जनता समाचारमा आइतवार प्रकाशित समाचार सार जनता समाचार प्रकाशित मिति : माघ ११, २०७७ आइतबार जनतासमाचार डट्कममा आज (आइतवार) प्रकाशित समाचारका मुख्य अंशहरू : १.प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले अनुशासनको कारबाही गरेको छ । आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ओलीलाई अनुशासनको कारबाही गर्दै पार्टीको साधारण सदस्यता समेत नरहने गरी निश्कासन गरेको हो । २. प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ । प्रधानमन्त्रीले संवैधानिक इजलासमा बहस गरेका अधिवक्ताप्रति लक्षित गरी दिनुभएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य मानहानीको मुद्दा लिएर सर्वोच्च पुग्नुभएको हो । ३.नेपाल बार एसोसिएसनका ४ पूर्वअध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र विचारप्रति आपत्ति जनाएका छन् । बारका पूर्वअध्यक्षहरू हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै माघ ९ गते आफ्नो दलका पेसा व्यवसायीहरूको भेलामा प्रधानमन्त्री ओली अभिव्यक्त गर्नुभएको विचारप्रति आपत्ति जनाउनुभएको हो । ४.प्रतिनिधि सभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारितकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना माघ ५ गते मात्र प्रकाशित भएको भन्दै त्यसको आधिकारिकताका बारेमा छानविन गर्न माग गर्दै संवैधाकिन इजलासमा निवेदन परेको हो । ५.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका अपराधहरू छोप्ने काम गरेको दाबी गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई ओलीको जालसाँजी, षड्यन्त्र, धाँधली र तिकडममा सहयोगीको भूमिका नखेल्न पुनले आग्रह गर्नुभएकाे हाे । ६.आइतवार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन् । पत्रिकाहरूमा नेकपाका दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्ने, कानुनका विद्यार्थीको चिन्ता: अहिले प्रधानमन्त्रीको कदम सदर भए हरेक प्रधानमन्त्रीले संसद्को गला निमोठ्नेछन्, काउन्टर सभाको तयारीमा ओली समूह र प्रधानमन्त्रीको अभिमान: सबैलाई अपमान लगायतका शीर्षकमा प्रमुख समाचार प्रकाशित गरिएका छन् । ७.सरकारले प्रतिनिधिसभा विघटनको विरोधमा लाग्ने निजामती कर्मचारीमाथि निगरानी गर्न थालेको छ । मन्त्रालयका सचिवहरूमार्फत आन्दोलनमा जाने कर्मचारीले कार्यालयमा हाजिर गरे, नगरेको रेकर्डलाई निगरानी राख्न थालिएको स्रोतले जनाएको छ । आन्दोलनमा लागेका कर्मचारीलाई सरुवा गर्नेसम्मको धम्की समेत दिन थालिएको छ । ८.कोरोना महामारीले व्यवसायमा असर पारिरहेका बेला सरकारले विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महशुल दर बढाएपछि त्यसको प्रत्यक्ष असर आयातमा देखिएको छ। चालु आर्थिक वर्षको ५ महिनामा विद्युतीय सवारीसाधन आयात गत आवको सोही अवधिमा भन्दा करिब ८८ प्रतिशतले घटेको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीसाधन खरिदमा क्षमताका आधारमा ३० देखि ८० प्रतिशतसम्म भन्सार महशुल र ४० प्रतिशतसम्म अन्तःशुल्क लगाउनुभएको थियो । त्यसअघि विद्युतीय निजी सवारीसाधन खरिदमा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्थ्यो। ९.पहिले गरिएको सहमति कार्यान्वयन नभएपछि जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलित बनेका छन् । मेडिकल कलेज परिसरमै रिले अनशन बसेर उनीहरुले आन्दोलन शुरु गरेका हुन । कलेज प्रशासनले ६ कात्तिकमा ५ जना कर्मचारीलाई निष्कासन गरेपछि आन्दोलन शुरु भएको थियो । आन्दोलनको २८ दिनपछि ३ बुँदे सहमति भएको थियो । तर कलेज प्रशासनले गरिएको सहमति कार्यान्वयन नगरेपछि ५ माघदेखि उनीहरु पुन: आन्दोलिन बनेका हुन् । १०.कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातै प्रदेशमा पुर्याइने भएको छ । सबै प्रदेशका भण्डारण केन्द्रमा आवश्यकताका आधारमा खोप वितरण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खोप प्रदेश राजधानीबाट हरेक जिल्ला अस्पतालमा लगिँदै छ । त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । आगामी बुधबारदेखि नै खोप लगाउन सुरु गरिने मन्त्रालयको तयारी छ । ११.कृषिको प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलित स्वदेशी उद्योगी व्यवसायले संघर्ष समिति घोषणा गरेका छन् । चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा कृषि उत्पादनसँग सम्बन्धित १५ वटा सरोकारवाला संघसंस्थाहरुले किसान तथा उमीहरुलाई समेटेर संघर्ष समिति घोषणा गरेका हुन् । १२. विसं. २०४७ को संविधान र राजसंस्था पुनःस्थापनको माग गर्दै माइतीघरमा जुलुस निकालिएको छ । देशभक्त प्रजातान्त्रिक गठवन्धन तथा संयुक्त आन्दोलन समितिले २०४७ सालको संविधान तत्काल लागु गर्न माग गर्दै जुलुस निकालेको हो । १३.भारतका एक जना पूर्व सचिवले नेपालमा संवैधानिक राजतन्त्र फर्काउन भारतले तयारी गर्नुपर्ने बताउनुभएको छ । पूर्व अतिरिक्त सचिव एस रमेशले नेपालमा चीनको प्रभाव रोक्न २०४७ सालको संविधान र संवैधानिक राजतन्त्र पुनःस्थापना गर्नुपर्ने बताउनुभएको हो । १४. अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन सरकारले तयारी पूरा गरेको बताउनुभएको छ । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको सय दिन पुरा भएको सन्दर्भमा पौडेलले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्न ४० अर्ब रुपैयाँ जुटाएको बताउनुभएको छ । योसँगै कोरोना जोखिमबाट नागरिकलाई जोगाउन सकिने उहाँले दाबी गर्नुभयो । १५.प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिनुभएको छ । सधैँजसो राजनीतिक रुपमा चर्चामै रहने मुख्यमन्त्री राई विवाहको मामिलामा पनि चर्चाको शिखरमै पुग्नू भएको छ । ४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ । राई र शेर्पाबीच केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । १६.प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आज विवाह हुँदैछ । ५० वर्षीय राईले मोडल ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् । भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो। १७.राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । १८. घरबाट भागेर निस्केका देवर–भाउजूको अस्पतालमा मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको हो । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । १९. कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि जन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आइतवार भएको कार्यक्रममा मन्त्री अर्यालले प्रविधिको विकास गरी आयात निर्यातलाई सन्तुलितका लागि अनलाइन प्रणालीमा जानुपर्ने बताउनुभएको हो । २०. नेपाल प्रहरीका ११ एसएसपीहरुको सरुवा र पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले २९ पुसमा बढुवा सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ६ जनाको सरुवा तथा पदस्थापन गरेको हो । २१.सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि यसको असर प्रदेश सभामा समेत परेको छ । नेकपाको सरकार रहेको कर्णाली प्रदेशमा पार्टीमा देखिएको संकटका कारण प्रदेशसभा अधिवेशन अनिश्चित बन्न पुगेको हो । २२.कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा विभिन्न ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । २३.जाडोका कारण विभिन्न खाले रोगको संक्रमणका कारण उपचार गराउन अस्पतालमा पुग्नेकाे भीड लागेकाे छ । चिसो बढ्दै जाँदा अस्पतालमा बिरामीको भीड लागेको हो । २४.स्थानीय तहकाे समन्वयमा जिल्लामा ३ सय ४८ एचआईभी संक्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । एड्स हेल्थ फाउन्डेसनको सक्रियतामा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो । फाउन्डेसन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन् । स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बीमा गरेका हुन् । २५.जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताउनुभएको छ । आइतबार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताउनुभएको हो । २६.लुम्बिनी प्रदेशसँग बराबरी खेलेको बागमती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमतीले अन्तिम चारमा स्थान बनाउँदै सेमिफाइनलमा पुगेको हो । २७.नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गर्नुभएको छ । भन्सार विभागले गरेको सर्वेक्षण सराहनीय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै छिटो सार्वजनिक गर्न माग गर्नुभएको हो । जनतासमाचार सार