको मागलाई भारतले रोक्ने प्रयास गर्न नहुने रमेशको भनाइ छ ।
भारतीय अनलाइन संस्करण टेलिग्राफ इन्डिया डट्कममा छापिएको रमेशको लेखमा भनिएको छ, ‘राजसंस्था पुनःस्थापनाको लागि नेपालको राजपरिवारबाट हृदयेन्द्र उपयुक्त हुन सक्छन् । पूर्व राजा ज्ञानेन्द्र नागरिक रुपमा जीवन बिताइरहेका छन् र पूर्व युवराज पारसलाई नेपाली जनताले राजाको रुपमा हेर्न चाहेका छैनन् ।’
हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस रमेशको बुझाइ रहेको छ ।
चीनको आक्रामक कदम रोक्नका लागि धार्मिक कार्ड पनि अस्त्र हुन सक्ने र यसको नेतृत्व नेपाली कांग्रेस र राप्रपाले लिन सक्ने पनि लेखमा बताइएको छ ।
राजपरिवारसँग पारिवारिक नातासमेत भएकाले समन्वय गर्न करण सिंहलाई नेपाल पठाउनु पर्ने पनि लेखमा भनिएकाे छ ।