निर्वाचन आयोगको एउटा निर्णय सही छ : भुसाल

प्रतिक पौडेल
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले निर्वाचन आयोगले गरेको एउटा निर्णय सही भएको बताउनुभएको छ । नेता भुसालले नेकपाको केन्द्रीय सदस्य संख्याका बारेमा आयोगले गरेको निर्णय सही भएको बताउनुभएको हो ।
‘आयोगको निर्णयले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी संख्या ४ सय ४१ हो भन्ने कुरा स्थापित हुने छ ।’ भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भूमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई एकतावद्ध गराउनु पर्छ ।’
भैरहवामा सोमवार लुम्विनी प्रेस क्लवले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भुसालले भन्नुभयो, ‘निर्वाचन आयोगले आफ्नो औचित्य पुष्टि गर्नुपर्छ, आफ्नो औचित्य पुष्टि गर्नुपर्छ भनेको आयोग सेटिङमा छैन भन्ने कुरा पुष्टि गर्नुपर्छ।’ उहाँले संविधान र कानुन अनुसार जुन पार्टी अथवा जुन निर्णय सही छ त्यसलाई सही ठहर्याएर निर्वाचन आयोगले आफ्नो औचित्य पुष्टि गर्नुपर्ने बताउनुभयो ।
भुसालले प्रधानमन्त्रीले व्यक्तिगत प्रहारमा उत्रेर एकता विराेधी कार्य गरेको बताउनुभयाे । ‘प्रधानमन्त्रीले विगतका कुरा कोट्याएर प्रचण्ड-माधव समूहका शीर्ष नेतामाथि प्रहार गरिरहनुभए छ’, उहाँले भन्नुभयाे, ‘प्रचण्ड–माधव समूहका नेताहरु भने प्रधानमन्त्रीले लगाएको आरोपको प्रतिउत्तर मात्र दिइरहेका छन् ।‚