घरबाट भागेर हिँडेका देवर–भाउजू दुबैकाे मृत्यु

काठमाडौं । घरबाट भागेर निस्केका देवर–भाउजूको अस्पतालमा मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको हो ।
दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
‘भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।’ देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।
‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन्, खाँदा बिरामी परेँ भन्थे’, थापाले भन्नुभयो, ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’ प्रहरीका अनुसार दुबैको शव महाकाली अस्पतालमा राखिएको छ ।
शव परीक्षणपछि मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।