काठमाडौं । कोरोना भाइरस शुरु भएको करिब एक वर्षपछि नेपालमा कोरोनाविरुद्धको खोप लगाइँदैछ । बुधबार शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा. सागर राजभण्डारीलाई पहिलो खोप लगाएर नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिँदै छ ।पहिलो चरणमा यो खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, चिकित्सक र सरसफाईकर्मीलाई नि:शुल्क लगाउने सरकारको तयारी छ । यस्तै वृद्धाश्रम र कैदीखानामा पनि पहिलो चरणमा नै खोप लगाउने सरकारको योजना छ ।खोप लगाउन शुरु हुने भएसँगै नेपालीमा एक प्रकारको उत्साह जागेको छ । तर उत्साहसँगै मानिसमा धेरै कौतुहल्ता पनि जागिरहेको छ ।के हुने हो ? कस्तो हुने होला ? खोप लगाएपछि के गर्न हुन्छ ? के गर्न हुन्न ? कस्ता मानिसले लगाउन मिल्दैन ? भन्ने जस्ता धेरै जिज्ञासाहरु यतिबेला मानिसका मनमा खेलिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनतामा उब्जिने यस्ता कौतुहलताको जवाफ खोप वितरण गर्नुभन्दा एक दिन अघि (मंगलबार) सार्वजनिक गरेको छ ।१.के खोप लगाउन अनिवार्य छ ?खोपले कोरोना भाइरस रोग लाग्नबाट बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि आफूबाट संक्रमण अरुमा सर्नबाट पनि जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबैउमेर समूहलाई सिफारिश गरिएको छ ।२.के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन/थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ ।३.यो खोप कुन उमेर समूहलाई दिइन्छ ?नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।४.यो खोप लिएपछि फेरी कोरोना संक्रमण हुन्छ ?यो खोप लिएपछि पनि केहि व्यक्तिहरूमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को ब्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालन निरन्तर गर्नुपर्छ ।५.खोप कहाँ लगाउन पाइन्छ ?कोरोना विरुद्धको खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।६.यो खोप कसले लगाउनु हँदैन ?अहिले प्रयोग गर्न लागिएको खोप गर्भवती, स्तनपान गराइरहेका, तुरुन्त गर्भवती हुने योजना भएका महिलाले लिनुहँुदैन । साथै, यस खोपको पहिलो मात्रा लगाउँदा एलर्जी भएकाहरूले पनि दोस्रो मात्र लिनु हुँदैन । यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।७.के स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ ?मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरूले यो खोप लिन जरुरी छ ।८.यो खोपको कति मात्र लगाउनुपर्छ?कम्तिमा ४ हप्ताको फरकमा यो खोपको दुई मात्रा लगाउनुपर्छ ।९.यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन्?कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेकाछन्। यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन्।१०. के यो खोपको दीर्घकालिन असरहरू पनि छन् ?कोभिड–१९ नयाँ खोप भएकोले यसका हुनसक्ने दीर्घकालिन असरहरूका बारेमा थप समयपछि मात्र थाहा हुन्छ । खुशिको कुरा, अनुमति प्राप्त सबै खोपहरू विभिन्न चरणको क्लिनिकल परीक्षणमा सुरक्षित पाइएको छ ।११. यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?खोपको कारणले वृद्धि भएको प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।https://mohp.gov.np/attachments/article/671/FAQ_Nepali-Half%20page%20ad-final%20revised-option-1%20new.pdf
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७ ०१:२२