भागरथी हत्या प्रकरण : घटनास्थलमा जे देखियो (भिडियोसहित)

–मदन ढुङ्गाना
काठमाडौं । माघ २१ गते बुधबार कालो ज्याकेट लगाएर सधैं जस्तै हाँस्दै आमासँग विदा मागेर स्कूल हिडेकी थिइन् बैतडीको दोगडाकेदार गाउँपालिका ७ कि १७ वर्षीय किशोरी भागरथी भट्ट । बिहान ९ बजे घरबाट निस्किएकी उनी दिउँसो पौने २ बजे विद्यालय सकेर घरतर्फ आफ्नो पाइला अघि बढाउँदै थिएन् । तर, उनका पाइलाले त्यसपछि घरको आगनी टेक्नै पाएन । व्यवस्थापन शंकायमा सनातन धर्म मावि खाचलेकमा कक्षा १२ मा पढ्दै गरेकी उनी विद्यालय सकेर घरतर्फ अगाडि बढिन् । पौने २ बजे विदालय सकेपछि घर नजिकै घरसमेत भएका र नातामा भाइ पर्ने भानदेव भट्टसँग विद्यालयबाट घरतर्फ लागिन् ।
विद्यालयबाट ५ मिनेटको पैदल दूरीमा खोचलेक बजार पर्छ । भानदेव सोही बजारमा कपाल काट्ने भन्दै रोकिए । भागरथीले त्यही छेउको एउटा पसलबाट चाउचाउ किनिन् । अनि घर जाने उकालो बाटोतर्फ एक्लै अगाडि बढिन् ।
बजारबाट घर पुग्न जंगलको बाटो हुँदै करिब १ घण्टाको बाटो छिचोल्नु पर्छ । प्रत्येक दिन करिब पौने ३ बजे घर पुग्ने भाथगरथी उक्त दिन घर पुग्न पाइनन् ।
माघ २१ गते साँझ ४ बजेसम्म भागरथी घर नआएपछि उनकी आमा अत्तालिन थालिन् । किनकी उनी ढिलोमा पनि दिउँसो ३ बजेभित्र घर आइसक्थिन । कहिले काहीँ ढिलै हुने भए घरमा आमालाई फोन गर्थिन् । गएको पुस ९ गते बुवाको मृत्यु भएको र एकमात्रै दाजु रोजगारीका लागि भारत गएकाले घरमा आमा र भागरथी मात्रै बस्ने गरेका थिए ।
तर, त्यो दिन न भागरथी घर पुगिन् न त उनको फोन नै आयो । त्यसपछि आमासँगै उनका काका पनि अत्तालिए । प्रहरीमा भागरथी घर नपुगेको खबर गरियो । सिमानाकामा पनि खोजिदिन खबर पठाए । गाउँका कतिपय किशोरी सानै उमेर विवाह गरेर जाने गरेका कारण कतिपयले भागरथी विवाह गरेर पो गइन् कि भन्ने पनि सोचे । उनी फर्किहाल्छिन् भन्ने आशा आफन्तको थियो । तर, त्यो आशाको त्यान्द्रो त्यतिखेर चुडियो जब उनको शव माघ २२ गते साँझ ५ बजे जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र भेटियो ।
भागरथी हराएको भोलिपल्ट अर्थात् माघ २२ गते उनकै सहपाठीहरुले घर फर्कने क्रममा भागरथीको शव देखेपछि अभिभावकलाई खबर गरेका थिए । आफूहरु विद्यालयबाट घर फर्कने क्रममा भागरथीको शव देखेपछि अत्तालिँदै घर पुगेर अभिभावकलाई खबर गरिएको भागरथीका सहपाठी भानदेव भट्टले बताए ।
त्यसपछि प्रहरीले माघ २२ गते रातभर शव कुरेर अपराध अनुसन्धान टोली आएपछि मात्रै भागरथीको शव उठाइएको थियो । घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), सोको, चिकित्सक, आदि सबै टोली पुगेपछि मात्रै घटनास्थलबाट सम्पूर्ण सबुत तथा प्रमाणहरु संकलन गरी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल बैतडी पठाइएको थियो ।
जुन स्थानमा भागरथीको शव भेटिएको छ, सो स्थान भागरथी पढ्ने स्थानीय सनातम धर्म मावि, खोचलेकबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको छ । बजारबाट केही उकालो बाटो हुँदै भर्खर खनिएको कच्ची सडक हुँदै घटनास्थल पुग्न सकिन्छ । पातलो तर अग्ला सल्लाका रुखमुनी बनमाराका ससाना बुट्यानहरु घटनास्थलको वरिपरी थियो । मुख्य सडकबाट करिब ७० मिटरको दुरीमा भागरथीको शव शरीरमा लगाएको एउटा सर्टमात्रै रहेर अन्य सबै कपडाहरु खोलिएको अवस्थामा फेला परेको थियो । उनको भित्री बस्त्रमा रगत समेत लतपतिएको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो ।
भागरथीको शव यति विभत्स ढंगले हत्या गरेको अवस्थामा भेटिएको खबर सुनेपछि उनकी आमा पटकपटक मुर्छित् भइन् ।
आमाको साथमा रहेकी एकमात्रै छोरीको बलात्कारपछि हत्या भएको खबर पाएपछि उनी अहिले पनि सम्हालिन सकेकी छैनन् । घटनाको एक सातापछि जनता टेलिभिजनको टोली उनको घरसम्म पुग्दा उनको आँखामा आँसु ओभाएको थिएन । एक साताभन्दा बढी समय बितिसक्दा पनि उनले अझै अन्न खाएकी छैनन् । बरु उनी अर्धबेहोस् अवस्थामै खाना पकाउँछिन् र खाना खानका लागि छोरी अर्थात् भागरथीलाई बोलाउँछिन् । तर न भागरथीले आमाको आवाज सुन्नेछिन् न आफूले पस्किएर दिएको खाना खान भागरथी नै आउनेछिन् । उनकी आमा अझै पनि त्यो क्रुर अपराधी सार्वजनिक हुने दिन कुरेर बसेकी छिन् ।