काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनत पक्षले आज गर्न लागेको आमसभाको भौतिक तयारी पूरा भएको छ । बुधबार ११ बजेसम्ममा आमसभा गरिने स्थान भृकुटीमण्डपमा सम्पूर्ण भौतिक तयारी पूरा भएको हो ।
स्टेज निर्माण, साउण्ड सिस्टम, सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन लगायतका तयारी भइसकेको हो । आमसभा अघि मध्यान्ह १२ बजे राजधानीका विभिन्न ठाउँबाट जुलुस निस्कने छन् ।
केशरमहल, पुलचोक, त्रिपुरेश्वर, माइतीघर र जमलबाट निस्कने जुलुस सुन्धारामा पुगेर मुल जुलुसमा मिसिने छ । दिउँसो १ बजे सुन्धाराबाट मुलु जुलुस वीरअस्पताल, जमल, घण्टाघर, बागबजार, प्रदर्शनीमार्ग हुँदै भृकुटीमण्डप पुग्ने संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईजे जानकारी दिनुभयो ।
आमसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा असंवैधानिक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध नेकपाको आन्दोलनरत पक्षले आज उपत्यकामा गर्न लागेको शक्ति प्रदर्शनमा २ लाखभन्दा बढी सहभागी हुने दाबी गरिएको छ ।
तस्बिर : हनिशराज पन्त/जनतासमाचार