निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता : प्रधानमन्त्री

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताउनुभएको छ । उहाँले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको आज बुटवलमा शिलान्यास गर्नुहुँदै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिएको उल्लेख गर्नुभयो । उहाँले आयोजनाका निर्माणकर्ताहरुले आयोजनाको काम एक वर्षभित्र सक्ने प्रतिबद्धता जनाएकामा प्रशंसा गर्दै यसका लागि जे जस्तो सहयोग चाहिन्छ सरकारले पूरा गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले निजी क्षेत्रको आर्थिक लगानीमा सरकारले जग्गा उपलब्ध गराउने, बाटो निर्माण र ट्र्याक खोलेर निजी क्षेत्रसँग विकासमा सहकार्य गरिरहेको समेत बताउनुभयो । “कर तिर्नुस् नाफा कमाउनुस्”, उहाँले भन्नुभयो, “विकास सबैका लागि हुनुपर्छ र सबैका लागि विकास भएमा जनतामा पनि खुशी छाउँछ ।” प्रधानमन्त्रीले कोभिड–१९ ले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस्ता आयोजनाहरुले मुलुकको पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बुटवलको जनसङ्ख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकमाँझ यो केवलकार लोकप्रिय बन्नेछ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले बुटवलमा मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको हुँदा मानव सभ्यताको उद्गमस्थल यस ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्नेछ भन्नूभयो । उहाँले बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।