वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज

काठमाडाैं । सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताउनुभएकाे हाे।
मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको बताउनुभयो ।
मन्त्रिपरिषद्बाट पारित भएको निर्णय छिट्टै राजपत्रमा प्रकाशित हुने पनि मन्त्री आलेले बताउनुभयो । कार्यविधि खारेज भएपछि दिगो वन व्यवस्थापन अन्तर्गत कतैपनि हरियो वन सखाप नहुने गरी कार्ययोजना बनाएर जाने तयारी मन्त्रालयले गरिरहेको उहाँकाे भनाइ छ । वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि सरकारद्वारा व्यवस्थित वन, सामुदायिक वन, साझेदारी वनमा कटान भइसकेका काठदाउरा प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री वितरण तथा ओसार पसार खुल्ला गर्ने तयारी गरेको पनि बताउनुभयो।
वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि काठदाउरा कटान मुछान, बिक्री वितरण तथा ओसार पसार सम्बन्धमा प्रदेश वन निर्देशनालय मार्फत अनुगमन गरी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन बुझाई अनियमितता भएको पाइए संलग्नलाई कानून अनुरुप कारबाही गरिने पनि बताउनुभयो ।