Logo बैशाख ३१, २०७८ शुक्रबार


कथा : प्रीति

–रम्भा पौडेल
पिंकीले आँगनको पर्खाल नाघेर बाहिर गएको देखेपछि मुनाले भनिन्, “आमा आमा, कुकुर त गयो पर्खाल नाघेर ।”

आमाले घरको छतबाट जवाफ फर्काइन्, “फेरि त्यही काले कुकुरसँग डुल्न हिँडे होला नी ! पोहोर साल पनि त्यसले पाँचओटा बच्चा पाएको थियो । त्यतिका बच्चा कसरी स्याहार्नु, कहाँ राख्नु । मन नलागि नलागि खोलामा लगेर फालिदिएकी थिएँ । यसपाली पनि बच्चा पाउने भयो भने त म सम्हाल्न सक्दिन । ती साना बच्चा मार्न पनि सक्दिन । यसलाई लखेटिहाल्न पर्यो ।”

घरमूली महिला कराउँदै भित्र पसिन् । “यो त यति साँढे भयो कि सिक्रीले बाँधेर त राख्नै सकिन्न । सानोमा धेरै मायाँ गरिएछ । अहिले मातेर बसिखानै भएन ।”

“बाँध्यो भने त एकथोक बिध्न गरिहाल्छ ।” उनी फतफताउँदै थिइन् ।

“भैगो छोडिदेउ नत । यस्ता पशुका के कुरा गर्नु । राख्न मन नलागे छाडिदिए भैगो नि ।” श्रीमानले बिस्तारै जवाफ दिए ।

“त्यसो भनेर कहाँ हुन्छ ! यो पाल्न ल्याएको हैन र ?”

“यसलाई त जसरी पनि काबुमा राख्नु पर्छ । म त यसलाई ठीक नपारी छाड्दिन ।” रामकुमारीले फेरि जवाफ फर्काइन्।

“त्यसो भए किन झन्झट मान्छेउ त ? सक्छ्याै भने तह लगाउ, नसक्ने भए छाडिदेउ ।” यति भनेर बुढा मालिक वीर सिंह आफ्नो कोठाभित्र पसेर पत्रिका हेर्न थाले ।

रामकुमारीले चिया बनाएर बरन्डामा आउँदै गर्दा भनिन्, “आउनुस हजूर चिया पिउँ । कति पढिरहनु हुन्छ ?”
दुवैजना बरन्डामा बसेर चिया पिउन थाले । उनीहरूले कुकुर गएतिरै हेरिरहे ।

“गयो अब यो, कति दिन आउँदैन । रामकुमारीले फेरि दोहोर्याइन् ।”

“गए जाउस् । चिन्ता नगर । वीर सिंहले बिस्तारै जवाफ फर्काए ।

साँझ पर्यो पिंकी फर्केन । पिंकी फर्कने आस मारिसकेपछि उनीहरुले नयाँ कुकुर किनेर ल्याए । नयाँ कुकुरको नाम पनि पिंकी नै राखियो । यो सेतो रंगको फुक्क परेको मोटो–घाटो थियो । ठूलो घरको बरिपरि घुमिघुमि खेल्ने गर्थ्याे । तर अघिल्लो पिंकीजस्तो लडाकु र सिकारी भने थिएन । नयाँ ल्याए पनि बुढी मालिक्नीलाई पूरानै पिंकीको माया लागेको थियो । नलागोस् पनि किन ? उसलाई उनले सानैबाट नै हुर्काएकी थिइन् ।

दुई महिनापछिको कुरा हो, साँझपख मुनाले आश्चर्य मिसिएको स्वरमा आमालाई बोलाउँदै भनिन्, “हेर्नुस् त, पिंकी फर्केर आयो ।”
रामकुमारी मुनाको स्वर सुनेर कौसीमा निस्किन् । पिंकी अलि दुब्लो तर पेट अलि ठूलो बनाएर आएको देखेपछि उनले कुरा बुझी हालिन् । अनि मनमनै भनिन्, ‘एक दुई दिन बसोस् अनि तह लाउनु पर्छ यसलाई ।’ उता ठूलो पिंकी आफ्नो राज्यमा फर्केजस्तै गरी घरवरीपरि घुमेर जताततै पिसाब गर्दै आफ्नो हैकम कायम गर्दै थियो ।

अर्काै दिन बिहानै रामकुमारीले उनीहरुका लागि खाना लिएर आइन् । दुवै पिकीलाई एकै ठाउ खाना राखिदिएर के गएकी थिइन्, सिकारी पिंकीले सानो पिंकीलाई टोकेरै मार्न खोज्यो । उसले आफनो मात्रै राज गर्न खोज्यो ।

मुनाले आत्तिएर भनिन्, “आमा यसले त मार्नै खोज्यो सानो पिंकीलाई ।”

रामकुमारीलाई अब पूरानो पिंकी घरमा राख्नै मन लागेन । उनले दिनदिनै रिमालाई फोन गर्न थालिन् । यो कुकुर अलि झगडालु भए पनि घरको सुरक्षा गर्छ गुनी छ । यसलाई तिमीले लैजाउ । यसले घरको रेखदेख गर्छ । रिमा र राजन बजारमा बस्थे । घर ज्यादै साँघुरो भएकोले कुकुर राख्न झट्ट राजी भएन् । अन्त्यमा उनीहरुले नलगी सुखै भएन । आफ्नी आमाले भनिरहेपछि कसरी कुरा नमान्नु ?

“ल्याउँ भो कुकुर । घरमा बस्छ । घरमा उभ्रेको खान दिने त हो नि ।” रिमाले भनिन् । दुवै जना कुकुर घरमा ल्याउन सहमत भए । तर सरिता भने सहमत भइन । उसले भनी, “यो कुकुर भन्ने जात मलाई मनै पर्दैन के आमा !”

न बजार न गाउँ । यो आवाशीय क्षेत्र शान्त अनि सुरम्य छ । पिंकी गाउँबाट यो शहरछेउको सानो बस्तीमा आएको छ । उसलाई नौलो लागिरहेको छ । बाटो फराकिलो भएकोले उसलाई ढलीमलि गर्ने ठाउँ छँदैछ । बिस्तारेै उसलाई यो ठाउँ मन पर्न थालेको छ । घरबाट छोरी सरिता बिहानै पाँचबजे कलेज जाँदा उसले मूल बाटोसम्म छोड्न जान्छ । अनि आउने बेला लिन जान्छ । यसो गर्दागर्दै उसले सरिताको पनि मन पगालिसकेको छ ।

छरछिमेकमा अरु पनि कुकुरहरू थिए । तिनीहरुलाई उसले नजिकै पर्न दिँदैनथ्यो । छिमेकीको कुकुर प्रिति त पिंकीको डरले आफ्नो घर छोडेर छिमेकीको घरमा बस्न थाल्यो । पिंकीको ज्यादति झन्झन् बढिरहेको थियो तर रिमा र राजनको विनम्र एवं सहयोगी स्वभावका कारणले छिमेकीहरुले धेरै गुनासो गरेका थिएनन् ।

घरबाट कोही बाहिर जान लागेको थाहा पाउने बिात्तिकै हत्त न पत्त पिंकी नै अगाडि लागिहाल्छ । मानौं उ अंगरक्षक हो । बाटोमा आउने कुकुरहरुको झुण्डलाई एक्लै टोकेर जितेर हिँड्छ । छर छिमेकलाई पनि उ सरक्षा गर्ने भैसकेको थियो । सबैले उसलाई माया गर्थै । सबैको सरक्षा कवच बनेको थियो ।

पिंकी ढलीमली गर्दै दिनहरु बिताउन थाल्यो । दशैँ पनि आइपुग्नै लाग्यो । सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) कायमै थियो । घुमफिर गर्ने वातावरण बनेको थिएन ।

एक दिन रिमा र छिमेकीहरु आगनमा बसेर चाडपर्वहरु पनि निरास बन्दै गएको कुरा गरिरहेका थिए । त्यत्तिकैमा पिंकी ढल्कदै आँगनमा आइपुग्यो । यसलाई देखेर छिमेकी बाले भने, “नानी यो त ब्याउने बेला भएछ नि ? हेर्नुहोला यसले भोली या पर्सिमै बच्चा जन्माउँछ ।”

दशैको घटस्थापनाको दिन थियो । रिमाले बिहानै ढोका खोलिन् । पिंकी खोर भित्र झोँक्राएर बसिरहेको थियो । उनले मनमनै भनिन् ‘यसले त आजै बच्चा जन्माउने भयो ।’ एकैछिनमा पिंकीलाई ब्यथाले च्याप्न थाल्यो । प्रसव पीडाले रन्थनिएर चिच्याउँदै पिंकीले छवटा बच्चा जन्माइहाल्यो । छिमेकीहरु पिंकी चिच्याएको सुनेर आँगनमा भेला भए । प्रीति पनि दौडदै आएर पिंकीलाई हेरिरहयो ।

“बच्चा नफाली दिनु है । कति राम्रा बच्चा छन् । एक–एकवटा हामी लगि हाल्छौं ।” छिमेकीहरुले पालैपालो भने ।

“बच्चा नफालिदिनु है, पाप लाग्छ । बरु यै हाम्रो घरको कुनामा यसले बच्चा हुर्काउछ । ठूला भएपछि बाँडिदिउँला ।” छिमेकी बुढा बाका कुराले रिमा सहमत भइन् ।

छिमेकी बुढा बाको घरमा प्रिती नामको कुकुर थियो । उसका बच्च जन्मदै भरिसकेका थिए । त्यसैले घरिघरि उसले पिंकीका बच्चालाई हेरेर माया गर्न खोज्थ्यो तर त्यसो गरेको पिंकीलाई मन पर्दैनथ्यो । एक दिन पिंकी दिशा, पिसाव गर्न बाहिर गएको मौका मा प्रितिले उसका बच्चालाई चाट्दै थियो त्यै मौकामा पिंकी आइपुयो । प्रितिलाई टोकेर रगतै बनाइदियो । यो दृश्यले रिमा दिक्क भइन तर केही गर्न सकिनन् । उनले मनमनै भनिन् त पनि त आमा न होस् ,सन्तानको सरक्षाका लागि जे गर्न पनि तयार हन्छस् ।

पिंकीलाई छरछिमेकका धेरैले माया गर्दथे । दशैँको बेला थियो । उसलाई दिनदिनैजस्तै मासुभात मिलिरहेको थियो । रिमाले मनमनै भनिन्, ‘भाग्यमानी नै रैछस् । घटस्थापनाकै दिनमा तैले बच्चा पाइस् ।’

काठमाडौंको चिसो ठाउँ । पिंकीले दिन रात बच्चाको स्याहार गर्न थाल्यो । दिसा–पिसाब जाने बाहेक अरुबेला उ बच्चाकै साथमा हुन्थ्यो ।
दशैं बेला छिमेकीहरुले खसी काटिरहेका थिए । त्यत्तिकैमा छिमेकमा हल्ला–खल्ला मच्चिएको थाहा पाएर रिमा बाहिर निस्किन् । पिंकीले खसिको टाउको चोरेर भाग्यो भन्ने हल्ला रहेछ । लडाकु पिंकीले खसीको ठूलो टाउको मुखमा च्यापेर बच्चा भएतिर दौडेको देखेपछि रिमा अक्क न बक्क भइन् । पिट्न पनि सकिनन् । बच्चालाई हुर्काउन आमाले गरेको मेहनत सम्झेर केही बोलिनन् ।

छिमेकीलाई खसीको एउटा टाउको किनेर राजनले क्षतिपूर्ती दिए । यसरी छिमेकीको गालीबाट पिंकीलाई बचाउने काम भयो । पिंकीको एकछत्र राज बढ्दै गयो । उसले सबै कुकुरलाई जित्दथ्यो । झुत्रे–झाम्रे देखिने लुगा लगाएको मानिस देखे त झम्टीनै जान थाल्थ्यो । एक दिन छिमेककी महिलालाई खेद्दै टाढा पुर्याएछ । ती महिलाले धेरै गुनासो गरिन् ।

पिंकीको रिसाहा स्वभावबारे कतिपय छिमेकीहरूको गुनासो बढ्न थाल्यो । रिमा र राजनले मन नलागि नलागि पिंकीलाई घरदेखि कतै टाढा लगेर छोड्ने निधो गरे । उसलाई अर्को गाउँ लगेर छाडियो । साना बच्चा छाडेर पिकीलाई टाढा परयाए पछि रिमालाई दिनभर मन नरमाइलो लाग्यो । वरपरका मानिसले पिंकीका छाउराहरू रोजीरोजी बाँडेर लगे । दुईवटा छाउरा पुरानै घरमा रहे ।

पिंकीलाई नदेखेपछि निसन्तान प्रीतिले बाँकी रहेका दुईवटा छाउराहरूलाई काखमा लिएर दूध चुसाउन थाल्यो । छिमेकीहरु सबैको आश्चर्यको सीमा रहेन ।

महिना दिनपछि पिंकीले घरको बाटो पत्ता लगाउँदै आइपुग्यो । घरमा आउँदा उसका बच्चालाई प्रीतिले दुध चुसाएर ढोपिरहेको थियो । त्यो देखेर पिंकी आश्चर्य पर्यो । उसले प्रीतिलाई पहिलेजस्तो झम्टिएन । उसले प्रीतिलाई र आफना बच्चालाई एकछिन् हेरिरह्यो । अनि फनक्क फर्कियाे । त्यसपछि पिंकी फेरि फर्केर आएन ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…