प्रधानमन्त्रीसँग अर्को संविधान छ : वरिष्ठ अधिवक्ता थापा

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान भएको बताउनुभएको छ । संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता थापाले प्रतिनिधि सभा विघटनको विषयमा प्रधानमन्त्री ओलीले दिने गर्नुभएको अभिव्यक्तिलाई लिएर व्यंग्यात्मक शैलीमा प्रधानमन्त्रीसँग अर्कै संविधान रहेको बताउनुभएको हो ।
‘संविधान एउटै हो, श्रीमानहरूले बोकेको, हामीले बोकेको’, थापाले बहसमा भन्नुभयो, ‘तर त्यो संविधानले बेला–बेलामा बोली फेर्नु भएन।’
‘श्रीमानहरूले संविधान पल्टाएर यत्रो जिज्ञासा राख्नुभएको छ । संविधान त्यही हो ।’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्षसँग अर्को संविधान छ ।’
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिनिधि सभा विघटन संविधान अनुसार नै भएको बताउनुभएको छ ।