Logo असार ४, २०७८ शुक्रबार


कविता : प्रिय ऋतु

–नेत्र एटम

आएकी छे
बैंसालु ऋतु
नवीन श्रृङ्गारमा सजिएर
स्फूर्तिका पाइलाहरु
टकटक टकटक टेक्दै
टेकेका डामहरु छोड्दै धरतीमा
अनि
चढेकी छे
नदीका किनारदेखि
पहाडका उत्तुङ्ग टाकुरासम्म
आकाशबाट झरेका
मोतीजस्ता शीतका गुलाबी दानाहरु
हातमा थपथपाउँदै !

भूमध्यरेखाको स्वप्नदेशबाट
घुम्दै–घुम्दै आएकी हो ऊ
विश्वशृङ्गको यो काखमा
तर्दै सागर र पार गर्दै मरुभूमिको पृथक् कम्पन
तर थाहा छैन उसलाई
कति प्रतिकूल छ परिवेश
नुनिलो पानीले भरिएका छन् हाम्रा हृदयका तालहरु
विषाक्त दक्षिणी हावाले
खङ्ग्रङ्ग सुक्न थालेका छन् फूलका पातहरु
गुबेद्रोले प्वाल पारेका छन् कोपिलाएका गुभाहरु
खुम्रे किराले खाएर
जराका घेराघेरा
ढल्न तयार छन् कमजोर बोटहरु
सहन सक्लान् र तिनले
तिम्रो वासन्ती पवनको अविरल प्रवाह !
ग्रहण गर्लान् र तिनले
तिम्रो सुगन्धमय प्राणवायुको ताजापन !
उत्साहित होलान् र तिम्रो शीघ्र आगमनमा
धुवाँ उडिरहेका अवरुद्ध बाटाहरु !

मेरी प्रिय ऋतु,
जुनेली रातको शीतलतामा
श्रमको मधुर धून सुनिएको छैन कतै
बठिनियाका ठेला उठेका हातमा
नृत्यका इन्द्रेनी लहरहरु देखिएका छैनन् कतै
अनि छैनन्
तोक्मामा उमङ्गका ढाकरहरु बिसाइएका पनि !
छु त केवल म छु
तिम्रो प्रतीक्षामा
लेकमा एक्लै ठिङ्ग उभिएर
सुसाइरहेको सल्लाको रुखजस्तो
निरन्तर आँखा बिछ्याएर
स्मृतिमा हराइरहेको कुनै सुषुप्त हिमतालजस्तो

स्पर्श गर्दै औंलाहरू
आऊ न ऋतु !
समयले जिन्दगीलाई विस्थापित गर्नुअघि नै
तिमीलाई सुस्वागत गर्नु छ
तर
सिरेटोले काँडा उम्रिएका तिम्रा चिसा पाखुरामा
चुम्बनको एक चुप्को उष्णताबाहेक
के पो दिन सकुँला र
छालजस्तो उर्लिरहने जुलुसको समयमा
नयाँ जिन्दगीको प्रेमिल उपहार …।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…