केपी ओलीको समूह धूलो छाप पार्टी हाे : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको समूहलाई धूलो छाप पार्टीको संज्ञा दिनुभएकाे छ । पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओली समूहमा गएका कार्यकर्ता पनि फर्किन थालेकाे बताउँदै धुलाे छाप पार्टीमा काेही नबस्ने बताउनुभएकाे हाे ।
नेपालले भन्नुभयो ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् । ४३४ केन्द्रीय सदस्यमा उनीहरूसँग जम्माजम्मी सय जना होलान् ।’
कार्यक्रममा सम्बाेधन गर्दै उहाँले आफूलाई निर्वाचन आयोगले अध्यक्ष नमाने पनि प्रचण्ड अध्यक्ष रहनुभएको बताउनुभयाे । नेपालले पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले गरेको निर्णयमा आफूलाई अध्यक्ष मान्न अस्वीकार गरेको बताउनुभएको हो ।
‘निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन’, नेपालले भन्नुभयाे, ‘प्रचण्ड हुँदै हुनुहुन्छ ।’