Logo बैशाख २९, २०७८ बुधबार


कथा : बिम्ली दिदी र आबोइ पातु

मणि लोहनी

फागुनका यी प्रारम्भिक दिनहरू पनि कति रमाइला र आनन्ददायक । गुराँसले राताम्मै भएका पाखाहरू, सपनतिर्थेले पहेंलिदै गरेका ढुङ्ग्यानहरू र प्रियसी कानैमा आएर साउती गरेजस्तै लाग्ने सल्लाको सुसाइ । बेलाबेला चल्ने सुकुमारी पवनले मसंगै बसिरहेकी बिमलाको कपाल मेरो अनुहारभरि छरिदिन्छ । ऊ मेरो ओठलाई स्पर्श गरुलाँझै नजिकैबाट मुस्कुराउँछे र आफ्ना सेता बाक्ला औंलाहरूले मेरो अनुहारमा टाँसिएका कपाल पन्छाउँछे ।

‘यी कपाललाईझँै मेरो मुटुमा टाँसिएका तिम्रा मायाका छालहरूलाई पनि पन्छाउन सक्छौ बिम्ली ?’ म जिस्किन्छु । ऊ बोल्दिन । मेरो हात चपक्क समाउँछे र टाउको हल्लाउँछे । मैले बुझिनँ उसले सक्दिनँ भनी या चाहँदिनँ । ‘हैन यी गुराँस पनि कति राम्रा देखिएका ?’ म प्रसङ्ग फेर्छु । हामी दुई गुराँसका फेदमा बसिरहेका छौं, गुराँसैगुराँसको जङ्गलमा । केही पर दुई–चारवटा घङ्घारुका बोटहरू छन् । निकै तल सानो जङ्गल छ सल्लाको । हामीभन्दा माथि मौरेको कालो पहाड उभिएको छ भने त्यसमाथि आकाशको फिरोजी सालिनता । सल्लाको जङ्गलमुनि यसो चिहाउँदा देखिन्छ–नुनथला बजार । बजार पनि के भन्नु र, २४ घर र पसल सिवाय त्यहाँ अरू केही छैन् । त्यसो त त्यहाँ एउटा प्राथमिक विद्यालय पनि छ बिमलाले पढाउने गरेको र मेरो कार्यालय पनि त्यहीं छ ।

‘खै सर, मलाई त पटक्कै मन पर्दैन यी गुराँसहरू’ सौन्दर्यप्रति यो कत्रो बेवास्ता । म छक्क पर्छु । ‘हामी त यही गुराँसमा जन्मियौं । गुराँससँगै हुर्कियौं र लाग्छ गुराँसमै मर्नेछौं ।” ‘कत्रो अविश्वास ममाथि ?’ म जिस्काउँछु । ‘सर, तपाईसँग बसुन्जेल मलाई रमाइलो अनुभव हुन्छ । साह्रै मनपर्नुहुन्छ तपाई मलाई । तर पक्का ठान्नुस्, न म तपाईलाई प्रेम गर्छु न तपार्ईलाई जोडेर मैले विवाहको सपना नै देखेको छु । प्रेम र सपना दुःखीहरूका भाग्यमा हुँदैन ।’ उसको पछिल्लो वाक्यले नराम्रोसँग मेरो हृदयलाई घोच्छ । म रन्थनिन्छु । कति सहजताकासाथ अनुभवी ‘टोन’ बोली बिमलाले । यो बीस–बाइसकी केटीले कहाँनेर बुझी जीवनलाई र प्रेम–सपनाको निस्सार कुरा गर्छे ।

‘बिम्ली, मान्छेहरू कोही पनि जन्मदै दुःखी र सुखी भएर आउँदैनन् । दुःख–सुख भनेको आफूमा भरपर्छ’, म कुनैबेला पढेका कुुरा टपक्क टिपेर हुत्याइदिन्छु ऊतिर ।

‘सर, प्रेम घात हो, हत्या हो । साँचोमा त प्रेम मृत्यु नै हो…. मृत्यु ।’ बाफ रे, म सक्दिनँ, यो केटीसँग बोल्न । मैले जीवनमा प्रेम र सपना बाहेक अरू देखेकै छैन र ऊ प्रेमलाई मृत्यु भनेर ठोकिदिन्छे । म कसरी सक्छु ऊसँग ?
‘प्रेम र मृत्यु ? प्रेम त अनन्त अमर हुन्छ बिम्ली ।”

‘मृत्यु पनि त अमर हुन्छ नि । अझ त्यसमा पनि तपार्ई त लेख्ने मान्छे, जीवनलाई छुन चाहनुहुन्छ । तर मैले त केस्राकेस्रा केलाएकी छु जीवनलाई । जीवन केही होइन….छक्क पर्नु र विवशता सिवाय ।’ यहाँनेर आएपछि मलाई बिमला साहै्र मनपर्छे, उसको बोलीमा रहेको स्पष्टता र सहजताले । झट्ट हेर्दा निकै जटिल लाग्ने प्रसङ्गहरू पनि कति सहज रुपमा स्वीकारेकी छे उसले । त्यसो त उसको अनुहार पनि साहै्र राम्रो छ । हाँस्दा गालामा पर्ने खोपिल्टा र आँखाको निख्खर कालोपनाले मैले महानगरलाई बिर्सेको छु । र त्यहाँका मै हूँ भन्ने स्वास्नीमान्छेलाई समेत भुलेको छु ।
‘किन जीवनसँग, प्रेमसँग र सपनासँग यो वितृष्णा बिम्ली ?”

‘प्रेममा मैले अनुभव गरेको मृत्युबोध हेर्न चाहनुहुन्छ भने भोलि बिहान आउनुस् ।’ ऊ उठ्छे । म धेरै चोटि गइसकेको छु बिमलाकहाँ । ठीक छ भोलि पनि गइदिन्छु ।

नुनथला बजारसम्मको आधा घण्टाको बाटो हामीले नबोली पार ग¥यौँ । कुनैबेला ओरालोमा मैले उसको हात समाएको हुन्छु र कुनै बेला उसले मेरो पाखुरा समाएकी हुन्छे । यो बाहेक हामी दुई सँगै छौं भन्ने बोध पनि हुँदैन । म अफिसतिर उक्लिन्छु । ऊ ‘जान्छु है’ भन्दै घर ओर्लिन्छे । मेरै पदमा काम गर्ने ओभरसियर साथी गोविन्द उसिनेको आलु खाँदैछ, खाटमा बसेर । यो अग्लाइको प्रचलित खाजा यही हो । तर आज म मुखमा हाल्न पनि सक्दिनँ र थाहा पनि पाउदिनँ, बेलुका मैले खाना खाएँ कि खाइनँ । सुत्नको लागि पल्टिन्छु र रातभरि निदाउन सक्दिनँ ।

आगोको फिलुङ्गाजस्तो रातो पोल्ने आँखा लिएर म बिमलाकहाँ पुग्छु, बिहान सात बजेतिर । आमा भैंसी दुहुँुदै छिन् । सुँगुरलाई पिठो दिंदै गरेका बिमलाका बाबु पिठो छाडेर मतिर लम्किन्छन् ।

‘ओहो सर बसौं बसौं ।’ दुईहात जोडेर उनी नमस्ते गर्छन् । एक्लो चराजस्तो नमस्ते, एक्ला चिजहरू देखेपछि म बिमलालाई सम्झिन्छु । कति एक्ली छे यो केटी आफैंसँग ।

‘सर, तपाई मसँग जाने हो ?’ बिमला भित्रैबाट चिच्याउँछे ।
‘दिक्तेल जानुपर्छ, दिक्तेल ।’

‘लौ तिम्ले भनेपछि दिक्तेल किन, म गाईघाटसम्मै पुग्छु नि ।’ म अलि बढी बोलें सायद, मसँगै बसिरहेका बिमलाका बाबु हाँस्छन् ।

‘सर पनि मजाक गर्नुहुन्छ ।’ कति फरासिला र सङ्ला हुन्छन् यी राईहरू । म बाहिरै बस्छु फलैंचामा । थाहा छैन बिमला भित्र के गर्दैछे । बाहिर पानी परिरहेछ, बेमौसमी पानी । म च्यादर ओढेको बिमलाको घरको बलेंसीबाट झरिरहेको पानी हेरिरहेछु र हेरिरहेछु परपरका रुझिरहेका लालीगुराँसका फूलहरूलाई । झट्ट दौडिएर गएर छाता ओडाइदिउँभैmं लाग्छ ती सुन्दर फूलहरूलाई ।

थालमाथि स्टिलको गिलास राखेर बिमला बाहिर आउँछे , ‘ओहो, सर त ठाँटिएर आउँनुभएछ नि’

‘तिमीसँग हिंडनुछ, सुहाउँदो पनि त हुनप¥यो नि’ म बोल्छु । बूढा फेरि हाँस्छन् । काँचो पातको धँुवाले नीलोतुथोजस्तो भएको ओंठ, उछिट्टिएका काला दाँतहरू र दारी नउमे्रको बूढो गाला । हाँस्दा पनि कस्तो नसुहाएको ।

‘ल सर, यत्ति पिऊँ, अनि जाउँला’ दूध होला भनेर म समाउँछु । तर कहाँ हुनु । चामल झानेको रक्सी पो रहेछ, तातै ।
‘किन ?’ म बिमलातिर हेर्छु ।

‘झरीमा हिँड्नु छ त्यसैले’ ऊ स्वाभाविक हुन्छे । हुन त जाडो पनि अचाक्ली छ । बाक्लो ज्याकेटमा गुटुमुटिएको छु म । यो नुनथलाको उचाइमा पानी प¥यो कि यस्तै हो, हातखुट्टा नै ठिहि¥याउने ।

‘लिऊँ सर लिउँ हाम्रो सत्कार नै यही हो ।’ भखरै मास्टरीबाट रिटायर भएका बिमलाका बाबु बोल्छन् ।
‘अस्ति–अस्तिको सत्कारमा त दूध हुन्थ्यो नि’ म हाँस्छु । बूढा पनि बेस्सरी हाँस्छन । म त्यो नीलोतुथोजस्तो ओँठ हेर्न नपरोस् भनेर बिमलातिर फर्किन्छु । ऊ पनि हाँसिदिन्छे । उसको गालामा परेको खोपिल्टाले म भुतुक्कै हुन्छु । निलोतुथो टाँसिएको अनुहारसँग एक्लो चराजस्तो नमस्कार साटेर म उक्लिन्छु, कुमारीको बैँसजस्तो सफा बाटोमा । बिमला मेरो पछिपछि आउँछे । एउटै छातामा दुवै छेकिने प्रयास गर्छौँ हामी । ऊ छाता मतिर ढल्काउँछे म नभिजोस् भनेर । म छाता उतिर ढल्काउँछु उ नभिजोस् भनेर र जम्मामा हामी दुवै भिज्दै हिड्छौँ । नुनथलाको पुलिस चौकी पछाडि परेपछि ऊ बोल्छे ‘तपाईँलाई गुँरास साहै्र मन पर्छ हैन ?’
‘हो’

‘माया लाग्दैन यसरी गुँरास भिजिरहेको देख्दा ?’ ऊ भिजिरहेको गुराँस देखाउदै मलाई खिस्याउँछे ।
‘माया त लाग्छ नि, तर के गर्नु माया लागेर ।’

‘केही गर्न सक्नुहुन्न भने किन गर्नुहुन्छ त माया ?, फोस्रो माया †’ पारि ओखलढुङ्गामा माओवादीले पड्काएको बमजस्तै पड्की ऊ । ‘यही गुराँसजस्तै छौँ हामी । राम्रा, सङ्ला र आफ्ना पीडाहरूमा आफै रुझ्न विवश । तपाइँहरू त हेर्ने र माया लाग्छ भन्ने मात्र न हो ।’

ऊ बोल्न राेिकएपछि म बोल्छु–‘मायामा तिम्रो कस्तो अभिप्सा छ बिम्ली ?’

‘सामथ्र्य नहुने र दायित्वबोध गर्न नसक्नेले किन माया गर्न हतारिने ? बरु मौन बस्नु नि मजस्तै ?’ उसको पछिल्लो वाक्य ‘बरु मौन बस्नु नि म जस्तै’ले म रन्थनिन्छु त्यतिकै, जत्तिको उसले हिजो ‘प्रेम र सपना भनेको दुःखीहरूको भाग्यमा हुदैँन’, भन्दा म रन्थनिएथँे ।

मुडे पुगेपछि म चिया पिऊँ भन्छु । ऊ मौन स्वीकृति दिन्छे र चिसापानीका एउटा चाम्लिङ भाइको पसलमा हामी रोकिन्छौँ । ऊ आफ्ना भिजेका सुरुवाल घुँडा माथिसम्म ल्याएर निचोर्न थाल्छे । सिङ्मरमरजस्ता सेता पिडाँलाले पानी परेर धुम्म परेको यो अँध्यारो बिहानी उज्यालिएझैँ लाग्छ मलाई । उसको एकातर्फको कपाल, कुम र ढाड पूरै भिजेको छ । कपालबाट खसेका पानी निधार, गाला हुँदै छातीमा पुगेर बिलाउँछन् । म सम्झिन्छु, उसको कपालको पानी हुन पाए यतिखेर ।

‘हामी कहाँ जान लागेको बिम्ली’ मैले यतिखेरसम्म रोकिरहेको उत्सुकतालाई फुकाइदिएँ ।
‘जेलमा । दिक्तेल जेलमा । मेरी दिदीलाई थुुनेका छन पुलिसले ।’ कति छिटो कति सजिलोसँग सबै कुरा बताइदिई उसले ।

‘किन परिन् तिम्री दिदी जेलमा ?’

‘मारेर… पोइलाई मारेर ।’ कति टिठलाग्दा शब्दहरू ‘पे्रम मृत्यु होे, लोहनी सर,… मृत्यु ।’ मुडेबाट झरेपछि आर्मीक्याप पनि पार गर्दै हामी जिल्ला कारागार खोटाङको मुल ढोकामा पुग्छौँ । यतिखेरसम्म झरी रोकिइसकेको छ र घामलाग्न खोज्दैछ । खोटाङ क्याम्पसभन्दा तल घाम ताप्न निस्केको सर्पजस्तै लमतन्न फैलिएको छ दिक्तेल बजार । यो सदरमुकाम चाहिँ साँच्चिकैको बजार छ । यहाँ नपाइने चिज केही छैन । तर बिडम्बना खोटाङ जिल्लामा अहिलेसम्म मोटरबाटो छैन । हुनत यदि हाम्रो प्रोजेक्ट सफल भयो भने यहाँ ८७ किलोमिटरको मोटरबाटो तयार हुनेछ । दिक्तेलदेखि लामिडाँडा हुँदै जयराजघाटसम्मको । म खोटाङमा बाटो बनाउने प्राविधिकको रुपमा युएनडीपीमा कार्यरत छु, बिमला यहीकी रैथाने राईनी । एउटा प्राथमिक बोर्डिङमा पढाउँछे र पनि हामीबीचको सम्बन्ध पनि अजीवको छ । ऊ जीवनलाई रित्तो र उजाड देख्छे र म जीवनलाई यही पाखामा फूलेका गुराँसझँै सुन्दर र आकर्षक देख्छु । कारागारभित्र छिरेपछि बिमला आफ्नी दिदीलाई लिएर आउ“छे र कारागारभित्रकै चौरमा घाम ताप्ने निह“ु गरेर बस्छौँ हामी । बिमला आफूले बोकेर ल्याएको ब्यागबाट सानो ग्यालिन, एउटा बटुको र टिफिन बट्टा निकाल्छे । म दिदीलाई हेरिरहन्छु । उनी नमस्ते गर्छिन । उही एक्लो चराजस्तो नमस्ते ।

म नमस्ते फर्काउँछु ‘म बिम्लीको साथी’

‘तपाई साथीमात्रै होइन, बिम्लीको मुटुमा नै कब्जा जमाइसक्नुभयो । हैन भने कहाँ लिएर आउँथी र यसले’ दिदी बोल्दाबोल्दै बिमला चिच्याउँछे–‘यो मुटु र हृदयको कुरा नगर है दिदी’

‘किन हँ तलाई मायासँग यत्रो रिस’ दिदी प्रश्न बन्छे ।

‘के पायौ माया गरेर तिम्ले ? यो यातनामय दिन, प्रेमीविहीन एक्लो रात र मृत्युजस्तो जीवन सिवाय’ उल्टो प्रतिप्रश्न बनी बिमला ।

‘प्रेममा म थोरै अन्धो भएँ, नत्र तेरो कसम, धनेम्पा बाँचिरहेको भए मजस्तो भाग्यमानी कोही हुँदैनथ्यो ।’ दिदी बिस्तारै फर्किँदै गई अतीततिर ‘तेरो भेनाले बुइपाको सनिबारे बजारबाट भगाएर लगेपछि एकवर्षसम्म त एकछिन पनि छोडेन मलाई सुमसुम्यासुमसुम्यै गथ्र्यो, चाट्याचाट्यै गथ्र्यो ।’

‘के चाट्नु नै माया हो दिदी ?’ म प्वाक्क बोल्छु ।

‘होइन तर यस्तै चटाइहरूमा नै मायाबोध हुने गर्छ ।’ कुनै चर्चित नाटकको संवादझैँ म सुनिरहन्छु । दिदीको पछिल्लो वाक्यबाट बिमलाले के बुझी खै बोल्दिन । ग्यालिन बेस्करी हल्लाएर बाक्लो जाँड बटुकोमा खन्याउछे र टिफिन बट्टाबाट कोसीको तारेको माछा झिकेर दिदीको अगाडि राखिदिन्छे । दिदी एकै घुट्कोमा एकबटुको जाँड सक्छे र फेरि ग्यालेनबाट सार्छे ।

‘न्यास्रिएछौ दिदी तिमी जाँडसँग’ बिमला बोल्छे ।

‘न्यास्रिएको कुरा नगर बिम्ली’ आधा बटुको जाँड स्वाट्ट पारेर ऊ भन्छे–‘न्यास्रिन त म तेरो भेनासँग पो न्यास्रिएको छु । तर के गर्ने ऊ छैन अब । हेफरको मिसले कसरी मोडिदियो धनेम्पाको मन † त्यस्तो माया गर्नेले मलाई पछि त हेर्नै छोड्योे ।’ उसले माछा झिकेर करमकरम चपाउन थाली । कस्ती बेसोमतकी आइमाई रहिछ । हामीलाई खाउँ पनि भनिन ।
‘हेफरमा पिउन मागेको छ भन्ने सुनेपछि मैले नै कर गरेँ उसलाई, कति अपरको बाटो मात्र खनिरहने बरु हेफरमा जागिर खाऊ कमसेकम बेल्चा, गँैती त चलाउनु पर्दैन । ढुङ्गा, मुढा गर्दागर्दा थाकेको उसलाई छोएछ मेरो कुराले । दरखास्त दिएर आयोे हेफरमा । दैवको लीला भन्ने कि मेरो फुट्या भाग्य, उसले जागिर पायो ।’

‘त्यति राम्रो जागिर पाउनुभएको रहेछ भेनाले, तपार्इँ त खुसी हुनुपर्ने नि †’ म डिउटीमा खटिएका पुलिसजवान हेर्दै बोल्छु ।

‘यसको भेनाको त्यही जागिरले हो भाइ म यहाँ बस्नुपरेको ।’ ग्यालिनमा बाँकी रहेको जाँड खन्याउन खोज्दै ऊ भन्छे– ‘ग्यालिन नसक् दिदी, वीरे हवल्दारलाई राखिदेऊ, नत्र मार्छ ।’ बिमलाले भनेपछि ऊ जिब्रो टोक्दै झन्डै बिर्सेकी भन्छे र ग्यालिनको बिर्को लगाएर राख्छे ।

‘तपार्इँ किन र कसरी जेल पर्नुभयो ? मलाई सुन्न मन लागेको छ दिदी । म दिदीलाई अनुनयको शैलीमा भन्छु । मेरो अनुरोधलाई बिम्लीकी दिदीले अस्वीकार गरिनन् र सबै कुरा बताइन् । (बिम्लीकी दिदीले मेरो अनुरोधलाई नस्वीकारेकी भए सम्भवतः यो कथा लेखिँदैनथ्यो । र म यति धेरै दुःखी र खिन्न पनि हुने थिइनँ ।)

दिदीको प्रेम–कहानी सुनेर म हैरान भएँ । के कसैलाई प्रेम गर्नु र कसैको प्रेम चाहनु पनि अपराध हो ? म बेचैन हुन्छु । के प्रेममा मान्छे यतिसम्म अन्धो बन्छन कि उनीहरूलाई प्रेमबाहेक जीवनका अन्य औपचारिकताहरूको बोध नै हुदैँन । उदाउँदै गरेको सूर्यजस्तो अनुहारमा गुराँसको मुस्कान बोकेर दिक्तेल पुगेको म अनुहारभरि रातमा परेको झरीको उदासी लिएर फर्किन्छु । (साँचोमा त मलाई यो कथा यहीँ रोक्न मन लागेको छ तर म आफ्ना श्रद्धेय पाठकहरूलाई अल्मल्याउन सक्दिनँ । मैले यहाँ बिमलाकी दिदीले मलाई सुनाएका कुराहरू सरल भाषामा सिलसिला मिलाएर लेखिरहेको छु । र एउटा लोभ छ मनमा, पाठकहरूका लागि यो मिठो कथा पनि बनोस् ।)

हेफरमा जागिर पाएपछि भेना निकै ब्यस्त बन्न पुगेछन् । साँझ–बिहान केही नभनी जतिखेर पनि हेफरकी मिससँग गाउँ घुम्याघुमै गर्नुपर्ने । जागिर खाएको एक–दुईमहिनापछि त भेनाले दिदीलाई गाली पनि गर्न थाले– तँ यस्ती उस्ती भनेर । मिसजस्तीे बन, मिसले जसरी बोल, राम्री बन आदि–इत्यादि । यतिमात्र कहाँ हो र सधैँ दिदीलाई अँगालोमा कस्याकस्यै गर्नै भेनाले पछि त हेर्नसमेत मन नपराउने भएछन् । कुरा कहाँसम्म पुगेछ भने यौटै ओछ्यानमा दुईजना दुईतिर फर्केर सुत्न थाले । दिदी रातभरि आफ्ना चाहनाहरूमा छट्पटिन्थी । पहिले–पहिले अपरको बाटो खन्दा हरेक रात भेनाल,े कम्तीमा पनि तीन–चारचोटि गिजोलेको, घोप्ट्याएको र मच्चिएको सम्झन्थी र आफँैमा भरिँदै–भरिँदै पोखिन्थी । पानी–पानी भएर । आँखामा आएका सम्झनाहरूका ती धुमिल दृश्यहरूलाई आँसुले पखाल्थी र घुरेर सुतिरहेको भेनालाई हेरेर लामो सुस्केरा फाल्थी….खुइøय † सधैँ हँसिली रहने दिदी त्यसपछि उदास रहन थाली । शारीरिक चाहनाहरूको असन्तुष्टिका साथसाथै ऊ मानसिक रूपमा पनि निकै विक्षिप्त रहन पुगी । मुटुमा पु¥याउँलाझैँ गरी टाँसिरहने भेनाले यसरी तिरस्कार गरेपछि उसलाई बाँच्नुमा कुनै चाह रहेन । जीवन अर्थहीन लाग्यो । पाखामा फुल्ने गुराँसहरू रङ्गहीन देख्न थाली ।

र एकाबिहान पँधेरामा सङ्गीहरूले गरेको कुराले जीवन अर्थपूर्ण लाग्यो । गुराँसमा रङ देखी । धारामा दिदीका साथीहरू आबोइपातेको कुरा गर्दै रहेछन् । त्यो आबोइपातेको मुना कुटेर खानामा मिसाएर खुवाएपछि जस्तै मै हुँ भन्ने पनि थला पर्छ रे † पछि बुझ्दै जाँदा मैले थाहा पाएँ, शत्रुहरूलाई ठिक पार्न गुप्तरूपमा यो आबोइपाते निकै प्रचलित रहेछ उत्तरपूवर्का पहाडी जिल्लाहरूमा । यौनको विक्षिप्तता र प्रेमको पागलपनले बिमलाकी दिदीको मनमा एउटा कुरा सुझ्यो– ‘यो आबोइपातेको मुना कुटेर बूढाको खानामा हालिदिन्छु । बूढाले खान्छन् र थला पर्छन् । त्यसपछि साँझ–बिहान केही नभनी हरसमय बूढाको सेवा गर्छु, बूढाको मन जित्छु । थला परेका बूढाले मेरो सेवा देखेर हेफरकी मिसलाई भुल्नेछन् र मलाई माया गर्नेछन् । पछि त तङ्गग्रिहाल्छन् नि” त्यही सोचेर ऊ उक्ली मौरेको कालो जङ्गगलमा । घण्टौँ लगाएर दिदीले आबोइपातेको मुना टिपी । घर आएर आबोइपातेको मुना केही धेरै नै कुटी उसले र सोची– अलि धेरै नै हालिदिनुप¥यो, ताकी बूढा दुई–चार महिना नै थला परुन् । बूढाको नजिक बसेर बूढाको सेवा गरिरहन पाऊँ र हेफरकी मिसलाई कहिल्यै नसम्झिने गरी बिर्र्सििदऊन् बूढाले ।

जालपादेवी भाकेर दिदीले आबोइपातेको लेदो बूढाको खानामा मिसाइदिइन् । प्रेममा अन्धो हुनुको योभन्दा ठूलो रूप अरू कुन होला र † आइमाईको इष्र्याको योभन्दा मूर्खतापूर्ण काम अर्को कुन होला । मौरेको जङ्गलमा टिपेको आबोइपातेको मुनास“गै दिदीको भाग्य पनि टिपिएछ । दिदीका सुन्दर सपना र मिठा दिनहरू पनि टिपिएछ । जङ्गगलमा फूलेका गुराँसहरू मृत्युको रङ बोकेर हाँसेका रहेछन् ।

एउटा मुना खाए पनि बिरामी हुने आबोइपाते एकमुठी खाएपछि सूर्य उदाउनुअघि नै भेना मरेछन् । हुन त केही बेरपछि नुनथलामा सूर्य उदायो क्यार तर दिदीको जीवनमा कहिल्यै सूर्य उदाएन । रातमा आउने जून पनि आएन । त्यसपछि दिदी एक्ली भइन नितान्त एक्ली र पोइ मारेको अभियोगमा जन्मकैद परिछिन् । मायामा दिदीको पागलपन देखेर बिमलालाई त्यतिबेलादेखि नै मायासग वितृष्णा जागेको रहेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…