Logo फाल्गुन १४, २०७७ शुक्रबार


युवा कवि आमन्डाको मार्मिक रचना

–हरि अधिकारी

प्रत्येक ४ वर्षपछि ज्यानुअरी महिनाको २० तारिखका दिन, मध्यान्हको आसपास वाशिङ्टन डीसीको क्यापिटल हिलमा आयोजना गरिने संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोह कुनै रङ्गारङ्ग महोत्सव जस्तै भव्य हुने गर्दछ । त्यस अवसरमा नव-निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिले राष्ट्रको २ शताब्दीभन्दा पुरानो संविधानलाई साक्षी राखेर पद र गोपनीयताको शपथ लिने गर्दछन् । प्रत्येक ४ वर्षमा अनिवार्य रूपमा सम्पन्न गरिने सो कार्यक्रमलाई थप आकर्षक बनाउँन अमेरिकी राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट नयाँ राष्ट्रपतिको कार्यकालको सफलताको लागि स्वस्ति-वाचन र शुभकामना प्रवचन हुने गर्दछ ।

त्यसका अतिरिक्त, शपथ ग्रहणको त्यस महत्वपूर्ण दिनमा नव-निर्वाचित राष्ट्रपतिको रोजाइमा पर्ने गायक वा गायिका (हरू) ले अमेरिकाको राष्ट्रिय गान वा अर्को कुनै लोकप्रिय गीत गाएर नयाँ कमाण्डर-इन्चि-फ् को सुखद कार्यकालको कामना गर्ने रीत पनि परम्परा जस्तै बनिसकेको छ अमेरिकामा । साथै, केही दशक यतादेखि राष्ट्रपतिको शपथ ग्रहणको त्यस पावन अवसरमा कुनै एक महत्वपूर्ण कविबाट कविता वाचन पनि गराइने गरेको र त्यसलाई नियमित कार्यक्रमको एक अनिवार्य हिस्साकै रूपमा लिन थालिएको पनि देखिएको छ ।

संयुक्त राज्य अमेरिकाका ४६औँ राष्ट्रपति जोसेफ आर बाइडेन र ४७औँ उपराष्ट्रपति कमलादेवी ह्यारिसको शपथ ग्रहणका लागि गत ज्यानुअरी महिनाको २० तारिखका दिन वाशिङ्टन डीसीमा आयोजित समारोहमा पनि त्यस्तै विभिन्न कार्यक्रमहरू भएका थिए । तर खेदको कुरा, अमेरिकाको राष्ट्रपतिको यस वर्षको शपथ ग्रहण समारोह सधैँझैँ उत्साह र उल्लासले भरपूर हुनुको साटो निकै नै खल्लो खल्लो र डर र त्राशको छायाँमुनि आयोजित कुनै बाध्यात्मक अनुष्ठान जस्तो देखिएको थियो ।

अमेरिकी जनताका लागि ४ वर्षमा १ पटक आउँने त्यो राष्ट्रिय महोत्सवको रङ्ग यसपाला फिका फिका हुनुमा गत साल २०२० भरि नै पूरा देशलाई आक्रान्त पारेको र अझै पनि नियन्त्रणबाट बाहिर रहेको कोभिड-१९ को महामारी मूल रूपमा जिम्मेदार थियो । साथै, कोरोनाको कहरले अमेरिकी जनतालाई दिएको पीडाको घाउमा नून-चुक दल्ने काम गरेका थिए । यस पटकको चुनावमा डिमोक्रेटिक पार्टीका उमेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनका हातबाट पराजित भएका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले । राष्ट्रपति ट्रम्पले मतगणनामा आफू पिछडिँदै जान थालेका दिनदेखिनै चुनावमा व्यापक धाँधली भएको र जालझेल गरी आफूलाई ह्वाइटहाउसबाट बेदखल गर्ने षडयन्त्र गरिएको भन्ने निराधार दावी गर्दै आफ्नो समर्थक रहेका श्वेत-प्रभूत्ववादी अमेरिकीहरूलाई भड्काउँदै आएका थिए । ट्रम्पको त्यो आधारहीन दावीमा विश्वास गर्ने उनका अन्धभक्तहरूको एक भीडले जनवरी ६ का दिन अमेरिकी गणतन्त्रको मुख्य आधार स्तम्भमध्ये एक रहेको संसद भवन (क्यापिटल हिल) माथि आक्रमण गरी लगभग ३ घण्टासम्म त्यसलाई कब्जा गरेर आतंक सिर्जना गरेको थियो । त्यस उपद्रवका चपेटामा परी एक सुरक्षाकर्मी सहित ५ जना अमेरिकीले ज्यान गुमाएका थिए ।

जनवरी ६ का दिन घटित त्यस अप्रिय घटनाको मटमैलो छायाँमुनि आयोजित भएकाले पनि राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा खासै रौनक नदेखिएको हुनु पर्दछ । तैपनि मौजुदा संकटापन्न अवस्थामा त्यस समारोहलाई जति भव्य बनाउँन सकिन्थ्यो त्यति बनाउँने प्रयत्नमा आयोजकहरूले कुनै कमी आउँन दिएका थिएनन् । अमेरिकी जनता जनताका बीच वैमनष्य र कटुताको व्यापक प्रसार हुँदै गएको विषम परिस्थितिमा आयोजित सो समारोहको मन्त्र (थिम) ‘दृढनिश्चयमा आधारित हाम्रो लोकतन्त्रस् पूर्ण संघको परिनिर्माण’ राखेर त्यसका आयोजकहरूले अमेरिकी जनताहरूको आस्थाको आधारस्तम्भमा खडा भएको संघीय राष्ट्र अमेरिकाको जगलाई कसैले पनि विचलित बनाउँन सक्दैन भन्ने सन्देश प्रवाह गर्न खोजेका थिए ।

अमेरिकाका ४६औँ राष्ट्रपति जोसेफ आर बाइडेनको शपथ ग्रहण समारोहमा तृतीय राष्ट्रपति थोमस जेफर्सनका पालादेखि हरेक शपथ ग्रहण समारोहमा बजाइँदै आएको ऎतिहासिक ब्याण्डले एउटा बहुप्रचलित धून बजाएको थियो । प्रसिद्ध गायिका लेडी गागाले राष्ट्रिय गान गाएकी थिइन् भने अर्की लोकप्रिय गायिका जेनिफर लोपेजले आफ्ना दुई प्रसिद्ध गीतहरूस् ‘दिस् ल्याण्ड् इज् योर् ल्याण्ड्’ र ‘अमेरिका इज् ब्युटिफुल्’ गाएकी थिइन् ।

अमेरिकी राष्ट्रपतिको यस वर्षको शपथ ग्रहण समारोहमा सबैको आकर्षणको केन्द्र बनेकी थिइन् संयुक्त राज्य अमेरिकाको पहिलो युवा राष्ट्रिय कवि घोषित अश्वेत सर्जक आमन्डा गोर्मन । लस एन्जेल्स, क्यालिफोर्नियाकी यी २३ वर्षीया कविले आफ्नो ‘द हिल् वी क्लाइम्ब्’ शीर्षकको शक्तिशाली कविताको उत्तिकै प्रभावपूर्ण शैलीमा वाचन गरेर समारोहमा उपस्थित हज्जारौँ दर्शक-स्रोतागण र टीभीमा सो कार्यक्रम हेरिरहेका विश्वभरिका करोडौँ दर्शक-स्रोताहरूलाई मन्त्रमुग्ध बनाइदिएकी थिइन् । विभेदमा परेका अल्पसंख्यक, अश्वेत, अफ्रिकी अमेरिकन र अन्य सीमान्तीकृत समुदायका वेदना र दर्दलाई आफ्ना रचनाहरूमा वाणी दिंदै आएकी आमन्डालाई आफ्नो शपथ ग्रहण समारोहमा कविता वाचन गर्न बोलाएर राष्ट्रपति बाइडेनले आफू विभेदको पीडा भोग्न बाध्य अल्पसंख्यक अमेरिकी नागरिकहरूको साथमा रहेको सन्देश दिएका थिए ।

प्रस्तुत छ आमण्डाको ‘द हिल् वी क्लाइम्ब्’ शीर्षकको त्यस लामो कविताका केही छानिएका पंक्तिहरू :

जब समय आउँनेछ
हामीहरूले आफैँलाई सोध्ने छौँ
यो अनन्त र निष्पट्ट अँध्यारोमा
कहाँ भेट्टाउँने छौँ
हामीले प्रकाशको एउटा धर्सो ?

हामीले बुझिसकेका छौँ
चकमन्नता शान्ति हुन सक्दैन
हामीले बनाएका मान्यता र धारणाहरू
न्यायपूर्ण छन् भन्दैमा
हामीले न्याय पाइहाल्छौँ
भन्न पनि सकिंदैन,

तैपनि अब आउने उषा हाम्रो हुनेछ
भन्ने कुरा थाहा पाउनु अघि नै
हामीले आफूलाई खपाइसकेका छौँ
यस प्रक्रियामा
हामी साक्षी भएका छौँ यस सत्यको कि
यो राष्ट्र भाँचकुँच त भएको छैन
तर यसको निर्माण अधूरो रहेको भने अवश्य पनि हो,

हामी त्यस्तो देश र समयका सन्तानहरू हौँ
जहाँ दासीको कोखबाट जन्मिएकी र परित्यक्त एक्ली आमाले सकसका साथ हुर्काएकी
साना काँटीकी एउटी दुब्ली–पातली काली केटीले
पनि देशको राष्ट्रपति बनेको सपना देख्न सक्दछे,

हामी आफ्नालागि एउटा सर्वाङ्ग पूर्ण संघ
बनाउँन चाहिरहेका छौँ भन्दैनौँ
हो हामी त्यस्तो एउटा संघको निर्माण गर्न भने
अवश्य चाहिरहेका छौँ
जसको एउटा उदात्त ध्येय हुनेछ,
हामी त्यस्तो देशको निर्माण गर्न चाहन्छौँ
जहाँ विविध संस्कृति, रङ्ग, प्रकृति, चरित्र
र मानवीय स्थितिहरूलाई
समान रूपले र सम्मानका सम्बोधन गरिनेछ,

त्यसैले हामी हाम्रो दृष्टि हामीहरूका बीच
भएका कुराहरूमाथि होइन
हाम्रा अगाडि भएका कुराहरूमाथि पार्न चाहन्छौँ
हामी हाम्रो साझा भविष्यलाई सुरक्षित पार्न
हाम्रा बीच कोरिएको विभाजनको रेखा
र मतभिन्नतालाई
सधैँका लागि मेटिदिन चाहन्छौँ
हतियार बिसाएर हामी
एक अर्कालाई अँगालोमा बाँध्न चाहन्छौँ,

हामीलाई थाहा छ लोकतन्त्र
केही समय अलमलिन सक्छ,
केही ढिलो पनि हुनसक्छ यो
तर यो कहिल्यै पनि पराजित हुँदैन
यो चरम् सत्य र यो महान् आस्थामा
हाम्रो विश्वास टिकेको छ,

यदि हामीले करुणालाई तागतसँग
र तागतलाई न्यायसँग
एकाकार गराउँन सक्यौँ भने
हामीले प्रेमलाई हाम्रो विरासत बनाउँन सक्नेछौँ
र हाम्रा सन्तानहरूको जन्मसिद्ध अधिकारको
पनि नयाँ परिभाषा रच्नेछौँ,
आउनु होस् हामी हाम्रा सन्तानहरूका लागि
हाम्रा पुर्खाले छोडेर गएको भन्दा
कता हो कता राम्रो देश छोडेर
जाने संकल्प गरौँ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।